काठमाडौँ, २८ वैशाख । नेपालको भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई इन्डोनेसिया सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको छ ।
उक्त मुलुकले सहायताको आवश्यकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालका लागि इन्डोनेसियाका राजदूत आइवान विरान्ता एटमाडजाले राससका समाचारदाता विष्णु नेपालसँग कुरा गर्दै दक्षिण–दक्षिण सहयोगअन्तर्गत आफ्नो देशले विपद्को यो घडीमा नेपाललाई सहयोग गर्न चाहेको बताउनुभयो ।
प्रधानमन्त्री सुशील कोइरालालाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले राजदूत एटमाडजमार्फत एक सन्देश पठाई भूकम्पबाट नेपालमा पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै पुनःनिर्माणका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कोइराला र राष्ट्रपति विडोडोबीचमा इन्डोनेसियाको राजधानी जकार्तामा एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव समारोहका बेला द्विपक्षीय भेटघाट भएको थियो ।
राजदूत एटमाडजाले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, जनताका घर, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माणमा सहयोग गर्न सकिने बताउनुभयो ।
उहाँले प्रकोप पूर्वका जोखिम न्यूनीकरण, उद्धार, राहत एवम् पुनःनिर्माणमा इन्डोनेसियाको अनुभव नेपालका लागि महत्वपूर्ण हुन सक्ने र त्यसका लागि नेपालका सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालयजस्ता निकायको थप क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सकिने बताउनुभयो ।
प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा प्रसिद्धि कमाएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन समितिलाई पनि नेपालको विपद् व्यवस्थापनमा उपयोग गर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले प्रकोपपछि शीघ्र खोज तथा उद्धार, अस्थायी बसोवासको व्यवस्था, खानेपानी तथा खाद्यान्न वितरणका साथै पुनःनिर्माणमा इन्डोनेसियाली ज्ञान, सीप र अनुभव उपयोगी हुने बताउनुभयो ।
उहाँले भूकम्पपीडितका लागि खाद्यान्न, औषधि, त्रिपाललगायत सामग्री इन्डोनेसिया सरकारबाट प्राप्त भएको र ती वितरण भइरहेका जानकारी दिनुभयो । रासस















प्रतिक्रिया