२ कार्तिक २०८३, सोमबार

भीभीआईपीको सवारीमै बित्छ प्रहरीको समय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-Nepaliकाठमाडौं, ६ वैशाख । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी पछिल्लो समय अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमस्थलको सुरक्षामा केन्द्रित भएको छ ।

धर्ना, जुलुस र विरोध कार्यक्रममा पनि प्रहरीको अधिकांश समय बित्ने गरेको छ । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले २ हजार ५ सय दरबन्दी रहेको काठमाडौं परिसर र मातहतका वृत्तका झन्डै आधा प्रहरीको समय यस्तै काममा बित्ने गरेको स्वीकारेको कान्तिपुर दैनिकले छापेको छ ।

प्रहरी सबैभन्दा बढी व्यस्त अतिविशिष्ट व्यक्तिको सवारीमा भइरहेको छ । गएको साउनदेखि अहिलेसम्म प्रहरीले प्रधानमन्त्री सुशील कोइरालाको ८६ वटा सवारीमा सुरक्षा प्रदान गरेको छ ।

प्रधानमन्त्री सहभागी हुने औपचारिकरअनौपचारिक कार्यक्रममा सहभागी हुन जाँदा बाटोदेखि कार्यक्रमस्थलको सुरक्षा प्रहरीले प्रदान गरेको हो । प्रधानमन्त्री निवास बालुवाटार र प्रधानमन्त्रीको सुरक्षाका लागि ८० प्रहरीको दरबन्दी छ ।

गत साउनदेखि हालसम्म प्रहरी राष्ट्रपति रामवरण यादवको ५१ वटा सवारीको सुरक्षामा व्यस्त हुनुपर्‍यो ।

औपचारिक बाहेकका अन्य कार्यक्रममा प्रहरी यति धेरै समय व्यस्त भएको हो । उपराष्ट्रपति परमानन्द झाको औपचारिक तथा अनौपचारिक गरी १ सय ४३ वटा सवारीमा प्रहरीले सुरक्षा दिएको छ ।

‘अतिविशिष्ट व्यक्तिको सवारी हुँदाँ सुरक्षा दिनैपर्छ’, महानगरीय प्रहरी आयुक्त कार्यालयका एक वरिष्ठ प्रहरी अधिकृतले भने, ‘तर अधिकांश कार्यक्रम अतिविशिष्ट व्यक्ति जानुपर्ने किसिमका हुँदैनन् ।’

विशिष्ट व्यक्तिहरू आफू सहभागी हुने कार्यक्रमको मूल्यांकन नै नगरी गइदिंदा सुरक्षामा कठिनाइ हुने ती अधिकारीको भनाइ छ ।

अतिविशिष्ट व्यक्तिको औपचारिक सवारीमा प्रहरीलाई सडकमा उभ्याइने गरिएको छ । त्यो सुरक्षाका लागि भन्दा पनि ुप्रोटोकलु का लागि भएको प्रहरीहरू बताउँछन् ।

यी बाहेकका अन्यमा सडकमा प्रहरी नै उभ्याएर सडक खाली गराउने वा सवारी चलाउने भन्दा चुस्त ट्राफिक व्यवस्थापन गर्नुपर्ने अर्का एक अधिकारी बताउँछन् । ‘सार्क सम्मेलनका दौरान भीभीआईपीको सवारी हुने मुख्य मार्गहरूमा सीसीटीभी जडान गरिएको छ’, ती अधिकारीले भने, ‘त्यसलाई निगरानी गरेर व्यवस्थापन नगरी अहिले पनि सडकमा डण्ठा बोकेका प्रहरी उभ्याइने गरिन्छ ।’

बन्द, हडताल, नाराजुलुस लगायतमा पनि प्रहरीको उपस्थिति आवश्यक हुने हुँदा अपराध नियन्त्रण र सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरीलाई समस्या पर्ने गरेको छ । मुख्य जिम्मेवारी अपराध अनुसन्धान र नियमित गस्ती, पेट्रोलिङ भए पनि त्यसमा चाहिँ कम ध्यान गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘अनुसन्धान र नियन्त्रण त थाती राखेर पछि गरे नि हुन्छ’, ती अधिकारीले भने, ‘धर्ना जुलुसमा प्रहरी समयमा पुगेन भने अपजस आउँछ ।’