काठमाडौं, २८ वैशाख । क्रिस्टियानो रोनाल्डोले पेनाल्टी खेर फालेको खेलमा शनिबार रियाल मड्रिड भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिँदा स्पेनिस ला लिगा अंकतालिकामा चार अंकको स्पष्ट अग्रता लिन सफल बार्सिलोना उपाधिको एक कदम नजिक पुगेको छ।दोस्रो हाफको ११ औं मिनेटमा हामेस रोडरिग्वेजको कर्नरमा पेपेले हेडबाट गोल गर्दै गोल अन्तर कम गरेका थिए भने खेल सकिन ६ मिनेट बाँकी छदाँ बेलको पासमा इस्कोले बराबरी गोल गरेका थिए।
चौथो स्थानको भ्यालेन्सियासँग बराबरी खेल्नुअघि रियाल च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा युभेन्टससँग २–१ ले पराजित भएको थियो।
‘अबको समय यो सिजनमा हाम्रो लागि निकै कठिन छ। तर हामी बाँकी खेल जित्दै गौरवमय क्षण ल्याउनेछौं,’ पेपेले भने, ‘बुधबारको खेलका लागि हामी उठ्नु जरुरी छ।’
नतिजा पछि भ्यालेन्सिया ३६ खेलबाट ७३ अंकका साथ चौंथो स्थानमा छ भने रियाल ८६ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै ९० अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ।
‘नतिजा राम्रो आएन। तर खेल नतिजाभन्दा पूर्णरुपमा विपरित थियो,’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘ हामीले अन्तिम समयसम्म प्रयास गर्यौंन र थुप्रै गोलको अवसर पनि बनायौं। तीन प्रहार बारमा लागेर फर्किए भने पेनाल्टीमा गोल हुन सकेन।’
रियाल सोसिडाडले क्याम्प नोउमा बार्सिलोनालाई पहिलो हाफ बराबरीमा रोकेको थियो। नेइमारले ५१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। लियोनेल मेसीको पासमा नेइमारले हेडबाट गोल गरे। त्यो जारी सिजनमा उनको ३५औं गोल थियो। त्यस्तै बैकल्पिक खेलाडी पेड्रो रोडरिग्वेजले खेल सकिन ४ मिनेट अगाडी गोल गर्दै जित पक्का गरेका थिए। पेड्रो ८२औं मिनेटमा राफिन्हाको ठाँउमा मैदान छिरेका थिए।
‘यो तीन अंक निकै महत्वपूर्ण हुनेछ,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘नतिजामा कहिल्यै दुविधा थिएन र मेरा खेलाडी दोस्रो हुनका लागि तयार थिएनन्।’
जनवरी ४ मा सोसिडाडसँग १–० ले पराजित भएयता बार्सिलोनाले ३० मध्ये २८ खेल जितेको छ। त्यसक्रममा बार्सिलोना तीन वटा उपाधीको नजिक पुगेको छ। कोपा डेल रेको फाइनल पुगेको टोलीले मध्यसातामा च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३–० को नतिजामा पराजित गरेको थियो। दोस्रो लेग मंगलबार हुनेछ।
अन्य खेलमा डेपोर्टिभो ला कोरुनाले सातौं स्थानको एथलेटिक बिल्बाउसँग १–१ को बरबरी खेलेपछि रेलिगेसन क्षेत्रबाट एक स्थान माथि उक्लिएको छ। त्यस्तै रेलिगेशन क्षेत्रमा रहेको ग्रानाडाले कोर्डोवालाई २–० ले हरायो। डेर्पोटिभो, ग्रानाडा र एइबारको ३६ खेलबाट समान ३१ अंक पुगेको छ भने कोर्डोबाको २० अंक रहेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया