प्राकृतिक विपत्ति कहालीलाग्दो हुन्छ । बाढी, पहिरो, आगलागी, भूकम्पलगायतका विपत्तिहरुमा परेका मानिसहरुको जीवन अत्यन्त कष्टकर हुन्छ । मानिसको केही पनि नबच्ने गरी यी बिपत्तिहरुले नोक्सान पुर्याउँदछन् । बाढी, पहिरो, आगलागीजस्ता घटनाहरु वर्षैपिच्छे हुने गर्दछ । यसबाट पछिल्ला दिनहरुमा त्यति ठूलो परिमाणमा धनजनको क्षति भएको पाइएको छैन । किनकी मानिसले यसमा बढ्ता साबधानी अपनाएको छ । तर भूकम्पको क्षति यतिसम्म कहालीलाग्दो र हृदयबिदारक हुँदोरहेछ कि जसको प्रत्यक्ष अनुभव अहिलेको पुस्ताले गरिरहेको छ ।
नम्रताको जीवनमा आधारित रहेर उपन्यास लेख्न लाग्दा नम्रताको सामाजिक मन र जीवनको बारेमा यसमा समावेश नगर्ने हो भने मैले लेख्न लागेको उपन्यास ‘नून बिनाको तरकारी’ जस्तै बन्नेछ । नम्रताप्रति पनि अन्यया गरेको ठहरनेछ ।
नेपालमा १९९० सालमा आएको भूकम्पले धेरै धनजनको क्षति गरेको थियो । तर, त्यतिबेलाको क्षतिलाई प्रत्यक्षरुपमा हेर्ने आँखा र भोग्ने मनहरुको संख्या अहिले धेरै छैन । एकादेशको कथा जस्तो त्यतिबेलाको भूकम्पको विनाशलाई हामीले सुन्दै आएका छौं । तर, अहिलेको पुस्ताले प्रत्यक्षरुपमा भोग्ने गरी २०७२ वैशाख १२ गते विहान ११:५६ बजे आएको शक्तिशाली महाभूकम्पले यति ठूलो विनाश र क्षति गरेको छ कि जसको लेखाजोखा गरेर साध्य छैन् । यसमा २०७२ वैशाख २९ गते दिउँसो पुनः त्यतिकै मात्रामा ठूलो भूकम्प आएर खल्बलिएको मानव समाजलाई पूर्णरुपले छियाछिया बनाइदिएको छ । नेपालमा गएको महाभूकम्पपछि हामी सबैलाई सहानुभूति दिने गरी विभिन्न देशले प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गरिरहेका छन् । उद्धार कार्यमा सहभागी भएका छन् । तर, जतिसुकै सहयोगी हातहरु बिदेशभूमिबाट उठेपनि अहिलेको क्षतिलाई पूर्णरुपले निराकरण गर्नका लागि भने सम्भव छैन । यसका लागि हामी नेपालीहरुले नै मन खोलेर यतिबेला राहत, उद्धार र पुर्नस्थापनामा भूमिका खेल्नुपर्छ । हाम्रो सरकार ढिला छ । म सरकारलाई दोष दिने पक्षमा पनि छैन । किनकी सुरुदेखि नै यस्तै हो । विपन्न मुलुकको सरकारले चाहेर पनि के गर्न सक्छ यस्तो अवस्थामा ? सरकारले मात्र पनि यो सबै काम गर्न सक्ने अवस्था छैन । देखाउन र प्रचारप्रसारका लागि मात्र सहयोग गर्ने भन्दा पीडामा लिप्त मनहरुलाई शितलता प्रदान गर्नका लागि खुलेर सहयोगी हातहरु उठ्नुपर्छ । विपत्तिको भुमरीमा सिंगो मुलुक रुमलिएको समयमा मानव भएर मानवको उद्धारमा नलाग्ने हो भने यो भन्दा लज्जाको विषय अर्को हुन्छ होला जस्तो मलाई लाग्दैन । त्यसैले म यतिबेला भूकम्प पीडितहरुलाई थोरै भएपनि राहतको अनुभूति दिलाउन सक्छु कि भन्ने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रहरुमा राहतको प्याकेज लिएर हिंडेकी छु । व्यक्तिगतरुपमा भन्ने हो भने यतिबेला मैले आफ्ना सबै कामहरु थाँती राखेको छु । यो विषयमा समाजमा देखाउनका लागि व्यक्तिगत प्रचारप्रसार मलाई चाहिएको छैन । हाम्रो टिम ठूलो छ । यदि प्रचारप्रसार आवश्यक हुन्थ्यो भने हामीले सञ्चारकर्मी मित्रहरुलाई पनि साथमा नै लग्ने थियौं । तथापी जुन ठाउँमा हामी पुग्छौं, त्यहाँ कुनै सञ्चारकर्मीहरु भेटिँदा यस विषयमा सोधपुछ गर्नुहुन्छ भाग्ने ठाउँ पनि छैन । हाम्रो टीमले सकेजति भूकम्प पीडितहरुलाई राहत महसुस गराउन खोज्नेछ ।
करिब आधा घण्टाको फोन वार्तालापमा नम्रताले मुलुकले महाभूकम्पका कारण व्यहोरिरहेको कहालिलाग्दो पीडाको व्याख्या मात्र गरिनन्, उनले त्यसमा आफ्नो जवरजस्त सहभागिता जनाउने अठोट समेत व्यक्त गरिन् ।
हुन पनि हो । अहिले सञ्चारको युग छ । भूकम्प पीडितहरुका लागि राहत सहयोग गर्नेहरुको ताँती छ । जुन कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा कसले के गरिरहेको छ भन्ने कुराको जानकारी सबैलाई भइरहेको छ । कतिपले आफू देखिने गरेर तस्वीरहरु सार्बजनिक गरिरहेका छन् । तर भूकम्पपीडितहरुको राहत सहयोगमा खटिएको नम्रताको टीमले भने आफ्ना व्यक्तिगत सञ्जालहरुमा आफू देखिने गरी अहिलेसम्म एउटा पनि तस्विर राखेको मैले पाएको छैन । केही सञ्चार माध्यममा स्थानीय सञ्चारकर्मीहरुले समाचार बनाएको भन्दा अरु कुनै त्यस्तो तस्विर मेरो खोजाइका क्रममा पाएको छैन । नम्रताको फेसबुक पेज दिनमा दर्जनौं पटक हेर्छु । उनको पेजमा केवल भूकम्प पीडितहरुको आर्तनाद समावेश हुन्छ । नम्रताले भूकम्प पीडितहरुलाई सहानुभूति दिने र राहत, पुर्नस्थापना र सहयोगमा सबैलाई लाग्ने प्रेरित गर्ने किसिमले आफ्ना लेखाइहरु सार्बजनिक गरिरहेकी छन् ।
नम्रताको कुरा सुनेर म पनि प्रभावित भएँ । दाङमा बसेर हामीले पनि भूकम्प पीडितहरुका लागि राहत सहयोग उठाएका थियौं । तर, प्रत्यक्षरुपमा पीडितहरुको घर आँगनमा पुगेर हामीले सहयोगी हातहरु फिजाएका थिएनौं । उनीहरुको दर्दनाक पीडासंग हाम्रो पैठेजोरी भएको थिएन । नम्रताको संघर्षशील जीवनमा आधारित रहेर उपन्यास लेखिरहेका कारण महाभूकम्पको समयमा उनी कहाँ छिन् ? के गरिरहेकी छिन्, कसरी अहिलेको जटिल अवस्थामा आफूलाई अगाडि बढाइरहेकी छन् भन्ने चिन्ता र चासोका कारण मैले उनलाई फोन हानेको थिएँ । उनको पछिल्लो कार्यले मेरो मनमा उनले अझ ठूलो ठाउँ बनाइन् । किनकी उनको संघर्षको बारेमा मात्र मैले थोरै धेरै अध्ययन गरेको थिएँ । नम्रताको सामाजिक अभियान, सामाजिक मनको बारेमा मेरो अध्ययन थिएन । नम्रताले मलाई यति भनेपछि उनीसँग सम्बन्धित सबै सामाजिक सञ्जाल र अन्य उनको बारेमा जानकारी प्राप्त हुन सक्ने जति सञ्चारमाध्यम, पुस्तकहरुमा केही दिन गहिरो अध्ययन गरेँ ।
नम्रताको जीवनमा आधारित रहेर उपन्यास लेख्न लाग्दा नम्रताको सामाजिक मन र जीवनको बारेमा यसमा समावेश नगर्ने हो भने मैले लेख्न लागेको उपन्यास ‘नून बिनाको तरकारी’ जस्तै बन्नेछ । नम्रताप्रति पनि अन्यया गरेको ठहरनेछ । नम्रताले आफ्नो मनको सन्तुष्टिका लागि राहत सहयोग लिएर हिंडिरहेकी छन् । सञ्चारमाध्यममा उनी आफ्नो तर्फबाट आउन नचाहे पनि समाजमा रहेका अन्य व्यक्तिहरुलाई सामाजिक अभियन्ता बनाउनका लागि भएपनि मैले भने यो विषय सार्बजनिक गर्ने सोच बनाएँ ।
हामीले धादिङमा एसएसपी रमेश खरेललाई प्रत्यक्ष भेट्ने अबसर पायौं । उहाँ सिर्जनशील सोच भएको व्यक्ति हुनु हुँदे रहेछ । हामीलाई उर्जा थप्न एसएसपी खरेलको मिजासिलो बानीले यति ठूलो काम गर्यो कि जसको लेखाजोखा गरेर साध्य छैन ।
नम्रताकै कारण दाङबाट पीडाग्रस्त क्षेत्रमा राहत प्याकेज लगेर जाने समेत योजना बनाएँ । समाजलाई सामाजिकीकरण गर्ने हामीले हो । मान्छेको मनमा समाज सेवाको भावना जगाउने पनि हामीले नै हो । २०७१ सालमा दाङमा आगलागी, बाढी पहिरोले ठूलो धनजनको क्षति भएको थियो । त्यतिबेला दाङ दुखेको थियो । काठमाडौं लगायतका अन्य शहरहरुमा बस्ने मानिसहरुलाई त्यतिबेला केही भएको थिएन । तर सामाजिक मन भएकाहरुले दाङको रोदनलाई शान्त बनाउन राहत सहयोग बोकेर यहाँ आएका थिए । अहिले महाभूकम्पबाट दाङमा क्षति नै भएको छैन भन्दा हुन्छ । तर यतिबेला काठमाडौंलगायतका त्यस आसपासका जिल्लाहरुमा व्यापक क्षति भएको छ । यस्तो अवस्थामा हामीले उनीहरुको पीडामा समवेदना जाहेर गर्न सकेनौं भने भोली दाङ रुँदा अर्को जिल्लाले ताली बजाउनेछ । यही कुरालाई मनन गरी घोराहीका युवा व्यवसायी रुपक थापा, राज राना, ऋषि खरेल, पारस बस्नेत, दामोदर भण्डारी, नरेश बिक र म धादिङमा भूकम्प पीडितहरुलाई राहत सामग्री बितरण गर्न पुगेका थियौं । त्यहाँका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दा र पीडितहरुको बेदना सम्झँदा अहिले पनि शरिर सिरिंग गर्दछ । हामीले धादिङमा एसएसपी रमेश खरेललाई प्रत्यक्ष भेट्ने अबसर पायौं । उहाँ सिर्जनशील सोच भएको व्यक्ति हुनु हुँदे रहेछ । हामीलाई उर्जा थप्न एसएसपी खरेलको मिजासिलो बानीले यति ठूलो काम गर्यो कि जसको लेखाजोखा गरेर साध्य छैन । धादिङमा रहनुभएका डिएसपी प्रकाश मल्लले पनि हामीलाई धेरै सहयोग गर्नुभयो । जसले गर्दा हामी धादिङको विकट दलित बस्ती बेसारे, नेपालटार, गैरीगाउँ, रानाडाँडालगायतका स्थानमा पुगेर प्रत्यक्षरुपमा पीडितहरुको हातमा राहत सामग्री दिन पायौं । पीडितहरु हामीले लगेर गएको राहत सामग्रीहरु पाएर यतिधेरै खुशी हुनुभएको थियो कि भनेर साध्य छैन । त्यसपछि पनि हामीले दाङबाट राहतहरु उठाउने, पठाउने काम गरिरहेका छौं । यसमा कुनै न कुनै रुपमा नम्रताको सामाजिक अभियानले काम गरेको छ ।

नायिका नम्रता श्रेष्ठ बाल्यकालदेखि नै सरल स्वभावकी थिइन । हेर्दा हिस्सी परेकी, राम्री त्यसमा पनि उनको नम्र बोली, मिजासिलो व्यबहारका कारण उनलाई सबैले मन पराउँथे । नम्रताले आफ्नो जीवनकालमा रंगमञ्चमा अभिनय, मोड्लिङ र चलचित्रमा अभिनय गर्ने काम मात्र गरेकी छैनन् । सामाजिक अभियानमा उनी सशक्तरुपमा देखा परेकी छन् । मुलुकलाई अप्ठेरो पर्दा होस् या समाजका लागि योगदान पु¥याएका व्यक्तिहरु संकटमा पर्दा नै किन नहोस्, नम्रताले आफ्नोतर्फबाट यसमा सहानुभूति राख्ने, सहभागिता जनाउने काम गरेकी छन् । नम्रताले अनुराधा कोइरालालाई सन २०१० मा सिएनएन हिरो बनाउनका लागि सामाजिक सञ्जालमार्फत सशक्तरुपमा अभियान चलाएकी थिइन् । जसको परिणाम अनुरोधा कोइराला सिएनएन हिरो बन्न सफल भएकी थिइन् । यसमा नम्रता श्रेष्ठले सामाजिक सञ्जालमा चलाएको अभियानले पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।
यसैगरी नम्रताले सन २०१२ मा पुष्पा बस्नेतलाई सिएनएन हिरो–२०१२ बनाउनका लागि सामाजिक सञ्जालबाट अभियान चलाएकी थिइन । उनको अभियान यतिबेला पनि सार्थक भएको थियो । नम्रताले खेल क्षेत्रप्रति पनि रुची राखेको पाइन्छ । विश्कप फुटबलको ट्रफी नेपाल आउँदा नम्रता यस सम्बन्धि भएका कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी भएकी थिइन । नम्रताले सामाजिक सञ्जालमार्फत कला, साहित्य, गीतसंगीत र सिने क्षेत्रमा लागेर जीवन अर्पण गरेका धेरै व्यक्तित्वहरु सिकिस्त बिरामी हुँदा औषधी उपचारका लागि सामाजिक सञ्जालहरुमार्फत सहयोग रकम संकलन गर्ने अभियान पनि चलाएकी थिइन् ।
मान्छे सामाजिक प्राणी हुनुपर्छ भन्ने कुरालाई नम्रताले आत्मसात गरेकी थिइन् । जसले गर्दा उनले आफ्नो जन्मदिन लगायत विशेष दिनहरु अनाथ बालबालिका, बृद्धाश्रमलगायतका स्थानमा पुगेर मनाउँदै आएकी छन् । नम्रताले आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण कार्य २०७२ वैशाख १२ गते ११ः५६ बजे आएको महाभूकम्प र त्यसपछि वैशाख २९ गते दिउँसो आएको भूकम्पपश्चात् मुलुकले व्यहोरेको कहालि लाग्दो अवस्थालाई आफ्नो तर्फबाट थोरै भएपनि कम गर्ने प्रयासमा जुटेर गरेकी छन् । महाभूकम्पको बिनाशका कारण काठमाडौंलगायत सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायतका दर्जन बढी जिल्लामा हजारौं हजार मानिसहरुको मृत्यु भएको छ, हजारौं हजार घाइते भएका छन् । मानिसका हजारौं घरहरु भत्किएका छन् । पुरातात्विक महत्व राखेका संरचनाहरु ध्वस्त भएका छन् । अहिले पनि प्रभावित क्षेत्रमा बस्ने मानिसहरु त्राहीत्राही भएर जीवनयापन गरिरहेका छन् । अभाव, बेथिति, सन्त्रासमा बस्न नसकेर हजारौंलाखौंले ती जिल्लाहरु छाडेका छन् । अहिले पनि भूकम्पको झट्काहरु आइरहेको छ । तर मन ठूलो बनाएर पीडामा छटपटाएकाहरुलाई सान्त्वना दिन, रित्ता थालहरुका लागि खाद्यान्नका पोकाहरु बोकेर, खुल्ला आकाशमा जीवन बिताइरहेकाहरुका लागि त्रिपाल भएपनि लगिदिएर नम्रताले आफूलाई भूकम्प पीडितहरुको माझ पु¥याएकी छन् । उनले यतिबेला खेलिरहेको भूमिका बास्तबमै महान छ । सन्देशमुलक छ । सामाजिक मन नभएकाहरु आफू र आफ्नो परिवारलाई कसरी बचाउन सकिन्छ, भौतिक सम्पत्तिको रक्षा कसरी होला भन्ने ध्याउन्नमा छन् । यसका लागि उनीहरु छिमेकीलाई लागेको ठूलो घाउलाई समेत देख्न चाहँदैनन् । तर सबै कुरालाई छाडेर सामाजिक अभियानमा जुटेकी नम्रतालाई गाउँगाउँमा स्वागत एवं सम्मान पनि गरिरहेका छन् ।
महाभूकम्प जाँदा नम्रताले पनि प्रत्यक्षरुपमा यसको अनुभुति गरेकी थिइन । उनको मुटु पनि महाभूकम्पको कम्पनले नहल्लाएको होइन । घर, भित्ता, सडक सबै लक्कु खेलेको उनले प्रत्यक्षरुपमा देखेकी थिइन । धेरै समयसम्म शरिरको कम्पन रोकिएको थिएन । महाभूकम्पले आफूलाई पनि लग्छ कि क्या हो भन्ने सोचेकी नम्रताले बडो मुश्किलले आफूलाई सम्हालेकी थिइन । जटिल अवस्थाबाट पार पाउनु शिबाय अर्को बिकल्प पनि थिएन । महाभूकम्पपश्चात् यसले गरेको विनाशको बारेमा बुझेपछि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, बिस्थापित भएकाहरुलाई राहत दिने, अफ्ठ्यारोमा परेकाहरुलाई सक्दो सहयोग गर्ने उद्देश्यले नम्रताले अन्य विभिन्न साथीहरुसंग समन्वय गरेर काठमाडौंका विभिन्न स्थानमा उद्धारका लागि अभियान नै चलाएकी छन् । रक्तदान, खाद्य, लत्ताकपडा, त्रिपाललगायतकका अत्यावश्यक बस्तुहरु सहयोग गर्ने कार्यहरु नम्रताले गरिरहेकी छन् । भूकम्पको महाविपत्तीको समयमा मानवीय उद्धार पहिलो कार्य हो । यस्तो अवस्थामा मानवीय उद्धार, प्रभावित क्षेत्रहरुमा जनचेतनामुलक विभिन्न कार्यहरु गर्दै रोगव्याधी, महामारीबाट बच्ने र बचाउनका लागि सचेतना फैलाउने काम पनि नम्रताले गरिरहेकी छन् । उनले यसपटक आफूले गरेका सबै कार्यहरु सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आफ्नो प्रचारका लागि भन्दा पनि मानव उद्धार र राहत सहयोग जुटाउन टेवा पुर्याउने किसिमले सम्प्रेषण गरिरहेकी थिइन । काठमाडौं उपत्यका, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा आफ्नो सामाजिक अभियान अहिले पनि जारी छ । एक हप्ता वा दुईचार वर्ष मात्र यस्तो अभियान चलाएर अहिलेको क्षतिबाट उम्कन सक्ने अवस्था छैन । यसका लागि दशक बढीसम्म पनि राहत, पुर्नस्थापना र पुर्नसंरचनाको काम जारी राख्नुपर्छ । यसको लागि नम्रता जस्तै सिंगो मुलुक यो अभियानमा जुटि रहन जरुरी छ ।
(अप्रकाशित उपन्यास नम्रताबाट)














प्रतिक्रिया