२९ आश्विन २०८३, बिहिबार

उत्तर कोरियालीले आफ्नै सेनाका प्रमुखलाई मृत्युदण्ड दियो : गुप्तचर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong-unसोल, ३० वैशाख । उत्तर कोरियाली प्रतिरक्षा प्रमुखले आफ्ना युवक शासक किम जोङ उनप्रति गुनासो गरेको, उहाँलाई तत्कालै जवाफ दिने गरेको तथा उहाँको अध्यक्षतामा बसेको बैठकमा सुतेको आरोपमा विमानभेदक बन्दुक प्रयोग गरी मृत्युदण्ड दिन नेता किमले आदेश दिएको जानकारी दक्षिण कोरियाली गुप्तचर संस्थाले सांसदहरूलाई दिएको र यसका लागि आफूसँग विश्वसनीय सूचना भएको दाबी गरेको समाचार प्राप्त भएको छ ।

दक्षिण कोरियाली विश्लेषकहरू यस रक्तपातपूर्ण कार्यले उत्तर कोरियाली नेता किम जोङ उनको शक्ति वा कमजोरी देखाउने भन्ने कुरामा विभाजित भएका छन् । सन् २०११ मा वर्तमान नेता किमका पिताको मृत्यु भएपछि उहाँले शासन नियन्त्रणमा लिनुभएको थियो । केही विश्लेषक यो घटना वास्तवमै भएको हो वा होइन भन्ने विषयमा निश्चित छैनन् । एक विशेषज्ञले यस घटनालाई नेता किमले उच्च पदस्थ पदाधिकारीलाई दिनुभएको मृत्युदण्डको रूपमा लिएका छन् र उहाँले यसमार्फत आतङ्कको राज्य स्थापना गरी आफ्नो नेतृत्व बलियो बनाउनु खोजेको बताएका छन् ।

राष्ट्रिय गुप्तचर सेवाका अधिकारीहरूले संसदीय समितिको बन्द बैठकमा उक्त जानकारी दिएको उक्त बैठकमा उपस्थित सांसद सिन क्योङ–मिनले दिनुभयो । उहाँले उत्तर कोरियाली जनसशस्त्र बलमन्त्री ह्योन योङ चोललाई प्योङयाङको काङ कोन सैनिक विद्यालयमा रहेको बन्दुक अभ्यासस्थलमा अप्रिलको अन्त्यमा सयौँ दर्शकसामु मृत्युदण्ड दिइएको बैठकमा जानकारी दिइएको बताउनुभयो ।

उक्त कोरियाली नेता किमले दिएको निदेशन पालना गर्न मन्त्री ह्योन अनेकौँ पटक असफल भएको उक्त बैठकमा गुप्तचर सेवाले जानकारी दिएको संसदीय गुप्तचर समितिका अध्यक्ष किम ग्वाङ–लिमले बताउनुभयो । सांसद ली चोल वुको कार्यालयले पनि बैठकमा सोही प्रकारको जानकारी दिइएको भनी एक विज्ञप्ति प्रकाशन गरेको छ ।

दक्षिण कोरियाली गुप्तचर सेवाले सांसदहरूलाई ती जानकारी कसरी प्राप्त गरे भन्ने सम्बन्धमा उल्लेख नगरेको र विभिन्न स्रोतले उक्त जानकारी दिएको र आफूहरूले सो कुरा सत्य हो भनी विश्वास गरेको बताएको सिनले बताउनुभयो । एपीले यस विषयमा जानकारी प्राप्त गर्न खोज्दा उक्त संस्थाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियामा भएका घटनाको सूचना प्राप्त गरिरहेको कीर्तिमान छ । गोप्य तथा निरङ्कुश शासन भएको उत्तर कोरियाबाट यस्ता सूचनामा पुष्टि प्राप्त गर्नु असम्भव मानिन्छ ।

दक्षिण कोरियाली निजी अनुसन्धान संस्था सेजोङका विश्लेषक सेओङ–चाङले मन्त्री हेओङ सरकारी टीभीमा अझै देखिइरहने भएकाले उहाँलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको आधिकारिकतामै प्रश्न गर्नुभयो ।

उत्तर कोरियाले मृत्युदण्ड दिइएको अधिकारीको चित्र टीभीमा देखाउने गर्दैन तर ह्योङलाई टीभीमा अनेकौँ पटक देखाइएको छ । सोलको एकीकरण मन्त्रालयले अप्रिल ३० देखि मे ११ सम्म भएको हतियार प्रयोगका समाचारमा मन्त्री ह्योनलाई देखाएको जानकारी दिएको छ । उत्तर कोरियाली आमसञ्चारले अप्रिल २९ देखि मन्त्री ह्योनका विषयमा समाचारमा उल्लेख गरेको छैन ।

ह्योन गत वर्ष जुनदेखि उत्तर कोरियाका सशस्त्र बल मन्त्रीको रूपमा हुनुहुन्थ्यो र दक्षिण कोरियामा त्यसको समकक्षी प्रतिरक्षा मन्त्री हुने गर्छन् । उहाँ सन् २०१२ को जुलाइमा उत्तर कोरियाको जनसेनाका भाइस मार्सल बन्नुभएको थियो । सोही वर्षको अन्त्यमा उहाँलाई चार–तारे जनरलमा घटुवा गरिएको थियो । उक्त जानकारी दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दिएको हो ।

दक्षिण कोरियाली संसदको गुप्तचर समितिका प्रमुख किमले ह्युन उत्तर कोरियाली सेनामा ह्वाङ प्योङ सोपछि दोस्रो उच्च पदस्थ अधिकारी हुनुभएको जानकारी दिनुभएको छ । ह्वाङ प्योङ सो कोरियाली जन सेनाका उच्च राजनीतिक अधिकारी भएको बताइएको छ ।

उत्तर कोरियाली नेताले शासनमा आफ्नो नियन्त्रण बलियो गराउने उद्देश्यले उच्च पदस्थ नेताहरूलाई मृत्युदण्ड दिनुभएको बताइएको छ । उहाँले सन् २०१३ मा आफ्नै काका तथा उपप्रमुख जाङ सोङ थाएकलाई देशद्रोहको आरोपमा मृत्युदण्ड दिनुभएको थियो । गत महिना दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियामा १५ अधिकारीले नेता किमको अधिकारप्रति चुनौती दिएकाले उनीहरूलाई मृत्युदण्ड दिइएको जानकारी दिएको थियो । रासस/एपी