– विश्वास खड्काथोकी
भूकम्पले मेगा बैंकका कार्यकारी प्रमुख (सिइओ) अनिल शाहको डेढ तले घर भत्कियो । दशकौँ पुरानो कालिमाटीको महल तहसनहस भएको छ । तर, भूकम्प गएका बेला उनी यो घरमा थिएनन् । जसका कारण एउटा खड्को टरझैँ भएको छ, उनलाई ।
मानिससँधै सम्पत्ति भनेर कुँदिरहेको हुन्छ, तर भूकम्पको बेला आफ्नो ज्यान र परिवार मात्र दिमागमा आउँदो रहेछ ।
कालिमाटीमा भत्किएको उनको पुख्र्यौली घर हो । जुन घरमा उनको मुमा, भतिजा, भतिजी बस्दै आएका थिए । पुख्र्यौली घर भत्किएपछि दुःखी हुँदै उनले दैनिक नेपालसँग भने, ‘घर भनेको ढुंगा माटोको मात्र होइन रहेछ । म, मेरो हजुरबुवा, आमा, दिवंगत मेरो भाइ त्यहीँ खेल्यौँ, त्यहीँ हुर्कियौँ । ती कोठाहरुमा हाम्रा सम्झना लुकेका थिए । अव ती सम्झनाहरु घरसँगै सकिए ।’
सिइओ शाहले आफ्नो भूकम्प अनुभव सुनाए, ‘भूकम्प आउँदा अर्कै घरको पहिलो तलामा थिएँ । भूकम्प आएर दौडिदा सिँढीमा टाउको तल, खुट्टा माथि भएको थियो । टाउको पनि ठोक्कियो ।’ आफ्नो परिवार भने सकुशल रहेको उनले बताए ।
भूकम्पले आफूलाई ठूलो पाठ सिकाएको बताउँछन्, उनी । भन्छन्, ‘भूकम्पको बेला मैले परिवार बाहेक केही सोचिन, सँधै पैसा, सम्पत्ति भनेर मान्छे कुँदिरहेको हुन्छ । तर त्यसबेला आफ्नो ज्यान र परिवार मात्र दिमागमा आउँदो रहेछ । यसले मानिसको सबैभन्दा महत्वपूर्ण कुरा के रैछ भन्ने पाठ सिकाएको छ ।’ मानिसहरुले भूकम्पको त्यो केही सेकेण्डलाई कहिल्यै पनि भुल्न नहुने शाह बताउँछन् ।



















प्रतिक्रिया