पाँचथर, ८ वैशाख । पाँचथरको फिदिममा सम्पन्न प्रथम फाल्गुनन्द राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत सिङगल पुरुष खुलातर्फ विभागीय टिम नेपाल पुलिस क्लबका विष्णु कटुवालले उपाधि हत्याएका छन् ।
आज बिहान भएको फाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबका विकाश श्रेष्ठलाई २१–१४, र २५–२३ को सोझो सेटमा पराजित गर्दै कटुवालले उपाधि आफनो पोल्टामा पार्न सफल भएका हुन् । प्रतियोगितामा बिजेता बनेका पुलिस क्लबका कटुवालले नगद रु ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपबिजेतामा चित्त बुझाएका त्रिभूवन आर्मी क्लबका श्रेष्ठले रु २५ हजार नगद, मेडल तथा प्रमाणपत्र हात पारे ।
यस्तै, आजै भएको भेट्रान्स तर्फ सोलखम्बुको भोजराज राखल र दलकर्ण राईको जोडीलाई २१–१२, र २१–१७ को सोझो सेटमा हराउँदै पाँचथरको महेन्द्र विक्रम थाम्सुहाङ र इन्द्रहाङ योङहाङको जोडीले उपाधि आफनो पोल्टामा पार्न सफल भएको छ । बिजेता बनेको थाम्सुहाङ र योङहाङको जोडीले रु २५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपबिजेतामा सोलुखम्बुको भोजराज राखल र दलकर्ण राईको जोडीले रु १५ हजार नगद, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यस्तै, डबलतर्फ इलामको सुमन लिम्बु र जोशेप अधिकारीको जोडीलाई २१–१८, र २१–१७ को सोझो सेटमा हराउँदै सुनसरीको सुजन श्रेष्ठ र सूर्य श्रेष्ठको जोडीले उपाधि आफनो पक्षमा पारेको छ ।
बिजेता बनेको सुजन र सूर्यको जोडीले नगद रु ५० हजार हात पा¥यो भने उपबिजेतामा चित्त बुझाएको इलामको सुमन लिम्बु र जोशेप अधिकारीको जोडीले रु २५ हजार हात पारेको छ । गत वैशाख ६ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुष सिङ्गलतर्फ राष्ट्रका एकदेखि आठौँ बरियतामा रहेका खेलाडीले सहभागिता जनाएका आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ पाँचथरका अध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो ।
जिल्लाको पर्यटन प्रवद्र्धन तथा फाल्गुनन्दको बारेमा प्रचारमासमेत सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएका छन् । रासस















प्रतिक्रिया