
– सुदीप अधिकारी
बर्दिया, २८ वैशाख । बर्दियाको ठाकुरद्धारा पर्यटकका लागि परिचित क्षेत्र हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो क्षेत्र निकुञ्जको प्रवेशद्धार पनि हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको निकै चहलपहल हुने यहाँ हिजोआज भने सुनसान छ ।
अघिल्लो साता काठमाडौँ लगायतका मुलुकका विभिन्न ठाउँमा आएको महाभूकम्पका कारण पर्यटकले भ्रमण रद्ध गरेपछि यो क्षेत्र सुनसान भएको हो । यो सिजन पर्यटकका लागि पिक आवर मानिन्छ । तर यो पिक आवरमै देशमा आएको महाभूकम्पले गर्दा नेपाल आउने पर्यटक त्रसित भएका छन् । नेपालमा आउने वातावरण नभएको भन्दै बसाइका लागि अग्रीम बुकिङ्ग गरेका पर्यटकले बसाइ रद्ध गर्ने गरेका पर्यटन व्यवसायीको भनाई छ ।
‘भूकम्पले यहाँको पर्यटन क्षेत्र निकै प्रभावित भएको छ । बुकिङ्ग गरेका कोही पनी विदेश पर्यटक आउन सकेका छैनन् । धमाधम बुकिग रद्ध गदैछन्,’ होटल हाइड वेका संचालक तथा पर्यटन व्यवसायी मोहन अर्यालले भने ।
उनका अनुसार शत प्रतिशत विदेशी पर्यटकले भ्रमण रद्ध गरेका छन् । यहाँ भूकम्पको कुनै असर नपरेपनि देशमा विभिन्न स्थानमा गएको विनासकारी भूकम्पका कारण पर्यटकहरु त्रसीत भएकाले भ्रमण रद्ध गर्ने गरेको पर्यटन व्यवसायीको भनाई छ ।
अधिकाशं पर्यटक काठमाडौँको हवाईमार्ग भएर आउने गरेको र काठमाडौँ नै भूकम्पबाट बढी प्रभावित भएकाले पर्यटक यहाँ आउन सकेका छैनन् । राजधानीमा गएको भूकम्पका कारण पर्यटक त्रसीत भएपनि यहाँ भने कुनै खतरा नरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया निकुञ्जमा पछिल्लो गणना अनुसार २९ वटा एकसिंगे गैंडा, ५० वटा पाटे बाघ छन् । यसैगरी निकुञ्जमा ४ सय ३८ पंछी प्रजाती, २५ भन्दा बढी घस्रने र १ सय २१ भन्दा बढी माछा प्रजाती छन् ।















प्रतिक्रिया