– सुशिल नेपाल
देशमा एउटा चलचित्रबाट लाखौँ रुपैँया लिने कलाकार छन् । निर्देशन गरेको लाखौं लिने निर्देशक पनि छन । त्यस्तै एउटा गीत गाएको हजारौँ रुपैयाँ लिने गायक गायिका पनि नभएका होइनन् । अझ मेला र मौसमको समयमा मासिक ८/१० लाख कमाउने गायक गायिका पनि यही देशमै छन् । अहिले महाभूकम्पका कारण नेपाली जनताहरुमा सहयोगको खाँचो छ । सहयोग नभएको पनि होइन् ।
महाभूकम्प आएपछि विश्वबाट नै सहयोगका राशीहरु आइरहेका छन् । देश तथा विदेशी कलाकारहरुबाट सहयोग पनि नआएको होइन् । हो, नेपाली जनतालाई यतिबेला सहयोग चाहिएको छ । तर, सहयोग माग्ने नाममा कलाकारहरु अन्यसँग सहयोगका लागि हात फिजाइरहेछन् ।
एकपटक सोचौँ त के ती कलाकारहरुसँग सहयोगका लागि केहि नहोला त ? के ति कलाकारहरुले आफनै गोजीबाट केहि सहयोग गरेका छन त ? केही होलान जसले आफैँ नै हृदयबाट सहयोग गरिरहेका छन् तर कयौँ कलाकारहरु आफुसँग सहयोग गर्ने सामथ्र्य हुँदाहुँदै पनि अरुसँग सहयोग जुटाई सस्तो चर्चामा आउने प्रयत्न गरिरहेका छन् ।
गायक गायिकाहरु बरु कुनै स्टेज कार्यक्रम गरुन, चलचित्रकर्मीहरु हलमा मानिसहरुलाई कुनै न कुनै तवरले आकर्षित गरेर रकम संकलन गरुन् । अरुले दिएको सहयोग बाँडेर के के न ठुलो सहयोग गरे नभन्नुस । आफुले के गरे तँ भन्ने सोँच्नुहोस ।
केही चलचित्रकर्मी तथा गायक गायिका होलान जो दिन रात नभनी राहत वितरण र सहयोगमा जुटेका पनि छन् । तीनिहरुको कामलाई सबैले तारिफ गर्नैपर्छ । तर, केहीलाई भने सेल्फी फोटो खिचेर फेसबुकमा हाल्ने मोहले छोएको देख्न सकिन्छ ।
नेपालका महानायक राजेश हमाल जसले नेदरल्याण्डमा १ करोड भुकम्पपीडितका लागि संकलन गरेका छन् । सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतको टोलीले पनि अमेरिकामा राहतका लागि रकम संकलन गरेको सुनिन्छ । यी बाहेक थुप्रै कलाकारले सहयोग जुटाइरहेका छन् । तर त्यो रकम अरुसँग हात फिजाएर जुटाएका छन् ।
कलाकारलाई धेरैले चिन्ने र सहयोग पनि गर्ने भएका कारण कलाकारबाट थुप्रै राहत पनि संकलन हुनु स्वभाविक नै हो । त्यो आफैमा नेपालीको लागि राम्रो पक्ष पनि हो तर तिनै कलाकार के आफुले आफुले आफनो तर्फबाट अलिकति पनि सहयोग गर्न सक्दैनन ? केहि कलाकारले त सहयोग पनि नगरेका होइनन् । केहि कलाकारहरु भूकम्प लगत्तै पीडित क्षेत्रमा पुगेपनि कतिपय कलाकारहरु यतिबेला गुपचुप झै गरि हराइरहेका छन् ।
एउटा कलाकार उ ब्यक्ति मात्र होइन, कुनै अभियानको अभियन्ता पनि हो । भनिन्छ कलाकारले आँटेमा जस्तोसुकै सहयोग पनि जुटाउँन सक्छ र गर्नपनि । जनुसुकै कलाकारप्रति आम नेपाली नागरिकको सम्मान सदैव उचो रहँदै आएको छ ।
हरेकप्रति नेपाली नागरिकले उच्च माया दर्शाइरहेका छन् । कलाकारहरु रिलमा त धेरै पटक हिरो बनिसके तर रियलमा हिरो बन्ने बेला यहि हो । जसले पीडामा रहेका आम नेपाली नागरिकमा सद्भाव झल्काउन सकोस, दुखेको घाउमा मलम लगाउन सकोस ।
जय कलाकार
















प्रतिक्रिया