
– विजय थापा
वाशिंगटन डिसी । नेपालमा आएको विनाशकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएसँगै देश विदेशबाट राहत तथा उद्धार टोली नेपाल आउने क्रम जारी छ ।
त्यसै क्रममा भूकम्प पीडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याउने उद्देश्यले डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोली मातृभुमि नेपाल तर्फ प्रस्थान गरेका छन् ।
उक्त टोलीको नेतृत्व डिसी महानगर क्षेत्रमा लामो समय देखि चिकित्सा पेसामा संलग्न डा मदन उप्रेती, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेल सहित अन्य स्वयम् सेवकहरु वाशिंगटन डिसी स्थित डलस अन्तर्राष्ट्रिय बिमानस्थलबाट नेपाल प्रस्थान गरेका छ्न ।
उक्त भूकम्प पीडित उद्धार टोलिलाई बिदाई गर्न विमानस्थलमा २ दर्जन भन्दा ज्यादा नेपाली समुदायहरु उत्साह साथ पुगेका थिए भने मातृभुमिलाई परेको चोट र दुखलाई सम्झना गर्दै राष्ट्र प्रति सद्भाव झल्काउदै नेपाल जाने टोली र बिदाई गर्न आउने सबैले एक साथ नेपाली राष्ट्रिय गीत सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली गाउदै बिमान स्थल घन्काई दिएका थिए ।
भूकम्पपीडितलाई राहत सामग्री, घाईतेहरुको उपचार तथा स्रोत र साधन जुटाउने हाम्रो मुख्य उद्देश्य रहेको उक्त उद्धार टोलीका संयोजक डा मदन उप्रेतीले बताए ।
चिकित्सकले अगाडी भने-‘टोलीले खाध्य सामग्री, पानी तथा आश्रय स्थलको आपूर्ति गर्ने छ ।’ उहाँले सबै भन्दा ज्यादा प्रभावित क्षेत्र सिन्धुपाल्चोकबाट टोलीले काम सुरुवात गर्ने जनाए । अन्य प्रभावित जिल्लामा पुग्ने योजना पनि सुनाए ।
नेपालका चिकित्सकहरुको पनि सहयोग लिने छौ र त्यस अनुसार योजना बनाई सकेको उनले बताए । भूकम्प पीडितको राहतको लागि उक्त टोलीले भारतको कानपुरबाट ५ सय त्रिपाल, औषधि, ५ सय कम्बल झिकाई सकेको जनाएको छ भने राहत सामग्रीको लागि ५ लाख भारतीय रुपैयाँ भुक्तानी गरेको अमेरिका नेपाल सहयोगी समाजका संरक्षक तथा समाज सेवी मधु पन्थीले विमानस्थलमा जानकारी गराए ।
यसै गरि अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले भूकम्प गए देखि राम्रो संग सुत्न सकेको छैन भन्दै तत्कालको औषधि उपचारको लागि भनेर ४ वटा पोकाहरु ओखति मात्र लिएर जादै छौ । आफुले केवल हाते झोलामा मात्र लुगा फाटो लिएर हिँडेको बताए ।
अमेरिकामा लामो समय सम्म जागिरमा हाजिर भएन भने जागिरबाट निष्काशित पर्न सक्ने पनि हुन्छ भन्ने सवालमा कंडेलले भने अहिले देश ध्वस्त छ । अहिले म देश भन्दा बाहिर केहि सोच्न सक्दिन । देश स्वस्थ भयो भने हामी पनि स्वस्थ हुन्छौ । आफु स्वस्थ भयो भने यस्तो जागिर पाउन केहि कठिन छैन कंडेलले विचार राख्दा भन्दा सबैले ताली बजाएका थिए ।
टोलीको साथमा नेपाल जान लागेका अमेरिका नेपाल सहयोगी समाजका सदस्य पदम रेग्मीले भने देश भन्दा ठुलो केहि छैन । आफ्नो आशु आई रहेको छ भन्दै आफुले केवल १८ दिन को छोरो लाई यहि छोडी नेपाल आमा को सेवाको लागि जाने निर्णय गरेको छु भने ।
उक्त भूकम्प पीडित उद्धार टोलीले नेपालमा थोक मुल्यमा चामल, आलु, दाल तथा अन्य खाध्य सामग्री किनी सकेको छ भने सिंहदरबार अगाडी मुख्यालय बनाई सकेको छ । त्यहिबाट आफ्नो कार्यक्रम संचालन गरिने जानकारी गराएका छन् ।
अमेरिका नेपाल सहयोगी समाजका उपाधक्ष्य कमल भट्टराईले अहिले सम्म करिब ५० लाख नेपाली रुपैया (५० हजार डलर) उठी सकेको बताए भने १ लाख डलर सम्म चन्दा संकलन उठाउने योजना रहेको बताए ।
डिसी महानगर क्षेत्रको मनासस शहरमा २००८ मा स्थापना भएको स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको पहल ,हाम्रो संस्कृति तथा भाषाको संरक्षण गरौ भन्ने नाराको साथ डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजको बिशेष सहयोग तथा चिकित्सकहरुको बिशेष संलग्नतामा भूकम्प पीडित उद्धार टोली नेपाल पठाईएको जनाएको छ ।
उक्त टोलीलाई बिदाई गर्न डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती तथा उपाध्यक्ष दधिराम ढुंगानाको उपस्थिति रहेको थियो भने अध्यक्ष रुपाखेतीले दुवै संस्थाहरु मिलेर काम गरेका हौ । देशलाई यस्तो बिपत्ति आई परेकोले एक प्रतिनिधि पठाई सहयोग गर्नु पर्छ भन्ने लागेर टोलीलाई नेपाल पठाउदै छौ रुपाखेतीले भने ।
उपाध्यक्ष दधिराम ढुंगानाले नेपाल आमालाई परेको पीडा जसलाई आफुले कालो दिन भन्छु भन्दै हामीले संकलन गरेर टोलिलाई दिएका छौ भन्दै यो पैसाले नेपाल जाने टोलिले केहि हद सम्म भए पनि मल्हम पट्टि लगाउनु हुनेछ भन्दै बिदाई गर्न आएको बताए ।
बिदाई गर्न विमानस्थल आई पुगेकी सुनसरी धरान घर भएकी उत्तर श्रेष्ठले टोलीलाई हौसला प्रदान गर्न आएकी हु भन्दै २०४५ सालमा गएको भुकम्पमा आफ्नो घर भत्कदा आफ्नी बैनी गुमाएकी भन्दै यस्तो कसैले पनि बेहर्नु नपरोस भन्दै टोलिलाई शुभकामना दिईन ।
उक्त भूकम्प पीडित उद्धार टोलीलाई बिदाई गर्न आएका सगुन डटकमका सह–संस्थापक कविन्द्र सिटौलाले यो टोलीलाई नेपालमा सगुन डटकमले मानव स्रोत जुटाउने छ र यसको लागि स्वयम् सेवक परिचालन गर्ने बताए ।
उद्धार टोली संयोजक डा मदन उप्रेतीले टोलीलाई आत्मबल दिने, सहयोग गर्ने, सुझाब दिने, नैतिक बल प्रदान गर्ने सबैलाई धन्यबाद दिएका थिए ।















प्रतिक्रिया