२९ आश्विन २०८३, बिहिबार

भूकम्पले कलाकारमा यस्तो पीडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • विश्वास खड्काथोकी

प्राकृतिक बिपदले, धनी, गरीव, ठूलो सानो, सेतो, कालो केही भन्दैन । जुन विपदलाई सबैले सामना गर्नुको विकल्प रहदैन । गत शनिवार गएको बिनासकारी भूकम्पले पनि सर्बनास पार्‍यो । हजारौं मानिसको ज्यान लियो, लाखौंको घरबासनै उठीबास बनायो । नेपालका गौरव गर्न लायक प्राचिन सम्पदालाई समेत बाँकी राखेन । यो भूकम्पले कलाकारहरुलाई चाहि कस्तो विपद निम्त्यो त ? कलाकार राजेशपायल राईको रेष्टूरेण्टनै डुव्यो, निता ढुंगानाको दिदीको छोरालाई चुँडेर लग्यो । जसलाई नीताले अति माया गर्थिन् । भूकम्पले सबै कलाकारहरुमा उस्तै पींडा दिएको छ । अभिनेत्री रेखा थापा, केकी अधिका र अभिनेता दयाहाङ राइले आफ्नो भूकम्प अनुभव दैनिक नेपालसँग साटेका छन् ।

…

यस्तो विपत् कहिल्यै नआओस्
रेखा थापा, अभिनेत्री

rekha-thapa

‘भुकम्प आएको दिनदेखि मम्मी र म बाहिरै बस्यो । चक्रपथको एक सुरक्षित क्याफेमा अन्य साथीहरुसँग बसिरहेका थियो । भूकम्प आयो कि हामी सबै बाहिर निस्कन्थ्यो । सोमबार मात्रै मम्मीलाई लिएर अम्बे अपार्टमेन्ट फर्कें । त्यहाँ पुग्दा लाग्यो, यो सपना हो कि विपना ? त्यत्रो ठुलो भुकम्प आउँदा पनि स्व. बुवाको फोटो चाहिं भुइँमा झरेका रहेनछ । लाग्यो, बुवाको फोटोको अनुहार पनि अध्याँरो भएको छ । कपडा फेरेर आवश्यक सामान लिइ फेरि मम्मीसँगै सोही चक्रपथको क्याफेमा फर्कियौं । त्यो दिनको डर अझै हटेको छैन । कति दिनसम्म डरमा बस्नु पर्ने हो, अझै थाहा छैन । मनमा डर पालेरै भएपनि सोमबार दिउँसो पशुपती, रंगशाला लगायत क्षेत्रमा जाने हिम्मत जुटाएँ । पशुपतीमा मृतकका आफन्तको आँखामा आँसु देख्दा मेरो पनि आँखा रसाए । रंगशालामा आश्रय लिएर बसिरहनु भएका दिदी बैनी, दाजु भाई र साना साना नानीहरुको अवस्था देख्दा साहै्र मन छोयो । मैंले उहाँहरुलाई दिन सक्ने भनेको हिम्मत मात्रै हो । सबैलाई हिम्मत नहार्न आग्रह गरें । मेरो आग्रहमा उहाँहरुको अनुहारमा चमक देखें । त्यसपछि मेरो मन पनि केही उज्यालो भयो । यस्तो विपत् कहिल्यै नओस्, मेरो मात्रै होइन हामी सबैको कामना यही छ ।’

बाँचिन्न भन्ने लागिसकेको थियो
दयाहाङ राई, अभिनेता

dya

कवि उपेन्द्र दाईकोमा रामबाबु गुरुङ, म लगायतले खाना खाईरहेका थियौँ । त्यही समय भूकम्पको धक्का महशुस ग¥यौँ । उहाँहरु वाहिर भाग्न थाल्नुभयो । भाउजु र नानुहरुले ढोकाको आड लिए । मैले सामान्य सोचेर नआत्तिउँ भन्दै थिएँ । वरिपरीको सामानहरु पल्टिरहेकाले बाहिर जान सक्ने स्थिति पनि थिएन । तर भुकम्प त रोक्दै रोकिएन । त्यतिवेला अब बाँचिन्न भन्ने लागिसकेको थियो ।

भुकम्प पछि फ्यामेलिसँग मण्डला थिएटरको कम्पाउण्डमा बसीरह्यौँ । थिएटरमा काम गर्ने सबै जना सँगै थियौँ । बाहिरै खाना पकाएर खायौँ । हामीले करीव २ सय जनालाइ पालको व्यवस्था गरी सँगै राखेका थियौँ । यस्तो अवस्थामा आत्तिने होइन । बरु आउदो दिनलाइ सहज बनाउको लागि नेपालीहरुमा उर्जा चाहिएको छ ।

भोलिपल्ट पनि घर पस्न डर लाग्यो
केकी अधिकारी, अभिनेत्री

Keki_Adhikari

म भृकुटिबाट सुटिङ सक्काएर घर फर्कदा विहानको सात बजेको थियो । सात बजेमात्र म सुत्न शुरु गरेकी थिएँ । भूकम्प आउदा पनि सुतेकै रहेछु । मेरो निद्रा अलि चनाखो भएकाले भुकम्पको पहिलो धक्कामै ब्युझीहाले । बुवाहरु सबै घर बाहिर गैसक्नु भएको रहेछ । आमा भने किचनमा चिच्चाउदै हुनुहुन्थ्यो । भूकम्पले गर्दा म त्यहाँवाट निस्कनै सकिन । त्यतिबेला ज्यान पनि बच्ला कि नबच्ला भन्ने लागेको थियो ।

भुकम्पपछि हामी घरबाहिर खुला चौरमा टेन्ट लगाएर बस्यौँ । यस्तो बेला भित्र बस्ने कुरा पनि त भएन नि । भोलिपल्ट मात्र घरमा पसेर केहि सामान निकाल्यौँ ।

यस्तो अवस्थामा आगामी दिनलाई कसरी पार लगाउने भन्नेबारे सबै गम्भीर भएर लाग्नु पर्छ । उपचारमा विषेश ध्यान दिन आवश्यक छ । म आफै पनि दुई दिन बीर, टिचिङ लगाएतको हस्पीटलमा पुगेकी थिएँ । त्यहाँको भयाभह अवस्था देखेर निकै दुःख लागेको छ । अहिले पींडितलाई पैसाभन्दा पनि औषधी, टेन्ट, कपडाहरु चाहिएको छ । यस्तो बेलामा सरकारको भर पर्न भन्दा पनि आफुले जहाँबाट जे गर्न सकिन्छ त्यो गर्नु पर्दछ ।