दोहा, कतार । नेपालमा आएको विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगका लागि प्रवासी नेपाली मञ्चले कतारमा राहत संकलन सुरु गरेको छ ।
प्रवासी नेपाली मञ्च शाखा कतारको मंगलबार राति बसेको आकस्मिक बैठकले महाभूकम्प पछिको विपत्तिमा परेका घाइतेहरुको उपचार तथा उद्धार सहयोगार्थ तत्काल आर्थिक रकम तथा लत्ताकपडा पीडितहरु समक्ष पुर्याउने निर्णय गरेको हो ।
बैठकले पहिलो दिन एक लाख रुपैयाँ कार्यसमितिबाट नै संकलन कार्य समेत सुरु गरेको छ । मञ्चका अध्यक्ष रामहरी गैह्रेको अध्यक्षतामा सम्पन्न बैठकले तत्काल मञ्च निकट मताहतमा रहेका इलाका तथा इकाइ कमिटि र सल्लाहकार परिषद् सदस्यहरु तथा शुभचिन्तक एवम् सहयोगीहरु लाई राहत संलन कार्यमा सहयोगको लागि समेत अपिल गरेको छ ।
मञ्चले हाल सम्म एक सय पचास केजी बराबर लत्ताकपडा तथा जिन्सी समाग्री सहित जुटाई सकेको छ । आर्थिक संकलन कार्यलाई पनि तिब्रता दिएको छ । केही दिनमा नै संकलन गरिएको सबै सहयोग नेपाल पठाउने तयारी भएको अध्यक्ष रामहरी गैह्रेले बताए ।
मञ्चले भूकम्पपछिको महाविपत्तिमा ज्यान गुमाउनेहरु प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोक समेत व्यक्त गरेको छ ।















प्रतिक्रिया