– सुशिल नेपाल
पाल्पा । शानिबार आएको भुकम्पबाट देशभरकै जनजीवन अस्तव्यस्त भएको छ । भुकम्पबाट हजारौँको मृत्यु भइसकेको छ, हजारौं घाइते छन् भने लाखौँ विस्थापित भएका छन् । भुकम्पको असर सर्वसाधारणमा मात्र होइन कलाकारहरुमा पनि परेको छ ।
देशमा रहेका चलचित्रहलहरुमा पनि यसको ठुलो असर परेको छ । यस दुःखद अवस्थामा चलचित्रको सुटिङ हुनु, चलचित्र हलमा लाग्नु र चलचित्र रिलिज गरिनु पनि मुर्खता नै मानिन्छ । त्यसैले अब रिलिज हुन लागेका फिल्मको पनि मिति सार्ने क्रम सुरू गरिएको छ ।
यता गत शुक्रबार रिलिज भएको फिल्म ’रेशम फिलिली’ले अनिश्चितकालका लागि प्रदर्शन रोकेको छ । प्रदर्शन भएको दिन अत्याधिक दर्शक पाएको चलचित्र अर्को दिन नै आएको भुकम्पको मारमा परेको छ । भने रिलिज हुन लागेका फिल्म ‘होस्टल रिटर्नस’, ‘हाईवे टू धम्पुस’ लगायतले आफ्नो प्रदर्शन मिति सार्ने निर्णय गरेका छन् । यस्तै बैशाख र जेठमा रिलिज हुन लागेका अन्य फिल्मले पनि रिलिज मिति सार्ने तयारी गरेका जानकारी पाइएको छ ।
यसैबीच अन्य क्षेत्रको हलको तुलनामा त्यति क्षति नभएको पाल्पाको सन्तोष चलचित्र मन्दिरमा भने आजबाट चलचित्र चल्न सुरु गरेको छ । शनिबार पहिलो शो लागिरहेको समयमा एक्कासी भुकम्प आएपछि भागाभाग भएको थियो त्यहि दिनदेखि चलचित्र प्रदर्शन भएको थिएन । ‘सधै हल बन्द गरिरहनु त भएन नि’-सन्तोष चलचित्र मन्दिरका सञ्चालक सन्तोष लिगलले भने ‘त्यसैले आजबाट फिल्म चलाउन शुरु गरेका छौँ ।’
उनका अनुसार अझपनि क्रासले गर्दा हलसम्म दर्शकहरु त्यति आउन सकेका छैनन् । हलमा लागेको चलचित्र ‘नाइँ न भन्नु ल ३’ हेर्न भुकम्प आउनुअघि दर्शकको अत्याधिक चाप भएपनि अहिले भने दर्शक न्युन भएको उनले बताए । आफुहरुले न्युन दर्शक भएपनि २ वटै शो सञ्चालन गरेको उनले बताए ।
















प्रतिक्रिया