शनिबारको दिन इजरायलमा सब्बात भएकोले अलि ढिला सम्म नै सुतिन्छ । बिहानको खाजा पनि ढिलै खाइयो । विहान ९ बजेतिर यसो फेसबुक खोलेको त के के पो भइसके छ, नेपालमा । ७.८ रेक्टर स्केलको भुकम्पले देश नै हल्लाएछ । जव धरहरा रहेन भुकम्पले ढाल्यो भन्ने स्टटास पढेँ । मेरो मन पनि उस्तै गरी हल्लियो । त्यतिखेरै एकनाथ दुवाडीजीले ढलेको धरहराको तस्वीर देखाउदै भन्नुभो ‘हेर्नुस् म्याम हाम्रो धरहरा’ । आत्तिएर काठमाडौँ, पोखरा र चितवनमा फोन गरेँ, मरिगए फोन लागे त । उकुसमुकुस भएँ ।
काठमाडौँको दृष्यले आँशु रोकिएको छैन । जसरी नेपाली आमालाई भूकम्पले हल्लाएर भत्कायो, क्षतविक्षत पार्यो । मलाई पनि देश र आफन्तको मायाले उसै गरी हल्लायो, भत्कायो मुटु पोल्यो, मानसिक रुपमा क्षतविक्षत गरायो ।
देश महाबिपत्तिमा छ । परिवारहरु बिचल्लीमा छन् । कतै कसैसंग सम्पर्क छैन । सबैले अलापविलाप गरेर स्टाटस राखिरहेछन् । बल्लतल्ल पोखरामा छोरीसँग कुरा भयो । छोरीले सबै ठीक छ भन्ने उत्तर दिइन् । छोरा कलेज गएको रहेछ । घर चाँहि स्वाहा भएछ । तर परिवार भने सकुशल रहेछन् ।
धरहरा र बसन्तपुर जस्ता ऐतिहासिक धरोहरको भूकम्पले अकल्पनीय क्षति भएको तस्वीर र भिडियोहरु हेरेर धरधरी रोएँ, लामो समय आँखाबाट आँशु रोकिएन । भुइचाँलोले थर्कमान भएकी मेरी बुढी आमालाई फोन गरेँ, भन्नुभयो, ‘हामी बाँचेका छौं, नानी पिर नगर’ । उहाँको स्वास फुलेको थियो । बातैपिच्छे स्वाँ स्वाँ सुनिन्थ्यो । मेरो मुटु भक्कानियो । यतिवेला आमालाई मेरो साहरा चाहिएको छ, मेरो छोरालाई न्यानो काख चाहिएको छ । एकछाक जुटाउन यो प्रवासमा म भने बन्दगी बस्नु परेको छ ।
फेसबुकबाट आँखा हटाउन मन लागेन । आफ्नो देशले विपत्तिमा छ, नेपालीहरुको लास पुरिएको छ । यस्तो दर्दनाक परिस्थिति प्रवासबाट टुलुटुलु हेरेर बस्नुपर्दा आफ्नो जन्मलाई धिक्कार्न मन लाग्यो । इजरायलमा पटकपटक भइरहने युद्धको साक्षी बसेकी म, मातृभूमिको पीडा र आफन्तको दुःखमा एक चिम्टी मल्हम लगाउन नपाउनु कति विवश ज़िन्दगी । सात समुन्द्रपारीबाट समाचार पत्र र टिभीमा आँखा पुर्याउँदा मलाई लाग्यो, क्षितिजहरु चित्कार गर्दैछन् । लाशको धुँवाले अध्याँरो बनेको छ, पशुपति क्षेत्र । गाउँबस्तीहरु लाशले भरिएका छन, लासहरू उठाउने मान्छे छैनन् । सयौंं नेपालीको प्राण लिएर साँस्कृतिक महत्वको अभिभारा वोकी उभिएको भीमसेन स्तम्भ आफै अलाप भयो । हिजोसम्म मुस्कुराई रहेका बसन्तपुर कान्तिपुरी नगरीका पुरातात्विक धरोहरहरु सबै भताभुंग र लथालिंग भए । हरियाली गाउँ, डाँडापाखा केही रहेनन् । फेसबुकमा साथीहरुले सेयर गरेको फोटो हेर्दा कसरी मन थामु ? मन मस्तिष्क खल्बलिएको छ, के बोलौँ, के लेखौं शब्दविहीन भएकी छु ।
काठमाडौँको दृष्यले आँशु रोकिएको छैन । विजुली, इन्टरनेट छैन। फेरी कतिवेला भूकम्प आउँछ थाहा छैन । बाहिर बसेका नेपालीहरु उभिन नसकेर खुल्ला आकाशमामुनि, सडकमा, टुडिखेलमा, खाली जग्गामा भूइँमै बसेका छन् । आफ्नै घर भुतघर जस्तो भएको छ । कति अझैसम्म आफ्नै घरमा मृत्युको पल गन्दै छन् । यतिबेलै उद्धार गर्न सके धेरैको जीवन बाँच्थ्यो, तर के गर्ने प्रार्थना बाहेक अरु गर्न सक्ने अवस्था छैन । जताततै हताहतीको संख्या बढिरहेको समाचार छ । सगरमाथा बेस क्याम्पदेखि शहर, गाउँ सबै प्रभावित भएको छ । अन्तराष्ट्रिय जगत सहयोगको लागि तयार छ । यो संसारमा माया सद्भाव मानवता आत्मियता भन्दा ठूलो के नै हुन्छ र < यो भयावह स्थितिमा संसारभरबाट नेपालप्रति माया र सहानुभूतिका साथ सहयोगी हातहरु बढ्दै गरेको देख्दा झन् मन थाम्न सकिन । अविरल आँशुका धारा गाला चुम्दै खसिरहे । यो दुःखद घडीमा टाढा हुनु पर्दाको पीडामा यिनै आँशु बगाएर मनलाई शान्त पार्नुको बिकल्प छैन । टाढा बसेर देख्दा त यति धेरै मर्माहित भएका छौं । भोग्नेलाई त कस्तो भएको होला, उफ ।
जसरी नेपाली आमालाई भूकम्पले हल्लाएर भत्कायो, क्षतविक्षत पार्यो । मलाई पनि देश र आफन्तको मायाले उसै गरी हल्लायो, भत्कायो मुटु पोल्यो, मानसिक रुपमा क्षतविक्षत गरायो ।
नयाँ बर्ष २०७२ सँगै इतिहास र संस्कृति मेट्दै नेपाली इतिहासकै डरलाग्दो क्षति भोगिरहँदा प्रकृतिसँग पौठेजोरी खेल्न र दैवलाई सराप्न मन लाग्यो । हे दैब तिमीले यो के गर्यो । आमनेपालीहरु पटकपटकको भूकम्पले भयावह र त्राहिमामको अवस्थामा छन् । घरभित्र जाउँ त भूकम्पको डर, बाहिर पानी परेर हैरान । कति निष्ठुरी दैव पनि । प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिएको हाम्रो सुन्दर देशलाई दैविक प्रकोपरुपी महाविनाशकारी भूकम्पले सगरमाथाको चुचुरोदेखि वारपाकको फेदीसम्म तहसनहस पार्दा र लासको लस्कर देख्दा साँच्चै नै मातृभुमि भेन्टिलेटरमा राखिएको विमारी जस्तै लागेको छ ।
देशमा भएका भौतिक तथा मानवीय क्षति अपूरणीय छ । अहिले नेपाललाई विभिन्न देशले सहयोग गरिरहेको समाचार सुन्दा मन अत्यन्तै भावुक भएर आउँछ । संसार एउटै हो । संसारका मानिस हामी एउटै हौं । उद्धारमा संलग्न सबैलाई अझै प्रेरणा मिलोस् । बिपत्तिको बेला सहयोग गर्नुभन्दा पर अर्को कुनै धर्म छैन । आज देशले मलाइ के दियो भन्दा पनि देशलाई मैले के दिएँ भनेर सोच्नु पर्ने अवस्था छ । हाम्रो सानो सहयोगले हाम्रै दाजुभाइ दिदीबहिनीलाई सहयोग मिल्नेछ । जहाँ भए पनि जहाँ रहे पनि हामीले हाम्रो एकता देखाउनु पर्ने आजको आवश्यकता छ । यो दुरदेशबाट सकुशल बाँच्न सफल हुने हरेक व्यक्तिहरुको मनमा भगवजानले सहनशीलता जगाइदिउन्, घाइतेहरुमा शीघ्र स्वास्थ्यलाभ होस् र मृतकहरुको आत्माले चिरशान्ति पाओस् । हार्दिक कामना गर्दछु । बैशाख १२ गते नेपालको इतिहासमा कालो दिन रहेछ ।
बल्खु, काठमाडौँ, हाल: इजरायल














प्रतिक्रिया