काठमाडौँ, १९ वैशाख । नेपाल वायु सेवा निगमले दोस्रो जहाज स्वदेश भित्र्याएको छ । करिब रु पाँच अर्बमा खरिद गरेको एयरबस ए ३२० सिरिजको सो जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमले सो जहाजको नाम यसअघि नै ‘लुम्बिनी’ राखिसकेको छ ।
जहाज निर्माता कम्पनी एयरबसका प्रशिक्षक चालक र निगमका चालकले सो जहाज आज ह्यामवर्गबाट दोहा हुँदै काठमाडौँ अवतरण गराएका हुन् । शनिबार गएको भूकम्पका कारण मुलुक शोकको अवस्थामा रहेकाले जहाजको कुनै पनि औपचारिक स्वागत समारोहको आयोजना नगरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
जहाज लिन नेपाल नागरिक उड्डयन प्राधिकरण,निगमका उच्च अधिकारी केही दिन पहिले नै ह्यामवर्ग पुगेका थिए । जहाजमा भूकम्प पीडितका लागि औषधि, चिकित्सक, नर्स पनि सँगै आएका छन् । जर्मनमा बस्ने नेपालीले सङ्कलन गरेको राहत तथा उद्धार सामग्री पनि ल्याइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जहाजमा करिब चार टन औषधि ल्याइएको छ । निगमले गत माघ २५ गते नै सोही कम्पनीको ३२०–२२० सिरिजको जहाज नेपाल भित्र्याएको थियो । सो जहाजले हाल व्यावसायिक उडान गरिरहेको छ ।
निगमले बाह्य उडानका लागि भित्र्याएको सो जहाजले केही समय भित्रै व्यावसायिक उडान गर्ने कार्यतालिका तय गरेको छ । जहाज खरिदका लागि २०७० असारमा खरिद सम्झौता गरेको थियो । जहाज खरिदका लागि निगमले कर्मचारी सञ्चय कोषसँग रु १० अर्ब ऋण लिएको थियो ।
लामो समयपछि अन्तर्राष्ट्रिय उडानका लागि निगमले भित्र्याएको सो जहाज दोस्रो हो । नेपालमा चीन सरकारले अनुदानमा दिएको एम ए ६० र वाई १२ ले आन्तरिक उडान गरिरहेको छ । रासस















प्रतिक्रिया