१४ कार्तिक २०८३, शनिबार

आज नेपाल कम्युनिस्ट पार्टीको ६७ औं स्थापना दिवस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान निर्माण गरेर जनताका अधिकारलाई संस्थागत गर्नेबित्तिकै लोकतान्त्रिक आन्दोलनको एउटा अध्याय पूरा हुने र नेपाल समृद्धि प्राप्तिको नयाँ चरणमा प्रवेश गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ६७ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले संविधान निर्माण यतिबेलाको मुख्य राष्ट्रिय अभिभारा र अग्रगतिको आधार तथा अनिवार्य पूर्वसर्त पनि हो भन्दै सहमतिका लागि आफ्ना जातीय÷क्षेत्रीय अतिवादी मान्यता तथा सङ्कीर्णता त्याग्न आग्रह गर्नुभएको छ ।

“संविधान, विधि र अभ्यासको आधारमा प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माण गर्न पनि बाधा पु¥याउने एमाओवादी–मधेसकेन्द्रित दलका कारण हामीले गत माघ ८ मा संविधान जारी गर्न सकेनौँ ।’’ ओलीले भन्नुभएको छ, “अहिलेसम्म पनि ती दल आफ्ना मान्यतामाथि पुनः विचार गर्न र सहमतिका लागि लचिलो हुन तयार देखिएका छैनन् । यस्तो स्थितिमा पार्टी सहमतिका निम्ति संवाद र छलफलको ढोका खुला राख्दै प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माणलाई अगाडि बढाउन चाहान्छौ ।”

एमालेको जनताको बहुदलीय जनवाद (जबज) नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र माक्र्सवादको नेपाली संस्करण हो भन्दै उहाँले समकालीन घटनाक्रम र परिस्थितिले यसको सहीपना र सान्दर्भिकतालाई बारम्बार प्रमाणित गरेको पनि जनाउनुभएको छ ।

उहाँले पार्टी स्थापना दिवसका अवसरमा सम्पूर्ण शोषित, उत्पीडित र आम जनसमुदायमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

ओलीले व्यक्त गर्नुभएको शुभकामना सन्देशको पूर्ण पाठ जस्ताको तस्तै :

आज २२ अप्रिल अर्थात् पार्टी स्थापना दिवस । कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ऐतिहासिक दिन । आन्दोलन, उत्सर्ग र उपलब्धिका गौरवपूर्ण ६६ वर्ष पूरा गरेर ६७ औँ वर्ष प्रवेश गरेको यस सुखद् अवसरमा नेकपा (एमाले) केन्द्रीय कमिटीका तर्फबाट नेपाली श्रमजीवी वर्ग, न्यायप्रेमी, शान्तिप्रिय र देशभक्त जनसमुदाय, पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरू तथा नेपाल एवम् नेपालीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय मित्रहरूमा क्रान्तिकारी अभिवादनसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ सपना र नयाँ युगको प्रतिनिधि
नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाज र राजनीतिको ऐतिहासिक परिघटना थियो । दोस्रो विश्वयुद्ध र साम्राज्यवादको सङ्कटसहित उपनिवेशको समाप्ति, नाजीवाद-फासीवादको पराजय एवम् राष्ट्रिय स्वतन्त्रताको लहर र विभिन्न मुलुकमा जनवादी-समाजवादी क्रान्तिको सफलता । चिनियाँ जनवादी क्रान्तिको विजय एवम् भारतीय स्वतन्त्रता सङ्ग्रामको सफलताले सिर्जना गरेका प्रेरणाहरू । विश्व परिस्थितिमा आएका यी नयाँ परिघटनाले युगौँदेखिको सामन्ती र एक शताब्दीदेखिको राणाशाही आधिपत्यमुनि पिल्सिएका नेपाली जनतामा स्वतन्त्रता, समानता र समृद्धिको क्रान्तिकारी सपना बिजारोपण गरिरहेका थिए । तर, क्रान्तिको अगुवाइ गर्ने सही राजनीतिक संस्थाको अभाव थियो । राणाशासनको अन्त्य र सामान्य प्रजातान्त्रिक अधिकारको पक्षपोषण गर्ने केही पार्टीहरू त थिए । तर, उनीहरूसँग सामन्तवादको उन्मूलन गर्ने स्पष्ट लक्ष्य थिएन ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको सुसङ्गत कार्यक्रम थिएन । पुँजीवादी शोषणको अन्त्य र राष्ट्रिय स्वाधीनताको ठोस दृष्टिकोण थिएन । सुस्पष्ट कार्यक्रमको अभावमा वास्तविक प्रजातन्त्रको स्थापना, सबैखाले शोषण–उत्पीडन र विभेदको अन्त्य तथा न्याय, समानता र समृद्धि सम्भव थिएन । सामाजिक मुक्ति, राष्ट्रिय स्वतन्त्रता र समाजवाद निर्माणको यही युगीन अभिभारा पूरा गर्ने यही वस्तुगत आवश्यकताले यस पार्टीको निर्माण  भएको थियो ।
कम्युनिस्ट पार्टी स्थापनासँगै नेपाली राजनीतिमा नयाँ धारको आरम्भ भयो । श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीले सामन्तवाद–साम्राज्यवादविरोधी जनवादी क्रान्तिलाई अगुवाइ गर्ने सचेत प्रयत्न गर्‍यो ।
अङ्ग्रेज साम्राज्यवादविरुद्धको देशभक्तिपूर्ण आन्दोलन, सामाजिक विकृतिविरुद्धका सामाजिक सुधार एवम् जागरण आन्दोलन र राणाशाहीविरुद्धको प्रजातान्त्रिक आन्दोलन– नेपाली जनता र नेपाल राष्ट्रले यसअघि गर्दै आएका तीनवटै आन्दोलनको विरासतलाई सम्हाल्दै कम्युनिस्ट पार्टीले यसलाई जनवादी क्रान्तिको सारतत्वसहित नयाँ अर्थ र नयाँ विशेषता प्रदान गर्‍यो । माक्र्सवादका सर्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा एकाकार गर्दै पार्टीले क्रान्तिका कार्यक्रम, रणनीति–कार्यनीतिहरू तथा सङ्गठन निर्माणका ठोस मान्यताहरू विकास गर्ने प्रयास गर्‍यो । यसरी कम्युनिस्ट पार्टीको स्थापनासँगै नयाँ क्रान्तिकारी युगको आरम्भ भयो ।
लोकतान्त्रिक आन्दोलनमा सधैँभरि अग्रणी
नेपाली कम्युनिस्ट आन्दोलन मुलुकको लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्गका रूपमा स्थापित छ ।  ‘नागरिक स्वतन्त्रता जिन्दावाद !’ भन्ने नाराका साथ स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको इतिहास हरेकखाले निरङ्कुशतन्त्र विरुद्ध अनवरत सङ्घर्ष र बलिदानको इतिहास हो । सङ्घर्ष र बलिदानको यही लामो शृङ्खलाको परिणामस्वरूप आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनता सार्वभौमसत्तासम्पन्न भएका छन् र अधिकार प्राप्तिको सङ्घर्षले एउटा उचाइ प्राप्त गरेको छ ।
संविधानसभाबाट संविधान निर्माण गरेर यी अधिकारलाई संस्थागत गर्नेबित्तिकै नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा अध्याय पूरा हुन्छ र हामीहरू समृद्धि प्राप्तिको नयाँ चरणमा प्रवेश गर्‍छौं । हामीलाई गर्व छ– कम्युनिस्ट पार्टीले लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर नेतृत्व गर्दै आएको छ । कम्युनिस्टहरूको लोकतन्त्रप्रतिको निष्ठामा चोर औंला उठाउनेहरूलाई नेकपाले निरन्तर संघर्षको मोर्चाबाटै उपयुक्त जवाफ दिंदै आएको छ ।
पार्टी स्थापनाको लगत्तै सुरु राणाशाहीविरोधी क्रान्तिमा पार्टी सक्रिय सहभागी थियो, तर दिल्ली सम्झौतामार्फत् आन्दोलन बीचैमा रोकिएपछि क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । संविधानसभा निर्वाचनलाई पर सार्दै असफल पारेर, सेना र न्यायालयमा नियन्त्रण बलियो बनाएर तथा पार्टीहरूबीचको अन्तरविरोधबाट लाभ उठाएर राजतन्त्रले क्रमशः आफूलाई सुदृढ बनाउँदै लग्यो । अन्त्यमा, पहिलो जननिर्वाचित सरकारलाई १८ महिनामै अपदस्थ गरेर २०१७ सालमा राजा महेन्द्रले पञ्चायती हुकुमी शासन सुरु गरे । कम्युनिस्ट पार्टीले २००७ सालको क्रान्तिलाई निष्कर्षमा पुर्‍याउन र प्राप्त उपलव्धि विरुद्धका षड्यन्त्र असफल पार्न लगातार खबरदारी, दबाब र विरोध जारी राख्यो ।
पञ्चायती तानाशाहीको ३० वर्ष लामो कालखण्डमा कुनै दिन यस्तो रहेन, जुन दिन कम्युनिस्ट पार्टी आन्दोलनमा नहोमिएको होस् । त्यस क्रममा सयौँ योद्धाहरूले जीवन उत्सर्ग गर्नुभयो, हजारौँले जेलनेल, निर्वासन र भूमिगत जीवन व्यतीत गर्नुभयो र अरू कैयौँले अनेकौँ कष्टहरूको सामना गर्नुभयो । कमरेड पुष्पलालले पञ्चायती तानाशाही र सामन्ती राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलनको प्रस्ताव अगाडि सार्नुभयो ।
अन्य पार्टीले समयमै यसको महत्व र आवश्यकतालाई बुझ्न नसक्दा पञ्चायती तानाशाहीले आफ्नो आयु लम्ब्याउन पायो । २०४६ सालसम्म आइपुग्दा संयुक्त जनआन्दोलनको सान्दर्भिकता सर्वत्र महसुस भयो र संयुक्त वाममोर्चा तथा नेपाली काङ्ग्रेसको सह–नेतृत्वमा पञ्चायती तानाशाहीविरुद्ध ऐतिहासिक जनआन्दोलन प्रारम्भ भयो र छोटो अवधिमै यसले सफलता प्राप्त गर्‍यो  । आन्दोलनको सह–नेताका रूपमा पार्टी अग्रभागमा उभियो ।
२०४६ सालको परिवर्तनबाट प्राप्त राजनीतिक अधिकारहरूलाई जनताको जीवनमा विस्तार गर्ने र प्रजातान्त्रिक माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको दिशामा अगाडि बढ्ने हाम्रो प्रयासमा एकैसाथ तीनवटा चुनौती खडा भए । निर्वाचनमा बहुमत प्राप्त नेपाली काङ्ग्रेसमा कम्युनिस्ट विरोधी उन्माद, सर्वसत्तावादी कार्यशैली र भ्रष्ट आचरण संस्थागत बन्दै जा“दा यसले नवस्थापित प्रजातान्त्रिक व्यवस्थालाई जनताबाट अलग्याउँदै लग्यो ।
आन्दोलनका सहयात्रीहरूबीचको सम्बन्ध कटु र असहिष्णु बन्दै गयो । बहुदलीय व्यवस्था स्थापनाको छ वर्ष बित्दानबित्दै उग्रवामपन्थी अतिवादले प्रकारान्तरमा प्रजातन्त्रकै विरुद्ध आक्रमण सुरु गर्‍यो । मौकाको पर्खाइमा बसेका प्रतिगामी शक्तिहरू सल्बलाउन थालिहाले र तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा अप्रत्यक्ष र २०६१ मा नाङ्गो ढङ्गले अधिनायकवादी सत्ता थोपर्ने धृष्टता गरे । ठूलो राजनीतिक परिवर्तनका उपलब्धिहरू १२ वर्षमै अपहरित गरिए ।

राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पार्टीले अग्रिम मोर्चामा रहेर भूमिका खेल्यो । लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीतिक नारा बनाउने पहिलो पार्टी हामी नै थियौँ । हाम्रै पहल र प्रयत्नबाट हिंसाद्वारा सत्ता कब्जाको बाटोमा हिँडिरहेको नेकपा (माओवादी) शान्तिपूर्ण मूलधारमा आउन तथा राजतन्त्रको मोहबाट मुक्त हुँदै गणतन्त्रमा आउन नेपाली काङ्गे्रस तयार भएको थियो । २०६२-६३ को ऐतिहासिक परिवर्तनको एजेन्डा रेखाङ्कनमा मात्र होइन, जनपरिचालन, बलिदान र सफलतामा पनि पार्टीको निर्णायक भूमिका रहेको थियो । तिनै प्रयासको फलस्वरूप मुलुक आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । यतिबेला हामी संविधान निर्माण गरेर यसलाई संस्थागत गर्ने, झन्डै ७५ वर्ष अगाडिदेखि सुरु लोकतान्त्रिक आन्दोलनलाई निष्कर्षमा पु¥याउने र मुलुकलाई समृद्धिको नयाँ युगमा डोर्‍याउने चरणमा आइपुगेका छौँ ।
वर्गीय शोषण र सामाजिक उत्पीडनविरुद्ध अनवरत सङ्घर्ष
नागरिक राजनीतिक अधिकारहरू निकै महत्वपूर्ण छन्, तर पर्याप्त छैनन् । आर्थिक–सामाजिक–सांस्कृतिक अधिकारको प्रत्याभूति नहोउञ्जेल अर्थात् आर्थिक शोषणबाट मुक्ति र उत्पादनका साधनमा पहु“चबिना जनताको वास्तविक लोकतन्त्र स्थापित हुनसक्दैन । यही मान्यताबाट अभिप्रेरित हुँदै कम्युनिस्ट पार्टीले सुरुदेखि नै सामन्ती शोषणका विरुद्ध सङ्घर्ष गर्दै आएको सर्वविदितै छ । २००९¬–१३ को अवधिमा पार्टीको नेतृत्वमा बारा, पर्सा र रौतहटमा सञ्चालित जमिन्दारविरोधी ‘जी कहो !’ आन्दोलन, ऐतिहासिक झापा विद्रोह, लुम्बिनीको किसान प्रदर्शन र झोडा सङ्घर्षलगायत आन्दोलनमार्फत् पार्टीले किसानहरूको मुक्तिका निम्ति सदैव अग्रणी भूमिका खेल्दै आएको छ । तिनै सङ्घर्षका कारण आज सामन्ती उत्पादन पद्धति अन्त्य भएको छ । पार्टी यतिबेला सामन्तवादका अवशेषहरू समाप्त पार्दै कृषि क्षेत्रमा विद्यमान श्रम शक्तिको विकासमा केन्द्रित छ ।
भूमिहीन–सुकुम्बासीहरूका लागि आवास र जग्गाको पहुँच, कृषिको तीव्र आधुनिकीकरण-औद्योगीकरण तथा कृषिलाई आर्थिक विकासको उत्तोलकका रूपमा विकास गर्ने अभिभारा यतिबेला हाम्रासामु रहेको छ ।
सर्वहारा–श्रमजीवी वर्गको अग्रणी प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीले श्रमिक वर्गको पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको छ । कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सञ्चालित विराटनगर मजदुर विद्रोहको विरासत सम्हाल्दै आज नेपाली श्रमिक आन्दोलन राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, न्यूनतम पारिश्रमिकको प्रत्याभूतिजस्ता उपलब्धि प्राप्त गर्न सफल भएको छ– सबै श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा प्रणाली स्थापनार्थ क्रियाशील छ ।
यद्यपि, अनौपचारिक र असङ्गठित क्षेत्रका श्रमिकहरूका समस्याहरू विकराल छन् र जोखिमपूर्ण काम गर्न बाध्य प्रवासी नेपाली श्रमिकहरूका क्षेत्रमा धेरै चुनौती छन् । पार्टी ‘गर्ने’ र ‘सोच्ने’ दुबैखाले श्रमजीवी वर्गको सम्मान, अधिकार र पहुँचको प्रत्याभूति गर्दै श्रमशक्तिको विकासका माध्यमबाट समाजवादको आधारशीला निर्माण गर्ने काममा केन्द्रित छ ।
जनसङ्ख्याको आधा हिस्सा ओगट्ने महिलाहरूको मुक्तिबिना समाजको मुक्ति सम्भव छैन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक सबै हिसाबले विभेदमा परेका महिलाहरूको मुक्तिका निम्ति पार्टीले आरम्भदेखि नै सचेत पहल गर्दै आएको छ । बालविवाह–अनमेल विवाहजस्ता विकृति, दाइजो–बोक्सीजस्ता कुप्रथा, बलात्कार–यौन हिंसाजस्ता जघन्य एवम् चेलिबेटी बेचबिखनजस्ता सामाजिक अपराधविरुद्ध पार्टीले गर्दै आएका सङ्घर्षहरू सबैका सामु स्पष्टै छन् ।
आमाको नाममा नागरिकता, अंश र वंशमा समान अधिकार तथा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ सहभागिताजस्ता मुद्दाहरूको अगुवाइ कम्युनिस्ट पार्टीले नै गर्दै आएको तथ्य जगजाहेर छ । आज संवैधानिकरूपमा लैङ्गिक समानताको प्रत्याभूति भएको छ र महिलाका  धेरै अधिकार कानुनमा संस्थागत गरिएका छन् । तर, व्यवहारमा भने निकै धेरै चुनौती, विभेद र हिंसा विद्यमान नै छन् ।
सामन्ती वर्णाश्रम व्यवस्थाले संस्थागत गरेका छुवाछुत र जातीय विभेदको अमानवीय समस्या नेपाली समाजमा पनि विद्यमान छन् । झन्डै १३ प्रतिशत सङ्ख्यामा रहेका दलितहरूको मुक्तिबिना समाजको मुक्ति सम्भव छैन भन्ने यथार्थबोधका साथ पार्टी यस सामाजिक बिकृति विरुद्ध लगातार जुझ्दै आएको छ ।
दलित समुदायमा चेतना र जागरण अभियान, सङ्गठन निर्माण, विकृतिविरुद्ध सामाजिक आन्दोलन, पार्टीलगायत संरचनामा प्रतिनिधित्व र छुवाछुतमुक्त राष्ट्रको घोषणा, छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराध मान्दै कानुनी दण्डको व्यवस्था आदि काममा पार्टीले अग्रणी र नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
राजतन्त्र र सामन्ती राज्य व्यवस्थाका कारण मुलुकमा लामो समयसम्म धार्मिक, जातीय, भाषिक र सांस्कृतिक विभेदहरू विद्यमान रहे । सामाजिक विभेद वर्गीय उत्पीडनको जगमाथि उभिएको छ र सुस्पष्ट वर्गीय दृष्टिकोणका आधारमा मात्रै यसको अन्त्य गर्न सकिन्छ । यही मान्यताका साथ पार्टी आरम्भदेखि नै धार्मिक स्वतन्त्रता, जातीय विभेदको अन्त्य र भाषिक– सांस्कृतिक समानताको निम्ति लड्दै आएको छ । जातीय या क्षेत्रीय मुक्तिको नारा लिएर हिजो अस्तिमात्रै जन्मिएका केही व्यक्ति-समूह कम्युनिस्ट पार्टीलाई तथानाम आलोचना गर्न तल्लीन देखिन्छन् । तर, तिनीहरूको जन्मभन्दा धेरै अगाडिदेखि नै कम्युनिस्ट पार्टीले वर्गीय शोषण र सामाजिक उत्पीडनका विरुद्ध समानतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सतत् सङ्घर्ष गर्दै आएको छ ।
जातीय विभेदको अन्त्य एक जातिका विरुद्ध अर्कोलाई उभ्याएर या जातीय राज्य निर्माण गरेर होइन, पछाडि परेका÷पारिएका समुदायलाई आर्थिक अधिकारको प्रत्याभूति, राजनीतिक प्रतिनिधित्वको व्यवस्था तथा शिक्षा–स्वास्थ्य र रोजगारीको भरपर्दो प्रबन्धबाट मात्रै गर्न सकिन्छ । जातीय–भाषिक–सांस्कृतिक विभेदलाई उपेक्षा गर्ने अहङ्कारवाद र जातीय विषयलाई वर्गीय र राष्ट्रिय प्रश्नभन्दा माथि राख्ने सङ्कीर्णता र अतिवाद दुवै हानिकारक छन् ।
राष्ट्रिय स्वाधीनता र प्रगतिशील राष्ट्रवादको अभियन्ता
जनवाद र राष्ट्रियता हाम्रो आन्दोलनका अविभाज्य र अभिन्न अङ्ग हुन् । भारत एवम् चीनमाथि अङ्ग्रेज साम्राज्यले वर्चस्व जमाउँदासमेत हाम्रा पूर्खाहरूले विदेशी आक्रमणको वीरतापूर्वक प्रतिरोध गरेर राष्ट्रिय स्वतन्त्रता अक्षुण्ण राख्न सफल हाम्रो नेपालको स्वतन्त्रता सुगौली सन्धिपछि भने खण्डित हुन पुग्यो ।

प्रत्यक्ष उपनिवेश कायम गर्न नसकेपछि आर्थिक शोषण, राजनीतिक हस्तक्षेप र सांस्कृतिक आधिपत्यका माध्यमबाट नवऔपनिवेशिक उत्पीडनमा पारिएको नेपालको स्वाधीनताको रक्षाका लागि पार्टी अग्रिम मोर्चामा उभिएर सङ्घर्षरत छ । दिल्ली सम्झौताको विरोध गर्नेहरूमाथि भएको भारतीय सैन्य हस्तक्षेप र दमन, कोसी–गण्डकी र टनकपुरलगायत सम्झौतामा भएको राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू, सीमा अतिक्रमण, असमान सन्धि सम्झौतालगायतको विरोधमा सञ्चालित सङ्घर्षहरूले कम्युनिस्ट पार्टीलाई राष्ट्रियताको अग्रणी पहरेदारको रूपमा स्थापित गरेका छन् ।
लम्बिदो सङ्क्रमणकाल र द्वन्द्वका कारण अहिले राज्य कमजोर भएको छ–  राजनीतिक शक्तिहरूबीचको विभाजन र राष्ट्रिय एकता कमजोर हुँदै गएको अवस्था, आर्थिक सङ्कटका कारण बढ्दो परनिर्भरता आदिका कारण यतिबेला नेपालको राष्ट्रियतासमेत कमजोर भएको चुनौतीपूर्ण अवस्थामा छ । कहिले उग्र राष्ट्रवादका उत्ताउला नारा त कहिले चरम आत्मसमर्पणमा पुग्ने घातक प्रवृत्तिले पनि राष्ट्रियता कमजोर गर्न भूमिका खेलेका छन् ।

राष्ट्रियता मूलतः राष्ट्रिय हितहरूको पहिचान, रक्षा र संवद्र्धनको समष्टि हो । राष्ट्रिय एकतामा आघात पुर्‍याएर, राष्ट्रिय अर्थतन्त्र र विकासका  ढा“चालाई ध्वंस गरेर तथा मुलुकलाई थप पराश्रित बनाएर राष्ट्रियताको वकालत गर्नुको कुनै अर्थ छैन । मुलुकको सम्प्रभुता, प्रादेशिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा, पारस्परिक हित र अहस्तक्षेपमाथि आधारित विदेश नीति, छिमेकी मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध, एक–अर्काका संवेदनशीलता र सरोकारको सम्मान तथा सम्बोधन तथा पारस्परिक लाभमाथि आधारित आर्थिक सम्बन्धले नै हाम्रो राष्ट्रियतालाई संवद्र्धन गर्दछन् । जननेता कमरेड मदन भण्डारीले रेखाङ्कन गर्नुभएको प्रगतिशील राष्ट्रवादको अवधारणाबाट निर्देशित हुँदै हाम्रो पार्टी राष्ट्रियताको रक्षा र संवद्र्धन गर्न तथा सन्तुलित विदेश नीति अवलम्बन गर्न चाहन्छ ।
शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका
कम्युनिस्ट आन्दोलनमा उत्पन्न भएको उग्रवामपन्थका कारण नेपालले अघिल्लो दशकमा सशस्त्र द्वन्द्व र हिंसा–प्रतिहिंसाको भयावह त्रासदीबाट गुज्रिनु पर्‍यो । मुलुकमा भर्खर बहुदलीय व्यवस्था स्थापना भएको, समाजको शान्तिपूर्ण रूपान्तरणको सम्भावना प्रबल बन्दै गएको र नेकपा (एमाले)ले जनताको अभिमतबाट लोकप्रिय सरकार सञ्चालन गरेर नमुना स्थापित गरिसकेको पृष्ठभूमिमा २०५२ फागुन १ बाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्व समय–छनोटका हिसाबले रहस्यपूर्ण, नीतिका हिसाबले उग्रवाम र व्यवहारका हिसाबले अराजक–आतङ्कपूर्ण थियो ।

झन्डै १७ हजार नागरिकको हत्या, हजारभन्दा बढी बेपत्ता, हजारौ“ अङ्गभङ्ग र घाइते तथा दसौँ हजार विस्थापित र खर्बौंको राष्ट्रिय सम्पत्ति विनाश गरेको यस द्वन्द्वले सिर्जना गरेका गहिरा असरहरू भने समाजमा अझै विद्यमान छन् ।
हाम्रो पार्टीले यस समस्याको शान्तिपूर्ण समाधानका लागि सुरुदेखि नै अनवरत प्रयत्न गर्दै आयो । तत्कालीन राज्य र विद्रोही दुवै पक्षले बन्दुकबाटै समाधान खोज्ने धृष्टता गरिरहेको बेला पार्टीले सिलिगुढीदेखि दिल्लीसम्म र रोल्पादेखि लखनउसम्मको जोखिमपूर्ण यात्रा तय गरेर युद्ध उन्मादमा रहेका दुवै पक्षलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास गर्‍यो ।

धेरै अप्ठ्याराहरू पार गर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउन पार्टीले जिम्मेवार पहलकदमी लियो । आज नेपालको शान्ति प्रक्रिया मूलतः टुङ्गिएको छ । पार्टी यतिबेला सशस्त्र द्वन्द्वले पारेका असरहरूबाट समाजलाई मुक्त गर्न, द्वन्द्वपीडितहरूलाई न्याय प्रदान गर्न र दण्डहीनता अन्त्य गर्न निरन्तर प्रयत्नशील छ ।
सही सिद्धान्त : सही बाटो
हामीले नेपाली क्रान्तिका मौलिक सिद्धान्त, नीति र बाटो निर्धारण गरेका छौँ । माक्र्सवादको मार्गदर्शन, नेपाली क्रान्तिको व्यवहार एवम् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सफलता-विफलताका अनुभवहरूमाथि आधारित रहेर प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद (जबज) नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग हो, यो माक्र्सवादको नेपाली संस्करण हो । समकालीन घटनाक्रम र परिस्थितिले यसको सहीपना र सान्दर्भिकतालाई बारम्बार पुष्टि र प्रमाणित गरेको छ ।
सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादको विरोध र सामाजिक मुक्ति, राष्ट्रिय स्वाधीनता र समाजको क्रान्तिकारी रूपान्तरण हाम्रा अविचलित आदर्श हुन् । जनताको बहुदलीय जनवादमार्फत् समाजवादमा सङ्क्रमण हाम्रो लक्ष्य हो । समाजवादले मात्रै हाम्रा पुर्खाहरूले देखेको सुन्दर सपना र विश्ववन्धुत्वको आकाङ्क्षालाई पूरा गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । नयाँ विशेषताहरू विकसित हुँदै गरेको एक्काइसौँ शताब्दीको यो विशिष्ट कालखण्डमा समाजको शान्तिपूर्ण रूपान्तरण सम्भव छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ । यही मान्यताका आधारमा हामीले माओवादीद्वारा सञ्चालित हिंसात्मक द्वन्द्व र अराजकताको विरोध गर्‍यौ“, जसका कारण हाम्रा झन्डै तीन सय होनहार नेता–कार्यकर्ताले क्रूर हत्याको सिकार बन्नुपर्‍यो ।

आज ‘राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’ भन्ने मान्यता बोक्नेहरू बन्दुक थन्क्याएर शान्तिपूर्ण बाटोमा आउन र ‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुनै सक्दैन’ भन्नेहरू कथित सेनालाई विघटन गर्न बाध्य भएका छन् । आजको युगमा चाहे जनवादी सत्ता होस्, चाहे समाजवादी– त्यसले बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, विधिको शासन र बहुलवादका मूल्यहरूलाई आत्मसात् गर्नुपर्दछ भन्ने मान्यतामा हामी दृढ छौँ । यी मूल्यका निम्ति हामीले निरङ्कुश राजतन्त्रका साथै आफूलाई ‘अब्बल क्रान्तिकारी’ दाबी गर्नेहरूको समेत भौतिक र वैचारिक आक्रमणको भोग्नुपर्‍यो ।

हाम्रो प्रयत्नको बलमा आज मुलुकका सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हामीलाई विशेष गर्व छ । बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यहरूलाई संशोधनवादी÷दक्षिणपन्थी आरोप लगाउनेहरू आज हाम्रै पछिपछि हिँड्न बाध्य भएका छन् । अर्कोतिर, ०४७ सालको संविधानमा कमा र फुलस्टपसमेत परिर्वतन गर्नु हुँदैन, संवैधानिक राजतन्त्र लोकतन्त्रको अभिन्न अङ्ग हो र खुला बजार अर्थतन्त्र तथा परम्परागत संसदीय प्रणाली मात्रै अन्तिम सत्य हो भन्ने दाबा गर्ने नवउदारवादी शक्तिहरू पनि गणतन्त्रलाई स्वीकार गर्न तथा सामाजिक न्यायसहितको लोकतन्त्रलाई स्वीकार्न आइपुगेका छन् ।

यो विगत दशकहरूमा चलेका तीव्र विचारधारात्मक–राजनीतिक सङ्घर्षमा नेकपा (एमाले)ले अवलम्बन गरेको मान्यता र जनताको बहुदलीय जनवादको सिद्धान्तको बहुआयामिक प्रभाव र पुनर्पुष्टिको परिणाम हो । जबजको मार्गदर्शनमै हामीहरू मुलुकले यतिबेला सामना गरिरहेका यावत् समस्याहरूको समाधान गर्दै अगाडि बढ्न सक्छौँ भन्नेमा प्रस्ट छौँ ।

मुलुकसामु विद्यमान चुनौती र पार्टीेको दृष्टिकोण
कम्युनिस्ट पार्टी स्थापनाको ६६ वर्ष पूरा भएको यस अवसरमा पछाडि फर्केर हेर्दा हामीले सन्तुष्टि र गर्व गर्नलायक अनेकौँ उपलब्धि प्राप्त गरेका छौँ । पार्टीले यस अवधिमा राणाशाही, पञ्चायती तानाशाही र राजतन्त्रका विरुद्ध निर्णायक सङ्घर्ष गरेको छ र जुनसुकै रूप-आवरणका निरङ्कुशताहरूलाई  पराजित गरेको छ । राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु नेपाली कम्युनिस्ट आन्दोलनको सर्वाधिक महत्वपूर्ण सफलता र उपलब्धि हो । हिजो भारतको कोलकातामा पाँचजना अग्रजहरूबाट स्थापना गरिएको यो पार्टी आज राजनीतिक–वैचारिक रूपले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्न सफल भएको छ ।

यससँग आज सबैभन्दा ठूलो सङ्गठनात्मक सञ्जाल छ, व्यापक जनाधार छ, अन्तर्राष्ट्रिय मित्रहरूको सद्भाव र शुभकामना छ र नेपाली जनताको विश्वास प्राप्त छ । राष्ट्र निर्माणको सही सोच र दृष्टिकोण छ । निरङ्कुशतन्त्रविरुद्ध आन्दोलनको सफल अनुभव छ । संसद्मा प्रतिपक्षीय भूमिकाको समृद्ध अनुभव छ र राज्यसञ्चालन कसरी गर्नुपर्छ र जनताको सरकार कस्तो हुन्छ भन्ने सन्दर्भमा पनि सफल दृष्टान्तहरू पनि छन् । अर्थात्, हामीलाई हाम्रो इतिहासप्रति गर्वबोध छ ।

तर, यति हुँदाहुँदै पनि मुलुकका सामु उपस्थित अनेकौँ चुनौतीहरूले हामीलाई चिन्तित तुल्याइरहेका छन् । सङ्क्रणकाल लम्बिँदै जाँदा गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय, सङ्घीयता र समावेशिता जस्ता उपलब्धिहरू सङ्कटमा पर्न थालेका छन् । पश्चगामी शक्तिहरू उत्साहित र क्रियाशील देखिन थालेका छन् । धार्मिक संवेदनशीलता, जातीयता र क्षेत्रीय अतिवादमाथि आधारित दक्षिणपन्थी गतिविधि बढ्न थालेका छन् । उग्रवामपन्थी राजनीतिको पराजयपश्चात् फेरि एकपल्ट हिंसाका प्रयाशहरू पनि सुरु हुन थालेका छन् । कतै–कतै पृथकतावादको बिजारोपण गर्ने प्रयास पनि देखिन थालेको अनुभूति गर्न थालिएको छ ।

युगान्तकारी राजनीतिक उपलब्धिहरू प्राप्त हुँदाहुँदै पनि तिनलाई संस्थागत गर्न नसकिँदा जनताले अपेक्षित लाभ पाउन सकिरहेका छैनन् । गरिबी, बेरोजगारी, अभाव, भ्रष्टाचार र अनियमितता, मूल्यवृद्धि, ऊर्जा सङ्कट र विधिको शासनको अभावजस्ता समस्याहरू आज मुलुकका सर्वाधिक ठूला चुनौतीका रूपमा विद्यमान छन् । सङ्क्रमणकाल लम्बिँदै जाँदा राज्यको प्रभावकारिता खस्किँदो छ । कानुन हातमा लिने प्रवृत्ति बढ्दो छ । महिला हिंसा, जातीय विभेद, भ्रष्टाचार तथा तस्करी बढ्दो छ । बेला–बेलामा नेपालको आन्तरिक मामलामा अवाञ्छित बाह्य चासो र सरोकार प्रकट हुने गरेको समेत देख्न सकिन्छ । ६७औँ पार्टी स्थापना दिवसको यस अवसरमा पार्टी यी विषयमा केन्द्रित हुँदै अगाडि बढ्ने सङ्कल्प गर्दछ :
यथाशीघ्र संविधान निर्माण र उपलब्धिको संरक्षण
संविधान निर्माण यतिबेलाको मुख्य राष्ट्रिय अभिभारा हो र अग्रगतिका लागि सर्वोपरि आधार  र अनिवार्य पूर्वसर्त पनि हो । सहमतिका लागि आफ्ना जातीय-क्षेत्रीय अतिवादी मान्यता तथा सङ्कीर्णता त्याग गर्न पनि तयार नहुने र संविधान, विधि र अभ्यासको आधारमा प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माण गर्न पनि बाधा पु¥याउने एमाओवादी–मधेसकेन्द्रित दलहरूका कारण हामीले २०७१ माघ ८ मा संविधान जारी गर्न सकेनौँ ।

अहिलेसम्म पनि ती दलहरू आफ्ना मान्यतामाथि पुनः विचार गर्न र सहमतिका लागि लचिलो हुन तयार देखिएका छैनन् । यस्तो स्थितिमा पार्टी सहमतिका निम्ति संवाद र छलफलको ढोका खुला राख्दै प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माणलाई अगाडि बढाउन चाहन्छ । हामी प्रण गर्छौैं– अविलम्ब  संविधान निर्माण गरेर हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेछौँ र नेपालको लोकतान्त्रिक आन्दोलनलाई नया“ उचाइमा स्थापित गर्नेछौँ ।
सङ्क्रमणकालको अन्त्य र राजनीतिक स्थायित्वको प्राप्ति
सङ्क्रमणकाल लम्बिँदै जाँदा यसले समाजका सबै क्षेत्रमा पारेका गहिरा र नकारात्मक प्रभावको बारेमा हामी सजग र सचेत छौँ । यसले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वासलाई मात्रै कमजोर गराइरहेको छैन, राजनीतिक पार्टीहरूको विश्वसनीयता, प्रभाव र नेतृत्व क्षमतामाथि समेत प्रश्नचिह्न खडा गरिरहेको छ र मुलुकको राष्ट्रियतामाथि समेत अनपेक्षित समस्या सिर्जना गरिरहेको छ ।

पार्टी संविधान निर्माण गरेर छिटोभन्दा छिटो सङ्क्रमणकाललाई अन्त्य गर्न र राजनीतिक स्थायित्व हासिल गर्न कृतसङ्कल्पित छ । विभिन्न बहानाबाजी गरेर सङ्क्रमणकाललाई लम्ब्याउने र अस्थिरता एवम् अराजकताको आगोमा निहीत स्वार्थको रोटी सेक्न चाहने प्रयास र प्रवृत्तिलाई पार्टी किमार्थ सफल हुन दिनेछैन ।
राज्यको अग्रगामी पुनःसंरचना र सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको प्रत्याभूति
मुलुक यतिबेला सङ्घीयताको बहसमा केन्द्रित छ । अत्यधिक केन्द्रीकृत राज्यलाई जनताको आ“गनसम्म पुर्‍याउन, स्थानीय तहसम्मै अधिकार निक्षेपण गरेर जनतालाई सुशासन र स्वशासनको अनुभूति दिलाउन तथा समाजको विविधता र बहुलतालाई राज्यसंरचनामा प्रतिविम्बित गर्न हामीलाई सङ्घीयता आवश्यक परेको हो र पार्टी सङ्घीयताको पक्षमा दृढ छ । तर, १२५ जातजाति, १२३ भाषाभाषी र अनगिन्ती सांस्कृतिक वैविध्य रहेको मुलुकमा पहिचानका नाममा जातीय सङ्घीयता न त सम्भव छ न यो देश र जनताको हितमा नै हुनसक्छ ।

पछाडि परेकाऔपारिएका जाति, समुदाय या क्षेत्रका निम्ति आर्थिक–सामाजिक–राजनीतिक–सांस्कृतिक अधिकारहरूको प्रत्याभूति गरिनुपर्छ र तिनलाई वैज्ञानिक मान्यताका साथ अगाडि बढाउन विशेष व्यवस्था गरिनुपर्छ । तर, केही ठूला समुदायको पहिचानलाई सम्मान गर्ने नाममा बहुसङ्ख्यक समुदायले उपेक्षित या त्रसित महसुस गर्ने खालको संरचना निर्माण गरिनुहुँदैन । पार्टी नेपाल राज्यको निर्माण र राष्ट्रको विकासक्रमलाई उपेक्षा गर्दै दाबा गर्ने गरिएको कथित ‘दुई राष्ट्रियता’ या ‘बहुराष्ट्रिय राष्ट्र’ को आग्रहलाई पूर्णरूपले अस्वीकार गर्दछ । सामाजिक सद्भाव सुदृढ हुने तथा सबल राष्ट्रिय एकता निर्माण हुने ढाँचामा राज्यको अग्रगामी पुनःसंरचना गर्ने र सामन्ती राज्यप्रणालीको ठाउँमा लोककल्याणकारी, सामाजिक न्याययुक्त र समाजवादउन्मुख शासन व्यवस्था स्थापना गर्ने सङ्कल्प गर्दछ ।
सन्तुलित विदेश नीति र असल विदेश सम्बन्ध
यस अभियानमा हामीलाई सबै अन्तर्राष्ट्रिय मित्रहरूको सद्भाव र सहयोग आवश्यक छ । हामीले माथि चर्चा गरिसकेका छौँ– हामी छिमेकीलगायत हाम्रा सबै मित्रहरूसँग सार्वभौमसत्ताको सम्मान, समानता, अहस्तक्षेप र पारस्परिक लाभमा आधारित सन्तुलित र घनिष्ट सम्बन्ध राख्न चाहन्छौ“ । हामी हाम्रा छिमेकीहरूका जायज संवेदनशीलताप्रति सजग छौँ र हाम्रा संवेदनशीलताप्रति पनि उनीहरूबाट यहीढङ्गको व्यवहारको अपेक्षा गर्दछौँ ।
मुलुक सङ्क्रमणकालको ज्यादै संवेदनशील र निर्णायक मोडबाट गुज्रिरहेको यसबेला हाम्रा मित्रहरू विशेष गरेर छिमेकीहरूको संयमित र सुझबुझपूर्ण भूमिका अपेक्षित र जरुरी छ । हामी हाम्रो राष्ट्रियता र राष्ट्रिय हितप्रति संवेदनशील छौँ । हाम्रो राष्ट्रवाद आधारभूत राष्ट्रिय हितहरूको रक्षा गर्ने हाम्रो अडान र अवधारणा हो, यो कसैका पक्ष या विपक्षमा लक्षित हुनसक्दैन । नेपालको लोकतन्त्र, शान्ति र स्थायित्वका निम्ति महत्वपूर्ण सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय समुदाय यस सङ्क्रमणकाललाई अन्त्य गरेर नेपालले सुरु गर्ने समृद्धि र विकासको अभियानमा पनि उत्तिकै सहयोगी भूमिकाका साथ आउने विश्वास हामीले लिएका छौँ ।

सामाजिक आर्थिक रूपान्तरण र समृद्धि
संविधान निर्माण नेपाली राजनीतिको यस्तो ‘पानी ढलो’  हो, जहाँबाट अधिकार प्राप्तिको राजनीतिक आन्दोलनले सापेक्षित पूर्णता प्राप्त गर्छ र समृद्धि प्राप्तिको नयाँ युग सुरु हुन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले हामीलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै आफ्ना एजेन्डाहरू कार्यान्वयन गराउन, राज्यमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्न र जनवादी व्यवस्थालाई सुदृढ गर्दै समाजवादमा सङ्क्रमण गर्न ढोका खोलिदिनेछ । राजनीतिक असहमतिहरू यसपछि पनि विद्यमान रहलान्, तर तिनको व्यवस्थापनका लागि सत्ता परिवर्तनको जुझारु सङ्घर्ष खाँचो पर्नेछैन । संविधान निर्माणस“गै प्रतिस्पर्धात्मक ढङ्गले सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको नयाँ युग आरम्भ हुनेछ ।
लामो समयदेखिको निरङ्कुश शासन व्यवस्था, सशस्त्र द्वन्द्व, प्रजातान्त्रिक प्रणालीभित्र देखापरेका विकृति र लामो सङ्क्रमणकालले जनताको विकास र समृद्धिको आकाङ्क्षामाथि ठूलो आघात पु¥याइरहेको छ ।  प्रकृति र संस्कृतिको यो विशाल वैभव, मिहिनेती, परिश्रमी र इमानदार जनताको यो उपस्थिति र यति व्यापक अन्तर्राष्ट्रिय सद्भाव हुँदाहुँदै पनि नेपाल र नेपालीले भोग्नु परिरहेका यी अभाव, गरिबी, बेरोजगारी, पछौटेपन र अन्धकार कुनै पनि अर्थमा हामीलाई स्वीकार्य र क्षम्य छैनन् । हामीले नवौँ राष्ट्रिय महाधिवेशनबाट प्रण गरेका छौँ– लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएको हाम्रो पार्टीले अब समृद्धि प्राप्तिको पनि अगुवाइ गर्नेछ । हामीले ‘बेञ्चमार्क’ पनि तय गरेका छौँ– आगामी नौ वर्षभित्रमा मुलुकलाई अति अल्पविकसित राष्ट्रको दर्जाबाट माथि उठाउने र कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्ने अवधि अर्थात् आगामी ३५ वर्षभित्र नेपाललाई न्यायपूर्ण, समुन्नत र समृद्ध राष्ट्रको रूपमा विकसित गर्ने । लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका र शान्ति स्थापनाको दिशामा सार्थक कदमका कारण जनताको विश्वास र भरोसा हासिल गर्न सफल हाम्रो पार्टीले अब समृद्धिको नेतृत्व गरेर राजनीतिक वैधता र नेतृत्वको दाबी पुष्टि गर्दै एकपछि अर्को सफलता पनि हासिल गर्नेछ ।

कमरेडहरू तथा मित्रहरू
नेतृत्वमा हावी भएको दक्षिणपन्थी अवसरवादका कारण पार्टीले २०१७ सालको प्रतिगामी कदमविरुद्ध सशक्त प्रतिवाद गर्न सकेन । तेस्रो महाधिवेशनबाट त्यस अवसरवादलाई पराजित गरे पनि केही आन्तरिक कारण र तत्कालीन अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उत्पन्न सोभियत–चीन महाविवादको प्रभावका कारण नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन र विखण्डनको दुःखद शृङ्खला सुरु भयो । त्यसमाथि सार्थक हस्तक्षेप गर्दै २०२८ सालको ऐतिहासिक झापा विद्रोहमार्फत् हामीले आन्दोलनको क्रान्तिकारी धारको पुनःगठनको नयाँ अभियान प्रारम्भ गरेका हौँ ।
नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवम् बाटोको निरूपण, आफ्नै खुट्टामा उभिएर आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प र त्याग बलिदानको उदात्त परम्परा निर्माण गर्दै सुरु भएको त्यस अभियानका दौरान हामीले आफैभित्र उत्पन्न उग्रवामपन्थी विचलनका विरुद्ध पनि वैचारिक सङ्घर्ष गर्‍यौँ र छरिएर रहेका अनेकौँ क्रान्तिकारी समूह र व्यक्तिहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्यौँ । आज नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बनेको छ र लोकतान्त्रिक आन्दोलनको पनि अग्रणी शक्तिका रूपमा स्थापित भएको छ ।

जनताको बहुदलीय जनवादको सैद्धान्तिक मान्यताको पुनःपुष्टि भइसकेको सन्दर्भमा अब यही विचारको सैद्धान्तिक धरातल र मार्गदर्शनमा दृढतापूर्वक उभिएर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अपरिहार्य छ । हामी सबैखाले उग्रवामपन्थी र दक्षिणपन्थी वैचारिक विभ्रमबाट मुक्त हुँदै यस मूलप्रवाहमा सम्मिलित हुन विभिन्न समूहमा छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी साथीहरूलाई आह्वान गर्छौं । विभिन्न कारणले पार्टीबाट बाहिरिनुभएका साथीहरूलाई निःसङ्कोच आफ्नै घर फर्किन पुनः आह्वान गर्छौैं ।

एकताबद्ध र सबल नेकपा (एमाले)ले मात्रै जनक्रान्तिको चालू प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, बुर्जुवा वर्गसँगको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्न र जनवादी व्यवस्थालाई सुदृढ गर्दै समाजवादमा सङ्क्रमण गर्ने गन्तव्यको प्रत्याभूतिको ठोस प्रत्याभूति गर्न सक्नेछ ।
केपी शर्मा ओली
अध्यक्ष तथा संसदीय दलका नेता
नेकपा (एमाले)