काठमाडौँ, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सभामुख सुवाष नेम्वाङलाई भेट गर्नुभएको छ ।
अध्यक्ष थापाले नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा पुगी संसद् सचिवालयले भूकम्पका कारण सम्पूर्ण सभासद्लाई वितरण गर्न लागेको पाल अविलम्ब रोक्न माग गर्नुभयो ।
भूकम्पपीडित जनतालाई पाल नपुगिरहेको अहिलेको अवस्थामा सभासद्लाई पाल उपलब्ध गराइँदा उनीहरुको मर्यादा तथा गरिमा घट्ने भएको हुँदा सो प्रक्रिया रोक्न भूमिका खेल्न सभामुखलाई आग्रह गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
त्यसैगरी अध्यक्ष थापाले पार्टीका आफ्ना सभासद्लाई संसद् सचिवालयले आजदेखि सुरु गरेको पाल वितरण प्रक्रियामा सहभागी नहुन निर्देशन दिँदै कुनै सभासद्ले पाल लिएको भए तुरुन्त फिर्ता गरी जनताप्रति सेवाको दायित्व पूरा गर्न आग्रह गर्नुभएको बर्तौलाले बताउनुभयो ।
भेटपछि सभामुख नेम्वाङले सो विषय गम्भीर रहेको र आफूले सम्बन्धित निकायमा उक्त विषयलाई राख्ने प्रतिबद्धता जनाउनुभयो । रासस












प्रतिक्रिया