काठमाडौँ, २४ बैशाख । गत साता गएको महाभूकम्पले नेकपा एमालेको सिंगो पंक्तिलाई शोकमा डुबाएको छ ।
भूकम्पबाट हजारौँ सर्वसाधारणको ज्यान त गयो नै, एमालेका विभिन्न कमिटीमा रहेका सक्रिय नेता तथा कार्यकर्ताको समेत ज्यान गएको छ । कतिले भने आफन्त गुमाएका छन् ।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालकी आमा तुलसी नेपालको भूकम्पमा परी वैशाख १२ गते ज्यान गयो । यसैगरी, भतिजा विदुर नेपालको वैशाख १३ गतेको भूकम्पमा परी ज्यान गयो ।
एमाले दोलखा जिल्ला कमिटी सदस्य पेम्बा नुरु शेर्पाको लामो बगरमा ज्यान गयो । दोलखा जिल्ला कमिटीकै सदस्य कालिका पाठक तथा होम पाठककी आमा नन्दमाया पाठक र अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रशान्त कार्कीको दोलखामा ज्यान गएको छ ।
एमाले रसुवा जिल्ला कमिटी सदस्य जीवनाथ तिमिल्सिनाको ठूलोगाउँ–७ मा ज्यान गयो । यसैगरी, रसुवा एमालेका जिल्ला सल्लाहकार कमिटी सदस्य तेञ्जिङ पासाङ तामाङ, गाउँ कमिटी अध्यक्ष च्याङ तामाङ र पूर्व अध्यक्ष छवाङ ठिले तामाङको रसुवाको लाङटाङमा भूकम्प पछि आएको पहिराले ज्यान लियो ।
एमाले गण्डकी सम्पर्क कमिटीका सदस्य लालबहादुर रानाको भूकम्पमा परी काठमाडौँको गोंगबुमा ज्यान गएको छ। यसैगरी, कोशी सम्पर्क कमिटीका सदस्य युवराज बस्नेतको दोलखामा भूकम्पपछि आएको पहिरोमा परी ज्यान गएको छ ।
कालिकोट सम्पर्क मञ्चका दर्शन शाही र उनका बुबा गणेश शाहीको धराहरा भाँचिएर ज्यान गएको नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया