वैशाख १२ गते शनिबार काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेटअगाडि सुन्दरीघाटमा योगस्वामी रामदेव बागमति सरसफाई महाअभियानमा सरिक हुँदैथिए । त्यही कार्यक्रमको रिपोर्टिङ्मा थिएँ । विहान आठबजे त्यहाँ पुग्दा अभियानकर्ताहरु त्यहाँ आउनेक्रम जारी थियो । मुख्य सचिव लिलामणि पौडेल सहितको अभियन्ताहरु टेन्टमुनिबाट कार्यक्रमबारे जानकारी गराइरहेका थिए । नौ बजेतिर रामदेव गाडी लिएर आइपुगे । पाँच–दश मिनेटको औपचारिक कार्यक्रमपछि सरसफाई कार्यक्रम शुरुभयो । केही सूचना र फोटोहरु लिएर न्यूरोडस्थित गोरखापत्र संस्थानको कार्यालयमा फर्किएँ । समाचार लेखेर खानाखाने अठोट लिएर कार्यालयको तेस्रो तलामा उक्लिएँ । साथैरहेको ल्यापटप खोलेर समाचार लेख्न के शुरु गरेको थिएँ भूकम्पको कम्पनले शरीरलाई हल्लाउन थाल्यो । शुरुमा त के भयो भनेर यताउता हेरें । घरै हल्लिन थालेपछि ल्यापटप भुइँमा मिल्काएर सुरक्षित स्थान खोज्न थालें । कहाँ जाउँ, के गरुँ भयो । दौडेर बाहिर जाउँ भने तीन तलामाथि छुँ, नजाउँ भने भवन भत्किने पो हो कि ! मनमा डरको अर्को भूकम्प जानथाल्यो ।
रिपोर्टिङ कक्षमा हामी दुईजना मात्रै थियौं । विहान ११ः५६ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा कार्यालयमा अरु कोही आइपुगेको थिएनन् । न्यूजचिफ गोकर्ण अर्याल थिए । उनलाई पनि मजस्तै समस्या परेछ । अब मरिने भइयो जस्तै भयो हामीलाई । बाहिर निक्लने हिम्मत पनि आएन । म प्रबन्ध सम्पादकको कक्षमा थिएँ । केही लागेन, अब त ज्यान जोगाउनै प¥यो भनेर टेबुलमुनि लुकें । एक मिनेटसम्म टेबलमुनि अर्को टी–टेबल राखेर घोप्टो परेर टाउको लुकाइ राखें । एकछिनमा कम्पन सेलाएपछि पुनः कम्पन हुनेहोला भनेर हामी भवनको तलतिर दौडियौं । मोबाइल खल्तीमा छामें, माथि नै छुटेको रहेछ । पुनः माथि दौडिएर छुटेको ल्यापटप, मोबाइल ल्याएँ । कोठामा फोन लगाएँ, उठेन । छोरो पढ्ने स्कूलका एक शिक्षक नजिकै बस्छन् । उनलाई फोन लगाएँ, फेरि उठेन । मनमा अर्को चिन्ता कायमै रह्यो । भूकम्पको कम्पनले भौतिक संरक्षणमा पुगेको क्षति र एकसाथ सबैले गरेको प्रयासले होला फोन सहजै लागेन । करिब आधाघण्टापछि छोराको मोबाइलबाट फोनको घण्टी बज्यो । परिवार जहान सबै सकुशल रहेको खवर पाएँ । मनमा अलिकति भएपनि सन्तुष्टि भयो ।
एकजना बटुवाले धरहरा ढल्यो भनेर सुनायो । खबर अपुष्ट थियो तर मनले मानेन । सुनधारास्थित रहेको धरहरातिर क्यामेरा लिएर दौडिएँ । गोरखापत्रको कार्यालयदेखि धरहराको दुरी करिब पाँचसय मिटरको मात्र छ । एकछिनमा त्यहाँ पुग्दा त मान्छेको विचल्ली थियो । ऐतिहासिक धरहरा गल्र्यामगुर्लुम् ढलेको थियो । मान्छेहरुको चिच्याहटको आवाज सुनिन्थ्यो । धेरैबेर बस्नसक्ने हिम्मत आएन । एकछिनमै स्थानीय मान्छेको भीड देखियो । धरहरा उक्लेका सबै सोत्तर भए होलान् भन्ने कानेखुसी चल्नथाल्यो । त्यहाँ हेर्नेको अनुहार निन्याउरो देखिन्थ्यो । प्रकृतिले सर्वनास गर्यो, ‘सेभ अस गड’ मान्छेको कामना सुनिन्थ्यो ।
धरहरा परिसरबाट फर्किन पाएको थिएनँ । एकजना सँगै रहेको स्थानीयले वसन्तपुर दरवार ढल्यो भनेर सुनाए । डरको एउटा खुल्डुलीको अन्त्य भएको थिएन, अर्को थपियो । धरहरा परिसरबाट सिधै वसन्तपुर दरवार स्क्वाएर हानिएँ । त्यहाँ पुग्दा त धुलो अझै उडिरहेको थियो । वसन्तपुर पूरातात्विक विश्व सम्पदा सूचीमा परेको स्थान हो । ऐतिहासिक घर, मठमन्दिर सबै गल्र्यामगुर्लुम् ढलेको देखें । मनमा एक किसिमको निराशा र बेचैनी भयो । मान्छेहरु भित्र फँसेका होलान् मनमा लाग्यो । त्यहाँ हेर्न निक्लिएकाहरु पनि त्यही भनिरहेका थिए । कोही क्यामेरामा भत्केको भग्नावशेषलाई कैद गर्नमै व्यस्त थिए भने कोही मोबाइलमा । धेरैबेर त्यहाँ टिक्नसक्ने अवस्था थिएन । वसन्तपुरको नौतले दरवार पनि ढलेको थियो । बाँकी रहेको भाग पनि ढल्ने होला भनेर फोटो लिएर सुरक्षित स्थानतिर दोडिएँ । मानिसहरुको भागदौड थियो । कोही त्यहाँबाट बाहिर निक्लिरहेका थिए । कोही बाहिरबाट भत्केको ठाउँतिर दौडिरहेका थिए । चिच्याएको आवाज सुनिन्थ्यो तर भित्र गएर कसैको उद्धार गरुँ भन्ने हिम्मत आएन । भत्केको ठाउँमा धुलाम्य थियो । मान्छेहरुको मन बेचैन थियो । एकछिनमा सुरक्षाकर्मीले सो ठाउँलाई घेरा हाल्यो । स्थानीयलाई प्रवेशमा रोक लगायो ।
वसन्तपुर स्क्याएर क्षेत्रभित्र मान्छेहरुको दौडधुप चलिरहेकै थियो । घरछाडेर सबै सडकमा निक्लिए । कोही चिच्याइरहेका थिए, कोही आफन्त खोज्न दौडिरहेका थिए । एकछिनमै मान्छेहरुको भीड सडकमा देखियो । सुरक्षाकर्मीहरु देखिन थाले । एम्बुलेन्स, दमकलको आवाज सुनिनथाल्यो । बाटोभरी मान्छेको भीडले गर्दा सुरक्षाकर्मीको गाडी बाहिर जानसक्ने अवस्था थिएन । ठूलो प्रयासकाबीच सुरक्षाकर्मीको गाडी सडकमा छिर्ने वातावरण बन्यो । प्रहरीको गाडीको साइरन जताततै सुनिन थाल्यो । खुलामञ्च, टुँडीखेलमा सुरक्षा खोज्दै भागेका सर्वसाधारणले खचाखच भयो । बाटोभरी मान्छे नै मान्छे थिए । गाडीहरु आवत–जावत हुन पाएको थिएनँ । सुरक्षाकर्मीलाई बाटो खुलाउन घण्टौं लाग्यो । टुँडिखेलको दुईवटा मूलगेट पनि गल्र्यामगुर्लुम् ढलेको थियो । सडकमा रहेका मान्छेलाई सुरक्षाकर्मीले टुंडिखेलतिर हुलेपछि बाटो केहीमात्रामा खाली भयो । ‘यहाँ यस्तो भयो, त्यहाँ के भएको होला’ सबैको मानमा जिज्ञासा थियो । मान्छेहरु एकछिनमा यताउता हिड्न थाले । फेरि सुरक्षाकर्मीलाई बाटो खुलाउन हम्मे भयो । यो क्रम निकै बेरसम्म चलिरह्यो ।
नजिकै रहेको बीर अस्पतालका विरामीहरु स्लाइन पानी हातमा बोकेरै खुलामञ्चमा दौडिए । कोही आफन्तको साथमा त कोही आफै । नर्स र चिकित्सकहरु पनि विरामीलाई बाहिर ल्याउन सघाए । भूकम्पमा परेर घाइते भएकाहरुको अस्पतालमा भीड लाग्न थाल्यो । भित्र उपचार गर्न समस्या थियो । फेरि भूकम्पको कम्पन आउनसक्ने खतरा यथावत थियो । त्यसैले होला चिकित्सकहरुले विरामी र घाइतेहरुको उपचार अस्पताल परिसरमा नै शुरुगरे । घाइतेहरु रक्ताम्य थिए । कसैको हातखुट्टा भाँचिएको थियो, कसैको टाउको फुटेको थियो । एम्बुलेन्सले घाइते ओसारिरहेको थियो । अस्पताल एकछिनमै घाइतेले खचाखच भयो । घाइतेको फोटो खिच्नेको भीड थियो । पत्रकार र सर्वसाधारण सबै क्यामेरामा फोटो कैद गर्नमा तल्लिन थिए । भीड थेग्न नसकिने भएपछि चिकित्सकहरु रिसाउन थाले । भीडले घाइतेको उपचारमा समस्या पर्न थालेपछि चिकित्सक र नर्सहरु वाक्कदिक्क भए । खुलामञ्चमै गएर फोटो खिच्न खोज्दा नर्स र चिकित्सको खप्की खानु प¥यो । गोरखापत्रकोे पत्रकार भएको बताउँदा पत्याएनन् । परिचयपत्र झिकेर देखाएपछि बल्ल पत्याए ।
शनिबारको दिन आतंकितरुपमै बित्यो । साँझ ६ बजेतिर घर फर्किएँ । कोठामा सुत्नसक्ने अवस्था थिएन । सबैजना बाहिर थिए । सुत्ने गन्तव्य खुलाचौर बन्यो । भूकम्पको कम्पन फेरि हुन्छ भन्ने सबैमा त्रास थियो । घर खाली गेर अरुजस्तै हामी पनि खुला चौरमा बास बस्न गयौं । रातभरी जाग्राम बसेर बित्यो । भूकम्पमा फँसेको त्यो क्षणले छाडेन । बसेपनि, सुतेपनि शरीर घुमेजस्तै महुशस भइरह्यो । खुला आकाशमुनी चटाई ओछ्याएर सुत्ने प्रयास गरियो । तर निद्रा परेन । रात त्यसै वित्यो । रेडियो नेपालको समाचार रातभरी आइरहेको थियो । रातको साथी त्यही मोबाइलको रेडियो बन्यो । समय बिताउन सजिलो भयो । विहान साढे चारबजेको उज्यालो छाएपछि उठेर एकछिन यताउता हिडियो । खाना पकाउन कोठामा छिर्ने हिम्मत आएन । चाउचाउ र पाउरोटी, च्यूरा खाएर भोक मारियो । अर्कोदिन आइतबार १० बजेतिर कार्यालय तिर हिडियो । कोटेश्वर जडिबुटीबाट न्यूरोड पुग्न एक घण्टाको पैदलयात्रा गर्नुपर्छ । तर त्यो दिन दुई घण्टा लगाएर पुगें । गाडीहरु सडकमा गुडेका थिएनन् । बाटोभरी चर्किएका मर्किएका घरहरु नियाल्दै, फोटो क्यामेरामा कैदगर्दै हिडेर कार्यालय पुगियो ।
अफिस पुगेको करिब आधाघण्टा भएको थियो । कार्यालय परिसरमै तल पानी खाएर बसेको थिएँ । केही कर्मचारीहरु पनि पुगिसकेका थिएँ । कर्मचारीबीच गफिदै थियौं । त्यहीबेला १२ः५४ मा अर्को भूकम्पको चाल महुशस भयो । मान्छे भागाभाग गरेको देखियो । पहिलो दिनको डर बिर्सिन सकेको थिएनँ अर्को आतंक मनमा शुरुभयो । एकछिनपछि समाचारमा सुनियो ६.९ रेक्टरस्केलको भूकम्प आएछ । पहिलो दिनको भूकम्पले चिरापरेका घरहरुलाई सबै भत्काएको होला भन्ने अनुमान धेरैले लगाए । भयो पनि त्यस्तै नै । गोरखापत्रको पुरानो भवन पनि केही भयो कि भनेर हामी नियाल्न थाल्यौं । केही भागमा चिरापरेको देखियो । घर भत्केको रहेनछ भनेर सन्तोषको स्वास फेर्यौं ।
आइतबारको रात पनि खुला आकाशमुनी बित्यो । उपत्यकाबासीको सबैको रातदिन खुला चौरमै टेन्टमुनी बित्यो । यो क्रम मंगलबारसम्म चल्यो । भूकम्प विज्ञहरुले ७२ घण्टासम्म भूकम्पको खतरा रहेको अनुमान सुनाएपछि सर्वसाधारणहरु घरमा प्रवेश गर्ने हिम्मत गर्ने त कुरै भएन । सबैले समाचार सुनेर आफ्नो बाटो तय गरे । मंगलबार १२ बजे ७२ घण्टा लागेपनि धेरैको मनमा अन्यौल कायमै रह्यो । कोठामा प्रवेश गर्ने कि खुला आकाशुमनी नै बिताउने भनेर । दिउँसो पानीले भुइँ चिस्सिएपछि बाध्यतावस केहीले मंगलबारको रात डराएर भएपनि कोठाभित्र विताए । तर बुधबारबाट अधिकांशले खुला आकाशमा बासलाई त्यागे ।














प्रतिक्रिया