काठमाडौं, १७ बैशाख । नेपालको लागि भनेर भारत सरकारले पठाएको औषधी बाटोबाटै हराएको छ । भूकम्प पीडितको लागि भारतबाट आएको दुई ट्रक औषधी बाटोबाटै हराएको हो ।
भारतले नेपालको लागि तीन ट्रक औषधी पठाए पनि स्वास्थ्य मन्त्रालयमा भने एउटा मात्र ट्रक पुगेको छ । दुई ट्रक औषधी कहाँ गयौ भन्नेमा स्वास्थ्य मन्त्रालयनै अनविज्ञ रहेको छ । स्वास्थ्य मन्त्रालयमा औषधी विभाग हेरिरहेका डाक्टर भिमसेन तिनकारीले भने, ‘त्यो औषधी कहा गयौ भन्ने हामीले सुइको पाउन सकेका छैनौँ, हिजो एयरपोर्टमा पनि गएर हेर्यौं, त्यहाँ पनि भेटिएन ।’ भारतले तीन ट्रक औषधी स्वास्थ्य मन्त्रलायमा पठाएको अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयमै पत्र आएको छ । ‘औषधी भन्सारबाट पनि नेपाल भित्रिएको देखिन्छ’, डाक्टर तिनकारीले भने, ‘तर यहाँ आईपुगेको छैन, अरु हस्पीटलमा लैजाने भनेर पनि लेखिएको छैन । औषधी स्वास्थ्य मन्त्रालयमै आउनु पर्ने हो । तर कहा मिस भयो भन्ने अझै थाहा पाउन सकेका छैनौ ।’
नेपालमा तत्काल महामारी फैलियो भने पनि सरकारले औषधी प्रदान गर्न नसक्ने तिकारीले बताए । ‘हामीले भएका सबै औषधी गाउँ गाउँमा पठाइसकेका छौँ । सबै आइटम औषधीहरु स्टक छैनन’, डा. तिनकारीले भने, ‘छोटो विधिवाट औषधी खरिद गर्ने तयारी भैरहेको छ ।’ औषधी भने नेपालबाटै खरिद गर्ने उनले जानकारी दिए ।













प्रतिक्रिया