५ कार्तिक २०८३, बिहिबार

भूकम्पपछि गाउँमा लगातार पहिरो, जमिन पनि चिराचिरा परेपछि थामी समुदायको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

e"sDkn] yfdL ;d'bfosf] larNnL bf]nvfsf] vf]kfrfFu' uflj;?! ps'/fªdf nuftf/ klx/f] uPkl5 sfln~rf]s uflj;?$ l:yt j]u'Dkfdf 6x/f agfP/ a:b} u/]sf] yfdL ;d'bfosf jfl;Gbf . nuftf/ klx/f] hfg yfn]kl5 !# kl/jf/n] ufpF 5f8]sf 5g . tl:a/ M ljqmd lu/L÷/f;;

– विक्रम गिरी

कालिञ्चोक(दोलखा), २८ वैशाख । भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस–१ उकुराङमा लगातार पहिरो गइरहेको छ ।

पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन । उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । पहिरो आउने क्रम जारी रहेकाले अहिलेकै अवस्थामा उनीहरु गाउँ फर्किन सक्ने अवस्था छैन । गाईबस्तु समेत गाउँमै अलपत्र अवस्थामा छन् ।

“गोठ बनाएर भएपनि बस्ने सोच थियो, पहिरो नै रोकिन्न,” स्थानीय बासिन्दा ६३ वर्षीय भक्त बहादुर थामीले भन्नुभयो । पहिरोको डरले भूकम्प आएदेखि कोही पनि गाउँ जान नसकेको उहाँले बताउनुभयो । गाईबस्तुको अवस्थाबारे थामी समुदाय अझै बेखबर छ । भूकम्पबाट पुरिएका गाईबस्तु गोठमै छन् । जङ्गलमा चराउन लगिएकाको अवस्था थाहा हुन सकेको छैन ।

“गाउँ पस्न डर लागिरहेको छ, अहिले पनि भीरबाट ठूल्ठूला ढुङ्गा खसिरहेका छन्,” बेगम्पुपारीको आफ्नो गाउँ देखाउँदै मनमाया थामीले भन्नुभयो । अग्लो भीरको काखमा अवस्थित उकुराङ गाउँको ठाउँठाउँमा बस्नै नसकिने गरी पहिरो गएको छ । जमिन चिराचिरा परेको छ । “अब गाउँ फर्किन सक्ने अवस्था छैन, सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाई दिनुपर्छ,” उहाँले भन्नुभयो ।

सदरमुकाम चरिकोटदेखि करिब पाँच घण्टा ग्राभेल सडकको यात्रापछि कालिञ्चोक पुगिन्छ । ग्राभेल सडकबाट छुट्टिएपछि खोपाचाँगुको उकुराङ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ । दुर्गम गाउँको विपन्न थामी समुदाय भूकम्पपछि छिमेकी गाउँ बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । छिमेकी गाउँकाले पाक्नै लागेको गहँु काटेर उनीहरुलाई टहरा बनाउन जमिन उपलब्ध गराएका छन् । घरमा पुरिएको अन्न निकालेर ल्याउन नसक्दा भोकभोकै बस्नु परेको उनीहरु बताउँछन् ।

“यहाँ राहत दिन कोही आएका छैनन्, राहत लिन कहाँ जाने हो केही थाहा छैन,” टहरा बनाउँदै गरेका प्रेम थामीले दुःखेसो पोख्नुुभयो । पानी पर्न थालेपछि वृद्धवृद्धा र बालबालिका बिचल्लीमा परेको उहाँले बताउनुभयो । बालबालिका र वृद्धवृद्धामा झाडापखालाको समस्या देखा परेको छ । बेगुम्पा स्वास्थ्य चौकीको भवन समेत भूकम्पका कारण भत्किएपछि बिरामीको उपचार गर्न कठिनाइ भइरहेको स्वास्थ्य सहायक विष्णुप्रसाद ओलीले बताउनुभयो ।

“औषधि सबै नष्ट भयो, बस्ने खाने ठेगान नहुँदा हामी आफैं पनि बिरामी पर्न थालेका छौँ,” उहाँले भन्नुभयो । (तस्विर संलग्न छ) रासस