काठमाडौं, १० वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । विहीबार राती घरेलु मैदान फिरोजसाह कोटलामा भएको खेलमा दिल्लीले मुम्बई इण्डियन्सलाई ३७ रनले पराजित गरेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो ।
पहिलो विकेट मात्र २ रनमा गुमाएको दिल्लीका श्रेयास अईयरले जेपी डुम्नीसँग १५४ रनको साझेदारी गरेपछि दिल्लीले मुम्बईलाई जितको लागि ठूलो लक्ष्य दिन सफल भएको हो ।
डेयरडेभिल्सका लागि अईयरले ५६ बल खेल्दै ८३ रन र डुम्नीले ५० बलको सामना गर्दै अविजित ७० रन बनाएका थिए ।
ठूलो योगफल पछ्याउन आएको मुम्बईका ब्याट्सम्यानले धैर्यताकासाथ खेल्न नसकेपछि मुम्बई ६ खेलमा ५ खेल गुमाउँदै अंक तालिकाको अन्तिम स्थानमा पुगेको छ । मुम्बईले २० ओभरमा ९ विकेटको क्षतीमा मात्र १५३ रन बनाउन सक्यो ।
मुम्बईका लागि पार्थिव पटेलले २८, राहित शर्माले ३० र अम्बाती राइडुले ३० रन बनाएका थिए । दिल्लीका बलरहरु इमरान ताहिर ३ र आशिष मिश्राले २ विकेट लिए । दिल्ली ६ खेलमा ३ जितका साथ चौथो स्थानमा उक्लिएको छ ।















प्रतिक्रिया