काठमाडौँ, २८ वैशाख । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट १७ हजार ८६६ घाइते भएका छन् ।
सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । भूकम्पमा परेकाहरुको उद्धार तथा राहतको कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच यो समाचार तयार पार्दासम्म आज भूकम्पको कुनै पराकम्पन महसुस नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजोमात्र चार रिक्टर स्केलमाथिको चारवटा पराकम्पन महसुस भएको थियो । यही वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि हालसम्म चार रिक्टरमाथिका १६० वटा पराकम्पन महसुस भएका छन् । रासस












प्रतिक्रिया