५ कार्तिक २०८३, बिहिबार

भूमिका नपाएको भन्दै काँग्रेस सांसदहरूको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रमा सरकारद्वारा गरिएका उद्धार तथा राहत कार्यमा आफूहरूले कुनै पनि भूमिका नपाएको भनी असन्तुष्टि पोखेका छन् ।

काँग्रेस संसदीय दलको आजको बैठकमा बोल्ने अधिकांश सांसद्हरूले भूकम्प प्रभावित आफ्नो जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जनप्रतिनिधिको भूमिकाका बारेमा स्पष्ट निर्देशन हुनुपर्ने माग गरेका छन् ।

सांसद्हरूले भूकम्पप्रभावित क्षेत्रमा उद्धार तथा सहयोग प्रभावकारी हुन नसकेको भन्दै सरकार तथा मन्त्रीहरूको आलोचना गर्नुका साथै दुर्गम क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा यथार्थ विवरण अहिलेसम्म पनि आउन नसकेको गुनासो रहेको काँग्रेस सचेतक ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

भूकम्प गएको १७ दिन बितिसक्दा पनि दुर्गम क्षेत्रमा सर्वसाधारण मरेबाँचेको लगतसमेत आउन नसकेको भन्दै सांसदहरूले मुलुकको एकमात्र जननिर्वाचित निकायका प्रतिनिधिलाई उद्धार र राहत कार्यमा भूमिका नदिएर पन्छाउन खोजेको आक्रोश पोखेका छन् ।

काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा भएको बैठकमा सांसद््हरूले प्रभावित जिल्लामा हुने पुनःवास र पुनःस्थापनाका कार्यमा जनप्रतिनिधिको भूमिका सुनिश्चित गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको सांसद् रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

सांसदहरूले उद्धार तथा राहत सामग्री वितरण कार्य प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएकाले एकातिर भूमिकाविहीन भएको र अर्काेतिर भूकम्पपीडित जनतालाई केही गर्न नसक्दा जनताको आक्रोसको दोहोरो मारमा पर्नुपरेको गुनासो गरेका छन् ।

बैठकमा सांसदहरूले प्रभावित सबै क्षेत्रमा तत्काल प्रभावकारीरुपमा राहत सामग्री पु¥याउन, अस्थायी बसोबासको व्यवस्था गर्न र वर्षायाम सुरु हुन लागेकाले बाढीपहिरोबाट हुने सम्भावित क्षतिका लागि तयारी रहनुपर्ने सुझाव दिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताउनुभयो । सांसदहरूको बोल्ने क्रम जारी भएकाले बैठक भोलि पनि बस्ने बताइएको छ । रासस