२९ आश्विन २०८३, बिहिबार

ए मेरी आमा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mother-n-child

ए मेरी आमा, मैले आज तिमीलाई आसु बगाइरहेको देखेँ। म आज सपनामा काठमाडौँका गल्लीहरू चहार्दै थिएँ। त्यत्तिकैमा तिम्रो ज्युँदो चेहरा देखियो र हेर्दा हेर्दै त्यो अनुहार एउटा विशाल तस्विरका रूपमा फेरियो। त्यो तस्विरको दुई आँखाबाट आसु झरिरहेको थियो। त्यो तस्विर हेर्दै थिए कि झस्याङ ब्युझिएँ। यता फर्केर, जहाँ सिरानीमुनि मोबाइल राखेको थिएँ, छामछाम छुमछुम गरे। मोबाइल हातमा लाग्यो। समय हेरेको त रातको ३ बजेर २ मिनेट गएको रहेछ। त्यसपछि आमाका विषयमा पुराना स्मरणहरू दिमागमा एउटा चलचित्र झैँ चलिरहन थाल्यो।

अब उठेर केही आमासँगका भावनाहरू कापीमा उतारौँ कि झैँ लाग्यो। तर हाम्रो सानोठिमी भक्तपुरमा रहेको केन्द्रीय प्रशिक्षण केन्द्रको पार्टी क्लासको नियम अनुसार राती १० बजे सुतिसकेपछि कसैलाई डिस्टर्ब नगर्ने भन्ने नियम थियो। त्यसैले बत्ती बाल्दा साथीहरूलाई अप्ठयारो हुन्छ कि भनेर लेख्न सकिनँ, न त निदाउन नै सकेँ। त्यसपछि मनका कल्पनाहरूमा अनेकाँै पटक डुबुल्की मार्न थालेँ। आमाको तस्विरमा देखिएको आँसुको विषयमा कल्पना गर्न थालेँ। उहासँग भावनामै संवाद गर्न थालेँ। शायद आमाको तस्विरको आँखामा देखिएको त्यो आँसु मलाई नै सम्झेर होला, मेरो छोरा अहिले कहा होला? के गर्दै होला? खाना खाएको होला कि भोकै तडपिएको होला? साथीहरूसँगै होला कि आन्दोलनमा गिरफतार भै हिरासतको चिसो छिँडीमा होला भन्दै मेरै सम्झना र पिरले रोइरहनु भएको होला भन्ने लाग्यो। त्यसपछि म पनि त्यो आँसु बगिरहेको आमाको तस्विरसँग भावनाबाटै कुरा गर्न थालेँ। उहाँको त्यो तस्विरले मलाइ प्रश्न गर्थ्यो– ए किस्ने, तँ किन यसरी हिडछस् हँ? म बुढी आमालाई छाडेर यी साना लालाबाला, केटाकेटी, जहानपरिवारलाइ छोडेर। के तँलाई आप््कनो परिवारको माया, ममता र चिन्ता छैन? बाबु त यसरी बरालिँदै नहिड्। यो राजनीति भन्ने त हामी जस्ता गरिबीले सताइएका र पिल्सिएका मान्छेहरूले गर्ने विषय होइन। यो त धनिमनी, पढेलेखेका सम्पत्तिवाल मानिसहरूले गर्ने चिज हो। त्यसैले त आफ्नो घरको जिम्दारीतिर लाग बाबु। यी केटाकेटीहरूको भविष्यतिर हेर। म त डुब्न थालेको घाम जस्तै छु। अहिले छु,पछि नहुन सक्छु। त्यसैले त हामीबाट अलग न हो छोरा। त यसरी हिँड्दा यी छोराछोरीलाई कसले हेर्छ? कसले खान दिन्छ? यसै ठाउँमा आप््कना छिमेकीले कस्तो प्रगति गरेका छन्? आफ्ना नानीबाबुहरूलाई कति राम्रा, राम्रा निजी बोर्डिङहरूमा पढाएका छन? उनीहरूका केटाकेटीहरू टाइसुट लगाएर, टिफिनमा मिठामिठा खाने कुरा झोलामा हालेर जान्छन्। तर हाम्रा केटाकेटी च्यातिएका कपडामा टालो हालेर स्कुल जाँदा तँलाई सरम लाग्दैन छोरा? त त बिग्रिस् बाबु। यी साना लालावालाको भविष्य नबिगार। यी तल्तिर मात्थिर रहेका छिमेकीहरूका घर हेर। कति अग्ला अग्ला बनिसके। हाम्रो भनेको यही बारेको घरलाई लिपपोत गर्दै पुस्ता बितिसक्यो। अब छोड यो राजनीति र समाजसेवा भन्ने कुरा। बाबु, तलाई हुर्काउन मैले कम्ति दुःख गरको होइनँ। अरूको निमेक गरेर आफूले आधा पेट खाएर तँलाई हुर्र्काएकी हुँ। आधा रातमा उठेर डोको बोकी, खाली खुट्टा हिँडेर मकै ल्याई सडकको डिलमा बसेर मकै पोल्दै बेच्दै गरी तँलाई ठूलो बनाएकी हुँ। तँ अब ठूलो भइस् छोरा। बिवाह गरिस्। केटाकेटी पनि जन्मिए। तँबाट हामीले अहिले धेरै आशा र भरोसा गरेका छौँ। अब घरमै बस्। यहीँ केही गर। मेरै आँखाका अगाडि बसेर जहान–परिवारको हेरविचार गर्दै जिम्दारीतिर लाग। उहाँले यही भन्दै सम्झाउँदै हुनु हुन्थ्यो। त्यसपछि मैले पनि आमासँग आप््कना कुरा सविस्तार राखेँ। उहाँले पनि सुन्दै गर्नु भयो।

आमा हजुरले मलाई हुर्काउन, बढाउन जुन प्रकारले कष्टपूर्ण र दुःखदायी जीवन बिताउँदै, दुःखका काँडेतारहरू पन्छाउँदै, भविष्यप्रति उत्साहित भएर हेर्नु भयो र मबाट हजुरहरूले धेरै आशा र भरोसा पनि गर्नु भएको छ। स्वाभाविक रूपमा एउटा छोराबाट आमाबाबाहरूले आशा गर्ने कुरा ठिकै पनि हो। के गर्नु आमा? मलाई पनि त हजुरहरूको सेवा गर्न र आफ्नो सारा जीवनलाई अर्पण गर्ने मन थियो। हजुरहरूसँगै जीवन बिताउने रहर थियो। तर के गर्ने आमा? तपाई–हामीहरू जति दुःख गर्दा पनि कष्टपूर्ण जीवन बाच्नु पर्ने आँसु पिएर रमाउनु पर्ने, दुई रोटीका लागि विदेशका गल्लीहरूमा अपमानित भएर बस्नु पर्ने, घरका चिसा चुल्हा तताउन संसारका देशहरूमा भौतारिनु पर्ने यही राजनीति व्यवस्थाले गर्दाखेरि नै हो। हेर्नोस् न, मेरी आमा आज पनि एक छाक खान र एक आङ ढाक्न नपाई बाबुबाजेले आर्जेको पाखोवारी साहुकहाँ बन्दगी राखी विदेशका गल्लीहरूमा अपमानित भएर म जस्ता लाखौँ तिम्रा छोराछोरीहरू आप्कनो देशमा रोजीरोटी नपाई भौतारिरहेका छन्। आफ्नै देशमा जीवनभरि माटो र ढुङ्गासँग पौठेजोरी खेल्दा पनि पेटभरि खान र एक आङ ढाक्न नपाएर जीवन बाँचेका छन्। जसले मेहनत गर्छ, पसिना बगाउँछ, त्यसैले नै नारकीय जीवन बिताउनु परिरहेको छ। यस्तो खालको जुन राजनैतिक व्यवस्था छ, जसलाई परिवर्तन गरेर संसारका शोषित–पीडित जनताको नेतृत्वमा चल्ने जनवादी राजनैतिक व्यवस्थाका लागि, अन्याय र अत्याचार सहेर मस्त निन्द्रामा सुतेका जनतालाई ब्युझाउनु वा जीवनको सुमार्ग खोज्दा खोज्दै भौतारिरहेका लाखौँ, करोडौँ आमाहरूको बलिन्द्र आँसुका धाराहरू पुछ्ने मेरो कर्तब्य होइन र आमा? मैले यसो भनेर सम्झाएँ उहाँलाई। उहाँ भने स्तब्ध भएर आशापूर्ण नजरले मलाई एकोहोरो हेरिरहनु भयो। हेरिरहनु भयो।