१५ कार्तिक २०८३, आइतबार

अमेरिकी हेलिकप्टर हराएपछिका रहस्यः यस्ता छन् प्रहरीका आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-sena-helicopter
तस्वीर : बासिङ्गटन पोष्ट

काठमाडौं, ३१ वैशाख । मंगलबारदेखि हराएको अमेरिकी सेनाको हेलिकप्टर अझै नभेटिँदा विभिन्न आशंका र अडकलबाजीहरु गरिएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरणको दोलखास्थित निर्माणाधीन सिंगटी सबस्टेसनमा भेटिएको खबर आए पनि त्यहाँ पुगेर हेर्दा हेलिकप्टर नभेटिएको प्रहरी प्रवक्ता कमलसिंह बमले दैनिक नेपाललाई जानकारी दिए । नेपालमा महाभूकम्प आएपछि भूकम्प पीडितको राहत तथा उद्दारका लागि आएको अमेरिकी बायु सेनाको उक्त जहाज मंगलबारको भूकम्पपछि दोलखा उडेको थियो । तर, दोलखा पुगेको केहीबेर पछि नै हेलिकप्टर सम्पर्कमा आएन । नेपाली सेना र अमेरिकी वायु सेनाका चार-चार वटा हेलिकोप्टरले हराएको हेलिकोप्टरको खोजी गरेपनि भेट्न नसकेको प्रहरीले जनाएको छ । हेलिकप्टरका साथै स्थलगत गस्ती र तामाकोशी नदीमा चालिस वटा ढुंगा परिचालन गरेर खोजी गरिएको छ ।

कहाँ गयो त हेलिकप्टर ?

हेलिकप्टर हराएपछि विभिन्न अड्कलबाजीहरु गरिएका छन् । प्रहरी अधिकारीका अनुसार, पहिरोले पुरिएको भए पनि अहिलेसम्म पत्ता लागिसक्थ्यो,पानीमा डुबेको भए पनि अहिलेसम्म थाहा हुन सक्थ्यो, तर हेलिकप्टर रहस्यमय ढंगले हराएपछि तीनखाले आशंका गरिएको छ ।

पहिलो, हेलिकप्टर कतै सुरक्षित अवतरण गरिएको आशंका गरिएको छ । तर, अहिलेसम्म पनि नभेटिएकाले त्यो सम्भावना टरेको स्रोतहरुको दाबी छ ।

दोस्रो, हेलिकप्टर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । सोहीकारण स्थलगत गस्ती र तामाकोशी नदीमा ढुंगाबाट खोजी गरिएको बताइएको छ ।

तेस्रो, हेलिकप्टर दुरुपयोग भएको अनुमान छ । भारतीय हेलिकप्टरले झैँ यो हेलिकप्टरले पनि चिनियाँ क्षेत्रको अनाधिकृत उडान गरेर सूचना संकलन गर्न प्रयोग गरिएको आशंका पनि गरिएको छ । यसअघि नेपालमा उद्दार तथा राहतका लागि आएको भारतीय हेलिकप्टर आफ्नो सीमासम्म अनाधिकृत रुपमा आएको भन्दै चीनले आपत्ति जनाएको थियो ।

गृहमन्त्री बामदेव गौतमको बुधबारको अभिव्यक्तिले समेत अमेरिकी हेलिकप्टरप्रति शंका गर्ने केही आशंकाहरु उब्जाइदिएको छ । संसदमा बोल्दै गृहमन्त्री गौतमले कसैले राहत सामाग्री गलत प्रयोग वा संकल्न गरी वा दूरुपयोग भएका पाइए कडा कारबाही गरिने बताएका थिए ।

‘चिनियाँ क्षेत्रमा गएको भएपनि चीनले अहिलेसम्म जानकारी गराइसक्थ्यो, तर त्यो पनि जानकारीमा छैन । जसले अन्यौल सिर्जना गर्ने काम भइरहेको छ ।’- प्रहरी स्रोतले भन्यो ।

महाभूकम्पमा उद्धार तथा राहत वितरणमा सघाउन अमेरिकी सेना आठ वटा हेलिकप्टर लिएर नेपाल आएको थियो । बैसाख २२ गते ४ वटा र बैसाख २० गते ४ वटा एमभी–२२ ओस्प्री हेलिकोप्टर लिएर अमेरिकी सेना आएको थियो ।

नेपाली सेनाको अनुमतिमा उडनु पर्ने भनिएपनि उक्त हेलिकप्टरको उडानका विषयमा नेपाली सेनाले समेत प्रष्ट जानकारी दिन सकेको छैन । यद्यपि उक्त हेलिकप्टरमा ६ अमेरिकी र २ नेपाली सैनिक रहेको बताइएको छ ।

नेपाली सेनाको युद्धभैरव गणबाट खटिएको सेनाको विशेष उद्दार टोली तथा अमेरिकी सेनाको विशेष विमानले हेलिकप्टरको खोजीकार्य गरिरहेको छ ।