वाशिंगटन डिसी । गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पले सिर्जना गरेको जनधन एवं साँस्कृतिक धरोहरहरुको विनाश भएकोमा क्यानडामा रहेका नेपाली, क्यानडा सरकार र जनताका तर्फबाट अभूतपूर्व रुपमा समवेदना एवं भुकम्प पीडितलाई सबै प्रकारका सहयोगहरु प्राप्त भईरहेको जानकारी ओटावा नेपाली दुतावासले जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्परले छापा विज्ञप्ति मार्फत शोकसन्तप्त नेपाली जनता प्रति समावेदना व्यक्त गर्दै विपत्तिको यो कठीन घडीमा नेपाललाई क्यानडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यसै गरि क्यानडाका विदेश मन्त्री रब निकोल्सनले परराष्ट्र मन्त्रीसँग टेलिफोन गरी नेपाल सरकार र जनताप्रति हार्दिक समावेदना व्यक्त गर्नु भएको दुताबासले जनाएको छ ।
विदेश मन्त्री निकोल्सनले क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेललाई टेलिफोन गरी हार्दिक समावेदना व्यक्त गर्नुभयो भने क्यानडाका रक्षा मन्त्री जेसन केनी, अन्तर्राष्ट्रिय विकास मन्त्री क्रिस्चिएन प्याराडिसले पनि नेपाली जनता प्रति हार्दिक समावेदना व्यक्त गर्नु भएको छ ।
क्यानडा सरकारले क्यानेडियन रेडक्रस मार्फत भूकम्प पीडितलाई तत्कालीन राहत स्वरुप ५० लाख डलरको मानवीय सहयोग प्रदान गर्ने घोषणा गरको छ भने उक्त सहयोग भुकम्प पीडितलाई खाना, बास, औषधी, पानीका लागि खर्च गरिने जानकारी अन्तरराष्ट्रिय विकास मन्त्री क्रिस्चिएन प्याराडिसले दिनु भएको छ ।
क्यानडाको ओन्टारियो प्रान्तका प्रिमियर क्याथलिन वाइनिले पनि राजदूत पोख्रेललाई टेलिफोन गरी नेपालमा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै नेपाल सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै भुकम्प पीडितहरुका लागि प्रान्तीय सरकारको तर्फबाट १० लाख डलरको सहयता घोषणा गरेको जानकारी दिनुभयो ।
उक्त रकम क्यानेडियन रेडक्रस मार्फत खर्च गरिने छ । त्यस्तै, क्यानडाको क्युवेक प्रान्तका अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्री क्रिस्टिन सेन्ट पिएरले महामहिम राजदूतलाई टेलिफोन गरी प्रान्तीय सरकारको तर्फबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
क्यानडा सरकारले भूकम्पको क्षतिको क्यानडाका तर्फबाट प्रारम्भिक अध्ययन गर्न एक ७ सदस्यीय टोली नेपाल पठाएको छ । विदेश मन्त्रालयको आकस्मिक उत्तरदायी बिभागका निर्देशकको नेतृत्वमा क्यानडिएन सशस्त्र सेना एवं अन्य विभिन्न सरकारी निकायका अधिकारी संलग्न रहेको यो टोलीको अध्ययन पछि क्यानडा सरकारले थप सहयोग गर्ने जानकारी यहाँको विदेश मन्त्रालयलका अधिकारीहरुले दिएका छन् ।
यसैगरी, क्यानडा सरकारले भुकम्प पिडीतहरुका लागि ३६ हजार किलोग्राम राहत सामाग्रीहरु एवं उद्दार विशेषज्ञहरुको टोली नेपालतर्फ प्रस्थान गरेको छ ।
यहाँको विदेश मन्त्रालयसँग सहकार्य गरिरहेको क्यानडाको ग्लोबल मेडिकनामक संस्थाले नेपालका भूकम्प पीडितहरुका लागि सहयोग गर्न चिकित्सक, स्वास्थ्य परिचारिका, उद्धारविज्ञ लगायतको टोली र जीवन रक्षक आपूर्ति सामग्री, पानी, त्रिपाल, पानी निर्मंलीकरण उपकरण, चिकित्सा यन्त्र लगायतका समाग्रीहरु पठाएको नेपाली दुताबासको छापा बिज्ञप्तिमा जनाएको छ ।
क्यानडाका विदेश मन्त्री रब निकोल्सनले क्यानडाको कुनै पनि दर्तावाला च्यारिटी संस्थाले नेपालका लागि उठाउने सबै राहत रकममा बराबर कोषको व्यवस्था गर्ने घोषणा सञ्चार माध्यम मार्फत सार्वजनिक गर्नु भएको छ । क्यानडा रेडक्रसले नेपालका भूकम्प पीडितहरुका लागि ठूलो परिमाणको औषधी उपचार सम्बन्धी सामाग्रीहरु नेपाल पठाई सकेको कुरा जानकारी दुताबासलाई दिइएको छ ।
क्यानडा रेडक्रसको उक्त आपतकालीन सेवामा १ सय २० वटा अस्पताल ओछ्यान ,शल्य उपकरण, त्रिपालहरु लगायतका अत्यावश्यकीय सामाग्रीहरु रहेको जानकारी प्राप्त भएको छ। सेवा कार्यको लागि विशेषज्ञ चिकित्सक टोली, स्वास्थ्य परिचारिका ल्याव प्राबिधिक गरि २५ जना रहने दुताबासले जनाएको छ । उक्त टोलीले अन्य चिकित्सा सेवाका अतिरिक्त गर्भवती एवं नवजात शिशुको उपचारमा ध्यान दिने जानकारी प्राप्त भएको छ ।
सञ्चार माध्यमले नेपालको विनासकारी भूकम्पको गति बिधिलाई अत्यन्त महत्व दिई समाचार प्रकाशन/प्रशारण गरी रहेका छन् भने टेलिभिजन च्यानल एवं रेडियोहरु तथा दैनिक पत्रपत्रिकाहरुले ओटावा राजदूतावाससँग सम्पर्क गरी नेपालको अवस्थाका बारेमा नियमित रुपमा जानकारी एवं अन्तरवार्ता लगायतका समाचारहरु प्रशारण तथा प्रकाशन गरिरहेको दुताबासले जानकारी दिएको छ ।
















प्रतिक्रिया