३० आश्विन २०८३, शुक्रबार

किन हतारमै फर्काउन लागियो विदेशी टोली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_army

काठमाडौँ, २० वैशाख । भूकम्प पीडितको उद्दार तथा राहत वितरण कार्य जारी नै रहँदा सरकारले अन्तर्राष्ट्रिय टोलीलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ ।

नेपालमा आएको भारतीय टोली विवादास्पद बनेपछि सरकारले हतार हतार विदेशी उद्दार टोलीलाई फर्काउन लागेको हो । घाइतेहरुको उद्दार तथा राहत वितरणका नाममा भारतबाट आएका हेलिकप्टर चीनको अनाधिकृत रुपमा चीनको सीमासम्म पुगेपछि सरकार गम्भीर बनेको हो । आफ्ना सीमामा भारतले अनावश्यक रुपमा हेलिकप्टर उडाएको भन्दै चीनले नेपाल सरकारसमक्ष कडा आपत्ति जनाएको थियो ।

भारतीयहरुले बिमानस्थलमा मनपरी गरेको थाहा पाएपछि प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार आकस्मिक रुपमा त्रिभुवन बिमानस्थलको निरीक्षण गर्नुभएको थियो । प्रधानमन्त्रीले राहत वितरण तथा उद्दारको नेतृत्व लिन नेपाली सेनालाई निर्देशन दिनुभएको थियो । तर, त्यसपछि पनि भारतीय मनोमानी नरोकिएपछि सरकारले सबै विदेशी टोलीलाई फिर्ता गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्रीकै निर्देशन अनुसार, केन्द्रीय दैवी प्रकोप उद्धार समितिले खोज तथा उद्धार गर्न आएका अन्तर्राष्ट्रिय टोलीलाई फिर्ता पठाउन सरकारसमक्ष सिफारिस गरेको छ । यद्यपि गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने खोज तथा उद्धारको काम सकिएपछि अन्तर्राष्ट्रिय प्रचलनअनुसार समितिले विदेशी टोली फर्काउन लागेको जिकिर गर्नुभयो ।

नेपालका विश्वका ३४ देशबाट आएका खोज तथा उद्धार टोली आएका छन् । गृह प्रवक्ता ढकालले विदेशी टोलीले गरेको योगदानको सराहना गरेको बताउनुभयो ।

नेपालमा छिमेकी मुलुक भारत र चीनलगायत ३४ मुलुकबाट चार हजार ५० जना विशेषज्ञ आएका छन् । अन्तर्राष्ट्रिय उद्धारकले साथमा १२९ वटा कुकुर पनि साथै ल्याएका छन् । चिकित्सक टोली, उद्धार तथा राहत सामग्री ढुवानी गर्न ल्याइएका हेलिकोप्टर भने आवश्यकताअनुसार प्रयोग गरिने गृह मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो ।