काठमाडौँ,२३ वैशाख । भूकम्पका कारण देखापरेको मनोवैज्ञानिक समस्यालाई सामान्य रुपमा लिन मनोचिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरूले आकस्मिक रुपमा हुने अप्रिय र अस्वभाविक घटनाबाट मष्तिष्कमा असर पर्नु स्वभाविक भएको बताउँदै पूर्वअवस्थामा फर्किने प्रयास गर्न आग्रह गरेका छन् ।
ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक प्रा.डा.सुरेन्द्र शेरचन अहिले नै ध्यान नदिए मानसिक समस्या बल्झिन सक्ने बताउनुहुन्छ । भूकम्पका कारण अहिले अधिकांश मानिसमा तर्सिने, डराउने, चिच्च्याउने, एकोहोरिने, तनाब महसुस गर्नेलगायत समस्या देखिएका उहाँ बताउनुहुन्छ ।
मनोचिकित्सक डा मोहनराज श्रेष्ठ पनि केही दिनदेखि भूकम्पका कारण मानसिक समस्यामा परेकाहरू परीक्षणका लागि आउने गरेका उल्लेख गर्नुहुन्छ ।
पचास शय्याको मानसिक अस्पताल अहिले भरिभराउ छ । सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको उहाँले राससलाई जानकारी दिनुभयो ।
मनोचिकित्सकहरूले नडराउन, परिवारजनसँगै बस्न, व्यायाम, ध्यान, योग गर्न, नियमित काममा व्यस्त रहन, पोषक पदार्थ सेवन गर्न , निद्रा पुग्नेगरी निदाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न सुझाव दिएका छन् । रासस













प्रतिक्रिया