कमरेड पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता हुनुहुन्थ्यो । उहाँकै पहल र नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । निरङ्कुश शासन सत्ताको कठोर प्रतिकूलतासँग सङ्घर्ष गर्दै नेपालमा राजनीतिक स्वतन्त्रता र समृद्धिका निमित्त कम्युनिस्ट पार्टीको सगौरव निर्माण भएको हो । हामीले इतिहासका यी कठिन घुम्तीहरुलाई कदापि भुल्न हुँदैन । त्यसबेला कम्युनिस्ट पार्टीका संस्थापक नेताहरुमा कमरेड पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी, मोतीदेवी श्रेष्ठसहित पाँच जना हुनुहुन्थ्यो । उहाँ पार्टीको संस्थापक महासचिव पनि हुनुहुन्थ्यो ।
उहासँग सङ्गत गर्ने मैले धेरै अवसर त पाउन सकिनँ, तर पनि उहाँ मेरो राजनीतिक गुरु मात्र नभई वैचारिक प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । उहाँकै नाम सुनेर म विशेषगरी कम्युनिस्ट राजनीतिमा आकर्षित भएको थिएँ । २०२१–२२ साल, जतिखेर म स्कुल जीवनमा थिएँ, त्यसैबेला मैले पार्टीको सदस्यता पाएको थिएँ । मलाई सुरुमा ‘पार्टी–सेल’ मा सङ्गठित गरिएको थियो । विद्यार्थी र किसानबीचको काम मेरो कार्यक्षेत्रमा पर्दथ्यो ।
परिस्थितिको परिवर्तनसँगै स्थानीय तहमा पार्टीहरु पुनर्गठित हुन थाले । यस्तो अवस्थामा पार्टीको नीति, कार्यक्रम र सम्पर्कको आवश्यकता पर्न थाल्यो । तर, निरङ्कुश पञ्चायती शासनकालमा नेताहरुसँगको भेटघाट त्यति सजिलो थिएन । पार्टी भूमिगत भएकाले गोपनीयताका धेरै पक्षमा ख्याल राख्नु पर्दथ्यो ।
लामो प्रयत्नपछि २०२७ सालमा केही साथीहरुसहित हामीले कमरेड पुष्पलालसँग भेटघाटको व्यवस्था मिलायौँ । भारतको दरभङ्गामा उहाँको एकजना मित्र डा. भीएन सिंह हुनु हुँदोरहेछ । उहाँकै घरमा हाम्रो भेट भएको थियो । दरभङ्गा आउँदाजाँदा कमरेड पुष्पलाल प्रायः त्यहीँ बस्नु हुँदो रहेछ । उहाँका घर परिवार पनि मिलनसार हुनुहुँदो रहेछ । घरमा डाक्टरको पिताजी पनि हुनुहुन्थ्यो । एकदिन हामीहरु खाना खाएर कोठामा आराम गरिरहेका थियौँ, पिताजी एक्कासी कोठामा आएर सोध्नुभयो– ‘क्या आप राजाको तख्ता उलट्नेको हिम्मत रख्ते हैं ?’ हामीले भन्यौँ – ‘हुँ, हम इसतरहका हिम्मत रखकर ही नेताजीको मिल्ने आय हैँ ।’ बूढा मानिस ‘ठीक हैं’ भन्दै बाहिर निस्के ।
त्यो घरमा बसेको करिब एक हप्तापछि डाक्टरको श्रीमती माइतबाट फर्कनुभयो । उहाँको माइत मद्रास रहेछ । एकदिन हामीलाई डाक्टरको श्रीमतीले आफ्नै मैथिली भाषामा ‘यो तपाईंहरुको नेपालमा हुँदैन होला, धेरै छैन, थोरै मात्र छ । मद्रास मेरो माइतीबाट ल्याएको नयाँ कुरा हो, चाखिहाल्नूस्’ भनेर दुई–दुई टुक्रा पुग्ने गरी एउटा प्लेटमा ‘तरुल’ जस्तो खानेकुरा दिनुभयो । आफूसँग भएका नौलो कुराहरु जति पुग्छ, बाँडचुँड गरेर खाने त्यो परिवारको राम्रो संस्कृति रहेछ । हामीले त्यसलाई बढो आत्मीयतापूर्वक मीठो मानेर ग्रहण गर्यौँ । त्यसको नाम भनिएको त थियो । तर, मलाई सम्झना भएन ।
२०४० सालको नृशंस पिस्कर हत्याकाण्डपछि पार्टीले मलाई वागमती क्षेत्रबाट मेचीको कार्यक्षेत्र खटायो । त्यसपछि म झापा, इलाम र पाँचथरतिर पुग्दा त्यहाँका किसानहरुले खाजाको रुपमा ‘तरुल’ जस्तो खानेकुरा दिनुभयो । तब मैले दरभङ्गामा पनि ‘सिमल तरुण’ खाएको थाहा पाएँ ।
पार्टीलाई सक्रिय बनाउन तथा आन्दोलनलाई गति प्रदान गर्ने उद्देश्यले २०२६ साल मङ्सिरमा सिन्धुपाल्चोक जिल्लामा नेकपाको पहिलो जिल्ला सम्मेलन भएको थियो । यो काम हामीले सरकारको आँखा छलेर अत्यन्त गोप्य रुपमा गरेका थियौँ । पाङ्ग्रेटारको स्वाँरा भन्ने गाउँमा कमरेड शङ्कर नेपालको घरमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले एउटा छरितो पार्टी जिल्ला कमिटी पनि निर्माण गरेको थियो । म त्यस जिल्ला कमिटीको एकजना सदस्य थिएँ । त्यसले हाम्रो उत्साह र सक्रियतालाई अझै बढाएको थियो ।
पार्टी जिल्ला कमिटीको निर्माण भइसकेको र जनकपुर तथा वागमती अञ्चलका धेरै जिल्लाहरुमा सम्बन्ध–सम्पर्क विस्तार भएको र स्थानीय तहमा सङ्गठनहरु बनेको परिप्रेक्ष्यमा पार्टी निर्माण तथा ग्रामीण वर्गसङ्घर्ष सञ्चालन लगायत धेरै विषयमा पार्टीका धारणाहरु बुझ्न हामीलाई आवश्यक थियो । त्यसका निमित्त हामी ‘पार्टी हेडक्वार्टर’ सँगको सम्पर्कको प्रयत्नमा थियौँ । यसैक्रममा २०२७ सालको पुस महिनामा कमरेड पुष्पलालसँग भेटघाट गर्ने चाँजो मिलाइयो । त्यसरी भेटघाट गर्नेमा काठमाडौँबाट विष्णु डङ्गोल, काभ्रेबाट लक्ष्मण सुन्दर सैँजु, सिन्धुपाल्चोकबाट जयराम पराजुली र म समेत चारजना थियौँ । जयराम शर्मा त्यसबेला पार्टीको जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । अहिले उहाँहरु सबैको राजनीतिक अवस्थाबारे यकिन भन्न नसके पनि त्यसबेला भने उहाँहरु पार्टी काममा क्रियाशील हुनुहुन्थ्यो ।
पार्टी काममा हिँड्दा खर्चबर्चको सधैँ अभाव हुने गर्दथ्यो । सहयोगीहरु अहिलेजस्तो धेरै हुँदैन थिए । त्यसो हुँदा सकेसम्म हामी खर्च कम गरेर काम चलाउँथ्यौँ । काठमाडौँबाट वीरगञ्ज जाने बस त पाइन्थ्यो, तर बसको भाडा बढी भएकाले हामीले बस नचढ्ने निर्णय गर्यौँ । बस भाडाको पैसाले हामीलाई बाटोको अन्य खर्च चल्दथ्यो । जनही तीन रुपैयाँ तिरेर काठमाडौँ, कालिमाटीबाट ट्रक चढेर हामी साँझ वीरगञ्ज पुग्यौँ । आपूmले आदर गरेका तथा पार्टीका जिम्मेवार नेतासँग भेट्ने उत्सुकताले हाम्रो थकाइ हराएको थियो । त्यसैरात हामी रक्सौलबाट रेल समाती बिहान दरभङ्गा सम्पर्क बिन्दुमा पुग्यौँ । त्यो रेलयात्रा पहिलो र नौलो थियो ।
उहाँ अघिल्लो दिन नै बनारसबाट त्यहाँ आइसक्नु भएको रहेछ । केही प्रयत्नपछि हामी सम्पर्क स्थानमा पुग्यौँ । उहाँले उत्साहित मुद्रामा अत्यन्त खुसी हुँदै हामीसँग हार्दिकता र गरमजोशका साथ हात मिलाउनुभयो । सञ्चो–बिसञ्चो, बाटोघाटो यात्रा आदिका सामान्य कुराकानीपछि हामी निर्धारित आश्रयतर्फ लाग्यौँ । त्यसबेला उहाँलाई पार्टीमा ‘माइला दाइ’ र ‘कमरेड गुरुङ’ भन्ने गरिन्थ्यो । माइला दाइ उहाँको आदरणीय नाम भइसकेको थियो ।
मैले कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्न पाएको यो पहिलो अवसर थियो । हामीले देख्ने गरेका अरु नेताहरुभन्दा उहाँको आचरण र जीवनशैलीमा निकै ठूलो अन्तर थियो । मैले सोचेको थिएँ, उहाँको रहन–सहन र जीवनशैली विशेष प्रकारको होला तर त्यस्तो थिएन । एकजना भूमिगत र कम्युनिस्ट नेताका ेजीवनशैली विलासी हुने प्रश्नै थिएन । वास्तवमा उहाँ ज्यादै सरल र सादा जीवनशैली रुचाउने क्रान्तिकारी नेता हुनु हुँदोरहेछ । उहाँको बोलीचाली, भाषाशैली सरल स्पष्ट थिए ।
कुराकानीको प्रत्येक पलमा उहाँले किसान, जनसमुदायबीच पार्टी निर्माण गर्ने र सामन्ती शोषण विरोधी आन्दोलन उठाउने कुरामा जोड दिनुहुन्थ्यो । ‘सङ्गठन विना कुनै कुरा हुन सक्दैन,’ उहाँको भनाइ थियो, ‘सामन्ती शोषण विरोधी स्थानीय आन्दोलनलाई उठाउँदै त्यसलाई राष्ट्रिय रुप दिनुपर्दछ । वर्गीय रुपमा जनतालाई नउठाई वास्तवमा केही हुँदैन । यसका निमित्त हाम्रा साथीहरुले किसानजस्तै सादा र सरल हुन सक्नुपर्दछ ।’
मेरो त्यो भारत भ्रमण पहिलो थियो । हामी निरङ्कुश पञ्चायती बन्द समाजबाट लोकतन्त्र भएको खुला समाजमा पुगेका थियौँ । हामीले दरभङ्गा सहर घुम्दा कतिपय ठाउँमा हँसिया हथौडा अङ्कित पोस्टरहरु देख्यौँ । हामीलाई धेरै खुसी लाग्यो । हामीले माक्र्सवादी पुस्तक पसलहरु पनि हेर्यौँ । कतिपय पुस्तक मन परे पनि सीमानामा समस्या हुने हुँदा ल्याएनौँ । हामी कपाल काट्न एउटा ‘सैलुन’मा पसेका थियौँ । हामीलाई त्यहाँ लाने साथीले सैलुनका मानिससँग परिचय गराउँदै भने, ‘यी अपन कमरेड छी’ त्यसपछि लालसलाम भन्दै जोडले हात मिलाए । हामी त एकैछिन डराएजस्तो अनुभव हेर्यौँ । त्यतिखेर हामीले आपूm भारतमा छौँ भन्ने कुरा बिर्सेछौँ । कमरेड पुष्पलालसँग धेरै कुरा भए । गणतन्त्र नेपालको निर्माण गर्ने र समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो । तर, हामीले राजनीतिक स्वतन्त्रताका लागि लड्नुपर्छ । पार्टीलाई खुल्ला नगराएसम्म आमजनतालाई राजनीतिक रुपमा गोलबन्द गर्न सजिलो हुँदैन । उहाँ भन्नुहुन्थ्यो, ‘राजाले सीमित अधिकारको भए पनि हाम्रो अधिकार खोसेका छन् र संसदीय व्यवस्था खाइदिएका छन् ।’ तसर्थ हामीले ‘विघटित संसद्को पुनःस्थापना’ को कुरा उठाएका हौँ । यो जस्तालाई तस्तै अर्थात् भालुलाई ‘छेराउन’ खोज्नुजस्तै हो ।
उहाँसँग धेरै सङ्गत गर्ने मौका नपाए पनि हामीले त्यसबेला १४–१५ दिन बसेर जुन राजनीतिक र सैद्धान्तिक छलफल हेर्यौँ , त्यो हाम्रा निमित्त धेरै उपयोगी भयो । हाम्रो त्यो भेटघाटमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयका धेरै महत्वपूर्ण कुराहरु भए । अन्तर्राष्ट्रिय विषयका धेरै महत्वपूर्ण कुराहरु भए । समसामयिक राजनीतिक सैद्धान्तिक कुराबाहेक भूमिगत पार्टी निर्माण र वर्गसङ्घर्ष सञ्चालनका रुप, तरिका, एकजना कम्युनिस्ट पार्टीका सदस्यले निर्वाह गर्नुपर्ने क्रान्तिकारी भूमिका आचरण, शैली र व्यवहार तथा त्यसबेला नेपाली कम्युनिस्ट आन्दोलनको अवस्था एवम् विशेष गरी ‘माझीपन्थी रुझान’ का विषयमा पनि धेरै छलफल भएका थिए । त्यसबाट हामीलाई नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका गलत विचार र प्रवृत्तिबारे बुझ्ने राम्रो अवसर प्राप्त भएको अनुभूति भयो ।
पुष्पलालको व्यक्तित्व आकर्षक र व्यवहार धेरै सरल थियो । भेषभूषा सामान्य भए पनि सफा ढङ्गले बस्न रुचाउनु हुनेरहेछ । कुराकानी गर्ने शैली अत्यन्त रोचक र प्रभावकारी थियो । उहाँका प्रत्येक प्रस्तुतिहरु अत्यन्त जोशिला हुन्थे । हामीले राखेका जस्तासुकै समस्या पनि उहाँ कुनै झिँझो–झर्को नमानी सुन्ने र पुस्तकका सन्दर्भ तथा ऐतिहासिक तथ्यसहित जवाफ दिने गर्नुहुन्थ्यो । उहाँको जोड थियो– ‘समाजवादविना राष्ट्र र जनताको समृद्धि हुन सक्दैन । त्यसैले सामन्ती राजतन्त्रलाई फ्याँक्नुपर्छ । जतिसुकै कष्टपूर्ण भए पनि पार्टी काममा निरन्तर लाग्दै जनआन्दोलनको आँधी सिर्जना गर्नुपर्दछ ।’
राजा र राजतन्त्रप्रति उहाँको भनाइ थियो– ‘नेपालमा राजनीतिक, आर्थिक एवम् सामाजिक विकासको अवरोध नै राजतन्त्र हो । राजतन्त्रकै कारण पार्टीहरु फुटे, फुटाइए र २००७ सालपछि प्राप्त ‘सीमित प्रजातन्त्र’ पनि गुम्न पुग्यो । तसर्थ, सामन्ती राजतन्त्र र यसको अधिनायकवादी पञ्चायती व्यवस्था विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नुपर्दछ ।’
कार्यकर्ता पार्टीका सम्पत्ति हुन् । आमजनतालाई जगाउने काम पार्टीका कार्यकर्ताको हो । छलफलको क्रममा पुष्पलालले जोड दिँदै भन्नुहुन्थ्यो– ‘पार्टीमा पेशेवर क्रान्तिकारी कार्यकर्ता अर्थात् पूर्णकालीन कार्यकर्ताको ठूलो खाँचो छ । कार्यकर्ता नभई पार्टीलाई गाउँगाउँमा पु¥याउन सकिँदैन । त्यसैले पार्टीमा क्रान्तिकारी सिद्धान्तले लैस आत्मबलिदानको भावनाले ओतप्रोत इमानदार र अनुशासित हजारौँ पेशेवर कार्यकर्ताहरु भर्ना गर्दै प्रशिक्षित गर्नुपर्छ ।’ उहाँले त्यसमा बारम्बार जोड दिनुहुन्थ्यो र पूर्णकालीन बन्न हामीलाई प्रेरित गर्नुहुन्थ्यो । जनताको मुक्ति र प्रजातन्त्रका खातिर चिन्तित भएर उहाँले गरेको बारम्बारको आग्रह र अभिप्रेरणालाई हार्न नसकेर त्यसैबेलादेखि मैले आफ्नो सबै पठन–पाठन र घरायसी काम छाडी ‘पूर्णकालीन’ भएर पार्टी काम गर्ने सङ्कल्प गरेको थिएँ ।
पुष्पलालको हँसिलो मुख–मुद्रा, ओजिलो व्यक्तित्वसँग दरभङ्गाको रमाइलो त्यो क्षण र राजतन्त्र पल्टाउने गम्भीर वार्तालापको स्मृति मेरो मनमस्तिष्कमा त्यतिकै ताजा रहेको छ । खाने–बस्ने र हामीले पालना गर्नुपर्ने रीतिथितिका सामान्य कुराकानीपछि हामी ‘माइला दाइ’ सँग छलफलमा बसेका थियौँ । ‘पहाड–पर्वत, खोलानाला, जग्गाजमिन सबको, मालिक हामी दास बन्यौँ किन, हिस्सा सबमा सबको ।’ यही कवितालाई अत्यन्त मीठो र जोशिलो शैलीमा उच्चारण गर्दै उहाँले आफ्नो कुराको थालनी गर्नुभएको थियो । तमाम् वर्गीय शोषण, असमानता र विभेदको अन्त्य गर्दै गरिखाने कामदार वर्गको हित, प्रतिष्ठा र सम्मानको निमित्त सङ्घर्ष गर्ने क्रान्तिकारी सपना हामीले उहाँका अनुहारमा झल्झली देख्दथ्यौँ । उहाँ भन्नुहुन्थ्यो, ‘थोत्रो समाजलाई बदल्ने हिम्मत हामीले गर्नैपर्छ । लाछी र कायरहरुले समाज बदल्ने क्रान्तिको नेतृत्व गर्न सक्दैनन् ।’
मलाई हेर्दै र नारी छाम्दै भन्नुभयो, ‘पहाडको चिसो पानी पिएको जस्तो लाग्यो, आँट कतिको दह्रो छ ?’ मैले ‘आँट दह्रो भएर नै पार्टीमा लाग्ने सङ्कल्प गरेको हो’ भन्ने जवाफ दिएपछि उहाँ धेरै खुसी हुनुभएको थियो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सम्बन्धमा त झन् छलफल नहुने कुरै भएन । त्यसबेला तत्कालीन समाजवादी देश सोभियत सङ्घ र चीनबीच ठूलो विवाद चर्केको थियो । कसैले सोभियत सङ्घ, कसैले चीन ठीक भन्थे । त्यसबेला सोभियत सङ्घलाई ‘समाजवादी’ होइन, ‘सामाजिक साम्राज्यवादी’ भन्ने पनि विवाद थियो । त्यसको प्रत्यक्ष असर हरेक देशको कम्युनिस्ट आन्दोलनमा परेको थियो । यस्तै विवाद गरेर विश्वका धेरै पार्टीहरु फुटेका थिए । त्यस विषयमा पुष्पलालको धारणा थियो– ‘अरुको कुरामा भन्दा आफ्नै विषयमा चिन्ता र चासो हुनुपर्यो । अर्काका कुरामा अनावश्यक विवाद गरेर हामीले केही फाइदा पाउन सक्दैनौँ । सोभियत कम्युनिस्ट पार्टीले केही भूल अवश्य गरेको छ तर त्यसलाई सच्याउने जिम्मा त्यहीँका कम्युनिस्टहरुको हो ।’
कमरेड पुष्पलालको बारेमा मैले कतिपय नकारात्मक कुरा पनि सुनेको थिएँ, जस्तो कि पुष्पलाल ‘विलासी’ छन्, ‘घमण्डी’ छन् र ‘जिद्दीवाल’ छन्, ‘नाम कमाउने रहरले भूमिगत बसेका हुन्’, ‘उनी पार्टी एकता चाहँदैनन्’ आदि । तर, त्यस भेटघाटपछि हामीलाई धेरै कुराहरु स्पष्ट भए । मानिसहरुले जीवनमा कुनै कमजोरी गर्दैनन् । उहाँका पनि कमजोरीहरु थिए होलान् । तर, उहाँ क्रान्ति र पार्टीबारे चिन्ता राख्ने एक समर्पित कम्युनिस्ट नेता हुनुहुन्थ्यो । कुराकानीको प्रसङ्गमा हामीले ‘तपाइँ साथीहरुसँग त्यति मिल्न सक्नुहुनन्न रे ! त्यसैले गर्दा पार्टी एकजुट हुन नसकेको हो’ भन्ने कुरा कुरा पनि उठायौँ । तर, उहाँ अलिकति पनि नरिसाइकन उठेका प्र्रश्नलाई प्रस्ट पार्ने प्रयास गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेताहरुमा इमान चाहिन्छ । हामीले झुठ्ठा कुरा गर्नुहुँदैन । पार्टीमा सबै नेताहरुलाई अटाउन र मिलेर काम गर्न धेरै प्रयास गरियो । तर, किन हो साथीहरु ठूलो घर छाडेर कोठा खोज्नतिर लाग्नुभयो ।’
त्यसको अर्थ थियो, पार्टीमा गुटबन्दी र फुट । यो प्रसङ्गमा उहाँ अति गम्भीर र दुःखित हुँदै ‘पार्टी र जनताको स्वार्थभन्दा ठूलो कुरा के छ र ? पार्टीलाई एकजुट नगरी कसरी लक्ष्यमा पुग्न सकिन्छ ? क्रान्तिकै लागि दुःख खपेर, घरपरिवार छोडेर हामी भूमिगत बसेका छौँ । अहिले विभिन्न नेताहरुलाई एकै ठाउँमा जुटौँ भनेर सम्पर्क–सम्बन्ध जोड्ने प्रयास भएको छ । कतिपय मतभेद हुन सक्दछन् । मेरा आफ्ना पनि कमजोरी होलान् । अन्तरपार्टी छलफलबाट टुङ्गो लगाउन सकिन्छ । तर, यो प्रयास सम्भव भइरहेको छैन । एकजुट गराउन तपाइँहरुले पनि भूमिका खेल्नुपर्छ’ भन्ने उहाँको जोड थियो ।
तर, एउटा कुरामा भने कमरेड पुष्पलाल बारम्बार जोड दिनुहुन्थ्यो र आक्रोशपूर्ण मुद्रामा भन्ने गर्नुहुन्थ्यो, हामीले पार्टी एकताको नाममा ‘राजापरस्त माझी पन्थी लाइन’ सँग कहिल्यै सम्झौता गर्नुहुँदैन । हामीले बुझ्नुपर्छ, ‘राजदरबार नै कम्युनिस्ट आन्दोलनमा विवाद ल्याउने जड कारण हो ।’ यो सत्यलाई बिर्सनु हुँदैन । उहाँको विश्लेषण साँच्चै नै सही र सटिक थिए ।
जनवादी क्रान्तिका बारेमा छलफल गर्न आग्रह गर्दै उहाँले सिद्धिलाल सिंह र देवेन्द्रलाल श्रेष्ठ ‘काइँला बा’ लाई एउटा सङ्क्षिप्त पत्र पनि लेख्नुभएको थियो । त्यो पत्र फर्कने बेला हामीलाई दिनुभएको थियो । त्यसबेला उहाँहरु पाटनमा हुनुहुन्थ्यो । पत्र हामीले कुनै स्रोतबाट उहाँहरुको हातमा पारिदिएका थियौँ । तर, त्यसको जवाफ पुष्पलालले पाउनुभयो वा भएन ? हामीलाई जानकारी भएन । पार्टीलाई एकजुट गराउनुपर्दछ भन्ने पक्षमा हुनु हुँदोरहेछ भन्ने चाहिँ हामीलाई थाहा भयो ।
पुष्पलालमा अदम्य साहस थियो । परिवर्तनप्रतिको विश्वास त्यत्तिकै गहिरो थियो । उमेरमा पाकै भए पनि व्यवहारमा युवा–तन्नेरीजस्तो उत्साहित र फुर्तिलो देखिनुहुन्थ्यो । हामीलाई उहाँले मजदुर–किसान जनतालाई शोषणविरुद्ध सङ्गठित र आन्दोलन गर्ने राजनीतिक कलाबारे अत्यन्त व्यवस्थित ढङ्गले बताउनुभएको प्रसङ्ग मैले ताजै रुपमा सम्झिरहेको छु । जनआन्दोलन उठाउन पार्टी कार्यकर्ताहरुले जनताबीच जानैपर्छ र त्यसो नगरी कोठामा बसेर वा सामान्य आह्वानले मात्र कहिल्यै क्रान्तिकारी आन्दोलन उठ्न नसक्ने तथ्यलाई विभिन्न देशका उदाहरण सहित हामीलाई बताउनुभएको थियो । ‘सिद्धान्त, सङ्गठन र सङ्घर्ष’ यी हाम्रा तीन मुख्य हतियार हुन् । जसबाट हामी विमुख भयौँ भने हामी कम्युनिस्ट हुन सक्दैनौँ भन्ने उहाँको भनाइ थियो ।
आन्दोलन नै पार्टीको प्राण हो भन्ने पुष्पलालको मान्यता थियो । उहाँ भन्नुहुन्थ्यो, ‘पञ्चायत ढाल्न ‘संयुक्त जनआन्दोलन’ नै चाहिन्छ । हामीले छिटो संयुक्त जनआन्दोलनको वातावरण बनाउनुपर्छ । सबै राजनीतिक दलहरु राजनीतिक स्वतन्त्रताको पक्षमा छन् । तिनीहरुलाई एकताबद्ध गर्न प्रयत्न गर्नै पर्दछ । संयुक्त जनआन्दोलन नगरी निरङ्कुश व्यवस्थालाई फ्याँक्न र गणतन्त्र ल्याउन सकिँदैन । त्यसैका लागि हामीले संयुक्त जनआन्दोलनमा जोड गरेका हौँ । तर, काङ्ग्रेसहरु यो कुरा बुझिरहेका छैनन् । उनीहरुमा कम्युनिस्टप्रति विशेष प्रकारको ‘पूर्वाग्रह’ छ । त्यसैकारण उनीहरु पञ्चायतविरुद्ध आन्दोलनको कुरा गरे पनि संयुक्त आन्दोलनमा आउन हिच्किचाउँछन् । त्यसबेला नेपाली काङग्रेसहरु यो कुरा बुझ्न सकिरहेका छैनन् । उनीहरुमा कम्युनिस्टप्रति विशेष प्रकारको ‘पूर्वाग्रह’ छ । यति भएपनि एकदिन काङ्ग्रेस कम्युनिस्टहरुको साथ आन्दोलनमा आउन बाध्य हुनुपर्नेछ । पुष्पलालले दुःखित हुँदै भन्नुहुन्थ्यो– ‘संयुक्त जनआन्दोलनको कुरा उठाउँदा मलाई ‘काङ्ग्रेसको पुच्छर’ भएको आरोप लगाउने गरिन्छ । यो अल्पविश्लेषणको उपज मात्र हो ।’
‘निरङ्कुश पञ्चायती शासनका विरुद्ध सम्पूर्ण प्रजातान्त्रिक राजनीतिक शक्तिलाई संयुक्त रुपमा आन्दोलनमा उतार्ने’ भनी तत्कालीन नेकपा (माले) को २०४६ भदौमा आयोजित सिरहा जिल्ला बिसनपुरको अम्बास गाउँमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले लिएको नीति थियो । सारमा भन्दा यो संयुक्त जनआन्दोलनको नीतिकै निरन्तरता थियो । २०४६ र २०६२/६३ का ऐतिहासिक जनआन्दोलनको सफलता त्यसकै परिणाम थिए । यसरी संयुक्त जनआन्दोलनका वास्तविक प्रणेता पुष्पलाल नै हुनुहुन्थ्यो भन्ने तथ्य बलियो गरी प्रमाणित भएको छ ।’
‘पार्टीमा नीति प्रधान हो, नेता प्रधान होइन’ सङ्गठनात्मक जीवनको सन्दर्भमा पुष्पलाल बारम्बार यो कुरा दोहो¥याउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘पार्टी नीति र विचारको आधारमा निर्माण हुनुपर्छ । व्यक्तिको गुणगान गाएर तथा व्यक्तिलाई सबै कुराको केन्द्र बनाएर पार्टी बलियो हुँदैन । पार्टी विधिसङ्गत र सामूहिक भावनाको साथ सञ्चालन हुनुपर्छ ।’
‘इतिहास कहिलेकाहीँ अति नै निर्मम हुन्छ ।’, २०१७ को फौजी कदमको संस्मरण गर्दै पुष्पलालले भन्नुहुन्थ्यो, ‘१८ महिना पनि काम गर्न नपाउँदै राजा महेन्द्रले संसदीय सरकारलाई भङ्ग गरे । सीमित अधिकार भएको संसदीय व्यवस्थालाई पनि सहन नसकेर त्यसलाई खारेज गरी पञ्चायती निरङ्कुशता लादे । यो राजाको जङ्गली महत्वाकाङ्क्षाको परिणाम थियो । राजनीतिक दलहरुबीचको मनमुटाव र असक्षमताबाट उनले यो फाइदा उठाएका थिए । भूमिगत भएर पार्टी निर्माण गर्ने वा राजाका सामु आत्मसमर्पण गर्ने गम्भीर प्रश्न हाम्रा सामु आए रायमाझीले आत्मसमर्पण गरे । हामीले राजाको निरङ्कुश कदमको विरोध ग¥यौँ । ‘दरभङ्गा प्लेनम’ पार्टीलाई पुनः जीवन दिने एउटा महत्वपूर्ण कदम थियो ।’ उहाँले यसो भनिरहँदा संयोगवश हामीहरु दरभङ्गामै बसेर कुरा गरिरहेका थियौँ ।
२०१७ सालपछिको अवस्था ज्यादै कहालीलाग्दो थियो । पुष्पलाल भन्नुहुन्थ्यो– ‘हाम्रा सामु गम्भीर समस्या आए । पार्टी चलाउन पैसा थिएन, सम्पर्कहरु टुटेका थिए, एकअर्काप्रति विश्वासको वातावरण थिएन । नेताहरुबीच मतभेदहरु थिए । जनतामा निराशा थियो भने जताततै पञ्चायती आतङ्क थियो । हामीलाई देखे पक्रिने मात्र होइन, गोली हान्ने स्थिति थियो । बस्ने आश्रयहरु थिएनन् । तर, डराएर त पार्टी बन्दैन थियो । त्यस्तो बेला कैयन रात भोकै र तिर्खै बसेको ‘अखबारका पाना’ ओछ्याएर ‘रेलका प्लेटफर्म’हरुमा रात बिताएको, खर्च नभएर अनेकौँ दुःख पाएको र चनाको सातु खाएर मुस्किलले पार्टी निर्माण गरेको जस्तो मार्मिक प्रसङ्गहरु उहाँबाटै सुन्दा हामी ज्यादै भावुक बनेका थियौँ । यस्तो स्थितिमा सहानुभूति र सहयोगको बदला उल्टै असहयोग र आरोपहरुको सामना गर्नु प¥यो रे ! यदि कठिनाइबाट भागेको भए के पार्टी निर्माणको प्रक्रिया अघि जान सक्थ्यो ?’ उहाँले गम्भीर प्रश्न उठाउनुभयो । उहाँले अझै भन्नुभयो, ‘हामी कम्युनिस्टहरुको जीवन नै सङ्घर्षमय छ । अनुकूलतामा धेरै मित्रहरु हुने गर्छन् । सच्चा मित्रको पहिचान त कठिनाइकै बेला हुनेगर्छ ।’ वास्तवमा उहाँका यस्ता वाक्यहरुले मलाई आजसम्मै कठिनाइसँग जुध्ने साहस प्रदान गरेको अनुभव छ । जबसम्म भूमिगत भएर देशका अनेकौँ भागमा पार्टी निर्माणमा लाग्न थाले । अनि हाम्रो व्यवहारमा त्यस्तै कष्टपूर्ण, चुनौतिपूर्ण दिनहरु आउन थाले । तब मलाई उहाँका मार्मिक भनाइहरुले आँटिलो बन्ने प्रेरणा बढी दिए ।
पार्टीलाई जनताबीच लाने कुरामा पुष्पलाल असाध्यै जोड दिनुहुन्थ्यो । पार्टीलाई ‘गरिब किसानबीच लैजाऊँ’ भन्ने उहाँको नारै थियो । उहाँले हामीलाई बारम्बार भन्नुहुन्थ्यो, ‘जनआधारित पार्टी बनाउनुपर्छ । पार्टीलाई ‘कविला’ अर्थात् उत्पीडित जाति र दलितहरुबीच लानु पर्दछ । पार्टीको मुख्य आधार मजदुर, किसान नै हुनुपर्दछ । नेपालमा किसानको समस्या हल नभई राष्ट्रिय समस्याको हल हुन सक्दैन । गरिब र श्रमजीवी जनताबाट विमुख भयौँ भने हाम्रो जनवादी आन्दोलन कमजोर हुन जान्छ । वर्गसङ्घर्ष र राजनीतिक आन्दोलनबिना पार्टी जुझारु हुन सक्दैन । अवसरवादीहरुमाथि भरोसा गर्दा धोका पाइन्छ । उनीहरु त ‘ताक परे तिवारी नत्र गोतामे’ हुन्छन् ।’ उहाँका भनाइ सुन्दा लाग्थ्यो, पार्टीभित्रका मौकावादीहरुले उहाँलाई धेरै दुःख दिएका रहेछन् ।
अध्ययन नेताहरुको अर्को महत्वपूर्ण कार्य हो । पुष्पलाल आफैँ पनि अध्ययनमा ज्यादै मेहनती हुनुहुँदोरहेछ । उहाँको भनाइ थियो, ‘आफ्नो वैचारिक, सैद्धान्तिक स्तरलाई नबनाई हामीले विरोधीका भ्रम चिर्न सक्दैनौँ ।’
उहाँ हरेक कुराको तुलनात्मक अध्ययन गर्नुहुँदो रहेछ । उहाँले ‘नेपालमा मातृसत्तात्मक समाज’, ‘जनआन्दोलन एक समीक्षा’ आदि खोजपूर्ण पुस्तक तयार गर्नुभएको थाहा भयो । हामीलाई पनि नेपालको इतिहास र नेपाली समाजको विशेषताबारे खोज, अध्ययन गर्न निकै प्रेरित गर्नुभएको थियो । एकै क्षण पठनपाठन र डिग्रीको प्रसङ्ग पनि चल्यो ।
उहाँले मलाई कमरेड तपाइँले कति अध्ययन गर्नुभएको छ ? भनी सोध्नुभयो । मैले आफ्नो कुरा सिधा बताएँ– ‘अहिले दश कक्षामा पढिरहेको छु । प्रवेशिका पास गरेपछि कलेज पढ्न इच्छा छ ।’
यो सुनेपछि उहाँले गम्भीर भएर मलाई भन्नुभयो, ‘अहिले पार्टीमा काम गर्ने ‘पूर्णकालीन’ साथीहरुको ज्यादै खाँचो छ । मैले पनि कहाँ पढेको छु र ! एसएलसी मात्र पास गरेको छु ।,’ उहाँले भन्नुभयो, ‘औपचारिक शिक्षाले मात्र केही हुँदैन । मूख्य कुरा जनताबीच जानु र सिक्नु नै हो । राजनीतिक काम र सङ्घर्षले हामीलाई धेरै कुरा सिकाउँदछन् ।’
त्यसबेला उहाँको हातमा एउटा ‘अन चाइनिज रिभोलुसन’ भन्ने स्टालिनको अङ्ग्रेजी पुस्तक थियो । त्यो देखाउँदै ‘माइला दाइ’ ले भन्नुभयो– ‘म यो राम्ररी पढ्न सक्छु, पार्टी कामकै दौरानमा मैले सिकेको हुँ । मैले विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद पनि गरेको छु । त्यसैले सिक्न र जान्न कुनै कलेज नै जानुपर्छ भन्ने छैन । तपाइँले पनि पढेर मात्र के गर्नुहुन्छ र ? आज नेपालमा यति धेरै जनताले दुःख पाएका छन् । निरङ्कुश राजतन्त्रको शासनमुनी अत्यन्त कठिन जीवन बाँचिरहेका उनीहरुलाई मुक्ति दिने सङ्घर्षमा लाग्न हाम्रो पहिलो काम होइन ? यदि हामीले समाज परिवर्तन गर्ने चेतना पाएर फेरि निजी हितकै कुरा गछौँ भने जनताले कहिले मुक्ति पाउलान् ?’ मेरो मनमा पुष्पलालका उपरोक्त प्रश्नहरुले सुइरो जसरी रोपिरहेछ । म सँग जवाफ फर्काउने कुनै तर्क भएन । अनि त्यसैबेलादेखि मैले राजनीतिलाई सर्वोपरि ठान्दै पार्टीको काममा लाग्ने अठोट गरेँ । त्यसैबेलादेखि आजसम्म म एकजना पूर्णकालीन सदस्यका रुपमा जनता र राष्ट्रको सेवामा निरन्तर लागिरहेको छु । मलाई यसमा गर्वको अनुभूति हुन्छ ।
कमरेड पुष्पलालप्रति म ज्यादै आभारी छु । उहाँले नै मलाई कम्युनिस्ट राजनीतिमा लाग्न प्रेरित गर्नुभएको थियो । मैले उहाँबाटै प्रारम्भिक कम्युनिस्ट शिक्षा पाएको थिएँ । उहाँसँगको त्यो भेट नै मेरो पहिलो र अन्तिम भेट भयो । तर, छोटो भेट भएपनि त्यसबेला परेको छाप अमीट रहेको छ ।
२०२९ सालमा बनारसमा नेकपाको चौथो सम्मेलन भएको थियो । त्यसमा सहभागी हुने मेरो सम्भावना थियो । तर, प्रतिकूल राजनीतिक स्थिति र पार्टीभित्र देखा परेको मतभेद अनि टुटेको सम्पर्कका कारण म त्यस महत्वपूर्ण अवसरमा सहभागी हुन सकिनँ । केही समयपछि सम्मेलनले पारित गरेको ‘नेकपा र यसको कार्यपद्धति’ भन्ने राजनीतिक दस्तावेज मैले पढ्न पाएको थिएँ । ती दस्तावेज ‘माइला दाइ’ले नै पेश गर्नुभएको थियो । त्यो पढ्दा मलाई उहाँसँग भेटेजस्तै अनुभूति भयो । तर, एउटा ऐतिहासिक अवसरबाट वञ्चित हुनुपरेकोमा अहिलेसम्म मलाई दुःख लाग्छ । जे भए पनि पुष्पलालसँगको भेट मेरो मनमा जुन प्रकारका अनुभव र छापहरु छन्, तिनलाई म कहिल्यै बिर्सन सक्दिनँ । उहाँ जीवनपर्यन्त पार्टी र आन्दोलनको हितमा लागिरहनुभयो । आफ्नो लामो राजनीतिक यात्राको क्रममा उहाँले जतिसुकै अप्ठ्यारो सामना गर्नुपरे पनि प्रतिक्रियावादी शासकसँग कहिल्यै झुक्नुभएन । फलतः उहाँहरुले सानो सङ्ख्याबाट सुरु गरेको कम्युनिस्ट आन्दोलन मुलुकको राजनीतिक आन्दोलनको मूलधार बन्न पुगेको छ ।
केही मानिसहरु तर्क गर्छन्, ‘अब कम्युनिस्ट पार्टीको औचित्य छैन । अब समाजवादको पनि भविष्य छैन ।’ हामीले साम्राज्यवादी तथा प्रतिक्रियावादीहरुका यस्ता विषालु प्रचारलाई चुनौति दिँदै माक्र्सवादको गहिरो अध्ययन गर्नुपर्दछ । माक्र्सवाद सामाजिक विज्ञान हो र यो गतिशील हुन्छ । कम्युनिस्ट पार्टी र माक्र्सवादको अहिले पनि त्यत्तिकै सान्दर्भिकता छ । यसको महत्व अझै बढेको छ र यो कहिल्यै असान्दर्भिक हुँदैन । एकथरि मानिसहरु कम्युनिस्ट पार्टी र अरु बुर्जुवा पार्टीमा कुनै फरक देख्दैनन् । कम्युनिस्ट नेता र बुर्जुवा नेताहरुको जीवनशैली र आचरणमा पनि फरक देख्नै सक्दैनन् । सबै उस्तै हुन् भन्ने तर्क गर्छन् । यो माक्र्सवाद र कम्युनिस्ट पार्टीको सिद्धान्तप्रतिको गलत बुझाइ र गम्भीर विचलनको परिणाम हो । हामीले माक्र्सवाद र कम्युनिस्ट पार्टीप्रतिको विश्वास जगाउन सक्नुपर्छ ।
देश अहिले सङ्क्रमणकालको विशिष्ट अवस्थामा छ । यो पीडादायी अवस्थालाई जति सकिन्छ छिटो अन्त्य गर्नुपर्दछ । झन्डै पैँसठ्ठी वर्ष अघि पुष्पलालले देख्नुभएको गणतन्त्र नेपालको सपना अहिले पूरा भएको छ । हामीले व्यवस्थालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । अब हामीले यो राजनीतिक नारालाई जनसमुदायको जीवनशैलीमा परिणत गर्नुपर्दछ । नारालाई व्यवहारमा ढाल्न सके मात्र यसको अर्थ निस्कनेछ । शान्तिपूर्ण जनक्रान्तिको ऐतिहासिक उपलब्धीहरुलाई संस्थागत गर्न हामीले अब आपसी कटुता पार्टीमा गुटबन्दी क्षणिक स्वार्थ र अहम् राष्ट्रिय दायित्वबाट पञ्छने गैरजिम्मेवार पद्धतिको अविलम्ब अन्त्य गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र नयाँ संविधानको निर्माणसँगै समृद्ध समाजवादी नेपालको निर्माण गर्ने अग्रगामी बाटोमा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्नै पर्दछ । यो कार्यभार पूरा गर्न सक्दा मात्रै हामीले संस्थापक नेता पुष्पलालप्रति साँचो न्याय र सम्मान गरेको ठहर्छ ।
(लेखक नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं स्थायी कमिटी सदस्य तथा संविधानसभाको सदस्य समेत हुनुहुन्छ ।)













प्रतिक्रिया