१५ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई राहत दिन यस्तो छ ओलीको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले भूकम्प प्रभावित जिल्लामा वर्षात्अघि नै अस्थायी घर, टहरा बनाउन र व्यवस्थितरुपमा स्वयंसेवक परिचालनको योजनाका साथ काममा जुट्न आह्वान गर्नुभएको छ ।

एमालेकोे भूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको बैठकलाई आज निर्देशन दिंदै उहाँले युवा, विद्यार्थी र अन्य विभिन्न क्षेत्रबाट स्वयंसेवक प्रभावित क्षेत्रमा पुगेर सन्देशमूलक ढंगले काम गरिरहेको, तर योजनाबद्ध र व्यवस्थितरुपमा पार्टीले यस कामलाई अघि बढाउन जरुरी रहेको बताउनुभएको हो ।

समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय परिसरको त्रिपालमुनि भएको समितिको बैठकमा अध्यक्ष ओलीले पार्टीका तर्फबाट राहत उद्धार कार्यमा भइरहेका प्रयास, निर्णय र परिचालनबारे जानकारी लिनुभएको थियो ।

उहाँले करिव सात लाख घर भत्केका तथा सात हजारभन्दा बढी विद्यालय भवन र उल्लेख्य रुपमा सरकारी कार्यालय क्षतिग्रस्त भएकाले करिव २० लाख बण्डल जस्तापाता अस्थायी निर्माणका लागि आवश्यक भएको हुँदा त्यसको प्रबन्ध गरेर सबै प्रभावित जनसमुदायलाई खाना, छाना र अत्यावश्यक अन्य प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समितिले वैशाख १२ गते यता गरेका विभिन्न नीतिगत निर्णय, पत्राचार, सुझाव र समग्र पहलकदमीका बारेमा जानकारी गराउँदै संयोजक पोखरेलले पार्टीले स्वयंसेवक परिचालनको व्यवस्थित नीति बनाई अविलम्ब निश्चित अवधि तोकेर प्रभावित क्षेत्रमा पठाउने तथा सरकारका तर्फबाट स्वयंसेवकलाई आधिकारिक परिचय–पत्र उपलब्ध गराएर खटाउनेलगायतका सुझावका आधारमा छिट्टै यस काममा अघि बढ्ने बताउनुभएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । रासस