मृत्यु यथार्थ हो तर यसलाई पत्याउन गाह्रो हुन्छ, यो मानिसको स्वभाव हो । नेकपा एमालेका नेता रामनाथ ढकालको मृत्युलाई अझै पनि पत्याउन असामान्य रुपले गाह्रो भएको छ । यद्यपि रामनाथ ढकाललाई हामीले गुमाइसकेका छौँ । यसर्थ उहाँको मृत्यु यथार्थ बनिसकेको छ । स्वर्गिय नेताप्रति भावपुर्ण श्रद्धान्जली ।
रामनाथ ढकालसँग मेरो पहिलो भेट सायद बिभाजित नेकपा एमालेबाट बनेको नेकपा माले र एमालेको एकीकरणपछि पहिलोपटक एमाले लुम्विनी अंञ्चल कार्यालय बुटवलमा भएको हो । त्यसबेला पनि उहाँ पार्टीको अंञ्चल इन्चार्ज हुनुहुन्थ्यो । पार्टी एकीकरणपछि पहिलोपटक भेट हुँदा उहाँले राजनीतिक जिम्मेवारीका लागि मलाई सोध्नुभयो । त्यसबेलासम्म म बिद्यार्थी राजनीतिमा सक्रिय हुँदै पत्रकारितामा लागेको थिएँ । पत्रकारितामा सक्रिय भएको जानकारी दिएपछि उहाँले प्रेस चौतारीको जिल्ला सदस्यमा मनोनित गर्न चौतारीका तत्कालिन जिल्ला अध्यक्ष मोहन चापागाईलाई निर्देशन दिनुभयो । अनि म प्रेस चौतारीमा आवद्ध भएको थिएँ ।
स्वर्गीय नेता ढकालसँगको पहिलोपटकको भेटमा नै मैले एक शालिन र कुशल नेतृत्व क्षमता भएको नेताको रुपमा बुझेको थिएँ । स्वर्गीय रामनाथ ढकाल एक सरल, शालिन र बैचारिक युवा नेतृत्वका साथै प्रखर बक्ता बिकासवादी नेता हुनुहुन्थ्यो । त्यसपछि देशको राजनीतिक अवस्था जटिल बन्दै गयो । यही राजनीतिक जटिलताकै क्रममा देशमा तत्कालिन राजा ज्ञानेद्रको शाही ‘कू’ बिरुद्ध घोषित आन्दोलन शसक्त नभएको अवस्थामा २०६२ सालको मंसिर ४ गते नेकपा एमालेले बुटवलमा आयोजना गरेको बिशाल आमसभा उहाँको नेतृत्वमा आयोजना भयो । त्यहि सभापछि देशमा २०६२–६३ को आन्दोलन शसक्त भएको थियो । एमालेले बुटवलमा आयोजना गरेको त्यो आमसभा रामनाथ ढकालको नेतृत्वकै कारण सफल भएको थियो ।

देशमा दोस्रो ऐतिहासिक जनआन्दोलनको यस क्षेत्रमा एमालेको तर्फबाट नेतृत्व गर्ने रामनाथले जिम्मेवारी पाउनुभएको थियो । स्वभाविकै थियो, उहाँ पार्टीको यस क्षेत्रको इन्चार्ज भएका कारण आन्दोलनको जिम्मेवारी पाउनु पनि । तर, संयोगनै म आफू पनि २०६२–६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनको अवस्थामा प्रेस चौतारीको जिल्ला अध्यक्ष थिएँ । जसका कारण हामीमा एकातर्फ पत्रकारिता क्षेत्रबाट आन्दोलन नेतृत्व गर्नुपर्ने जिम्मेवारी थियो भने अर्कोतर्फ पार्टीको आन्दोलनको कार्यक्रमलाई पनि सहयोग गर्नुपर्ने जिम्मेवारी । दोस्रो जनआन्दोलनको उत्सर्गका बेला बुटवल, भैरहवा लगायतका क्षेत्रमा जनताको सागर उर्लिएको थियो । आन्दोलनका कारण सबै क्षेत्र बन्द थियो । तर, नेताहरुलाई आन्दोलनमा सहभागी हुनुपर्ने एकैदिनमा बिभिन्न क्षेत्रका कार्यक्रममा सहभागी हुनुपर्ने अवस्थामा सवारी साधनको समस्या थियो । त्यस अवस्थामा प्रेसको गाडीलाई सहजै आवागमन अनुमति भएकाले एमालेका नेताहरुलाई बिभिन्न कार्यक्रममा पुर्याउने जिम्मेवारी मैले पूरा गरेको थिएँ । त्यसक्रममा रामनाथ तत्कालिन अवस्थामा अंञ्चल सचिवको जिम्मेवारिमा रहनुभएका नेत्रप्रसाद पन्थीसँग धेरै ठाउँमा सँगै हिँडियो ।
नवलपरासीको आन्दोलनमा गोली लागेर सहिद हुनुभएका बिष्णु पाण्डेको १३ औं दिनको कार्यक्रममा प्रमुख अतिथि बनेर जानुपर्ने भएपछि मैले नै मोटरसाइकलमा त्यहा पुर्याएँ । तर, सहिद पाण्डेको घर भएको ठाउँमा आयोजित कार्यक्रममा हामी पुग्दा त तत्कालिन अवस्थामा भुमिगत रहेको माओवादीले मंञ्चनै कब्जा गरेर आफ्ना कार्यक्रम मात्र गर्ने योजना बनाएको देखेपछि रामनाथले तत्कालै त्यस्तो गतिविधिमा आपत्ति जनाउनुभयो । युद्धमा रहेको माओवादी रामनाथले आपत्ति जनाउनासाथ पछि हट्न बाध्य भयो ।
उहाँको त्यो अन्तिम कुराकानीले मलाई झस्काइरहन्छ । र, कहिलेकाँही त लाग्छ, रामनाथ दाइ हामीलाई भेट्न आउनुहुन्छ । कहिलेकाँही त अझै पनि मृत्युको खबर झुट्टाझैँ लाग्छ । सायद आफूले उहाँको पार्थिब शरीरलाई प्रत्यक्ष नदेखेर पनि हो कि !
जनआन्दोलनका क्रममा धेरै ठाउँमा सँगै हिँड्दा उहाँसँग धेरै आत्मियता बढेको थियो, पछि उहाँ पहिलो संबिधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचन लडनुभयो । गुल्मीमा जिल्लाको खड्गकोट गाविसमा जन्मिएर गाउकै स्कुलमा अध्ययन गर्दादेखिनै सानैदेखि राजनीतिमा सहभागी हुनुभएका स्वर्गीय रामनाथ ढकाल युवाहरु माझ लोकप्रिय हुनुहुन्थ्यो । बिक्रमसम्वत २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही ५ बाट निवार्चित ढकाल संसदको राज्यव्यवस्था समितिका सभापति भएपछि अझै लोकप्रिय नेताको रुपमा स्थापित हुनुभयो ।
नेकपा एमालेको ८ औं महाधिवेशन बुटवलमा हुँदा बुटवल मण्डपमा लाखौँ जनता उतार्दा बुटवलमा रामनाथको ब्यवस्थापनमा सम्पूर्ण काम भएको थियो । तर, पार्टीको नेतृत्वको लागि निर्वाचन हुने भएपछि नेतृत्वमा सहमति नभए आफू कुनै पदमा पनि नलड्ने घोषणा गर्नुभयो ।
निर्वाचनपछि उहाँ राज्य ब्यवस्था समितिको सभापति हुँदा धेरैपटक म उहाँसँगै निर्वाचन क्षेत्रमा पुगेको छु । त्यसक्रममा उहाँले जनताप्रति देखाउने आत्मियताबाट र जनताले जनताले उहाँसँग आफ्ना समस्या राख्ने र देखाउने सम्मानबाट स्पष्ट हुन्थ्यो । उहाँले जहिले पनि मसँग भन्नुहुन्थ्यो – मेरो निर्वाचन क्षेत्र निकै पिछडिएको क्षेत्र छ, बिकासका लागि कहिलै पुर्वाग्रही भावना राख्नुहुँदैन । बिकास निर्माण सबैसंगको सहकार्यबाट मात्र सम्भव हुन्छ भनेर सहकार्यलाईका साथका गर्नुपर्छ ।’ यसले कार्यकर्ता र सर्वसाधारण जनतामाझ रामनाथ लोकप्रिय रहेको उहाँको निर्वाचन क्षेत्रमा पुग्दा प्रष्ट हुन्थ्यो ।
रामनाथ ढकाल भन्नेबित्तिकै मेरो दिमागमा मुसुक्क मुस्काएर कुरा गर्ने एउटा मानिसको अनुहार जहिल्यै आउँथ्यो । चटक्क परेको ढाकाटोपीमा उहाँको आकर्षक व्यक्तित्व र मिठो बोली रामनाथको परिचय थियो । यसपटक अस्पतालमा भर्ना भएको खवर सुनेपछि मैले धेरैसँग भनेको थिएँ– ‘रामनाथ जसरी पनि फर्कनु हुनेछ, उहाँले मृत्युलाई जित्नुहुनेछ ।’ तर, मेरो बिश्वासलाई लाई मृत्युले धोका दियो र मृत्युले उहाँलाई जित्यो र लिए गयो ।
बिक्रम सम्वत २०१९ मा गुल्मीको खड्गकोट गाविस–३ मा दीनानाथ र देवकलाका छोरा रामनाथ एमालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका रामनाथलाई पार्टीको उपल्लो निकाय पोलिटब्युरो सदस्य र नेकपा एमालेको लुम्बिनी अञ्चल इञ्चार्ज बनाएको भए पनि त्यो जिम्मेवारी पुरा नगरी बिदा हुनुभयो ।
विधिको विडम्बना यही रहेछ । जो मानिस निरन्तर स्वास्थ्यमा ध्यान दिन्छ, हँसमुख छ र हट्टाकट्टा छ, ऊ निश्चय नै लामो समय यो धरतीमा रहन्छ भन्ने लाग्छ । रामनाथले मृत्युलाई अवश्यपनि जित्ने छन् भन्ने मेरो बिश्वासमाथि धोका भयो । अन्ततः मृत्यु बलवान रहेछ म भ्रममा रहेछु । उहाँको त्यही उज्यालो अनुहार आँखामा आइरहेको छ । तर, के गर्ने मृत्यु बास्तविकता हो रहेछ ।
पछिल्लो पार्टीको नबौं महाधिवेशनपछि पाल्पा पार्टी काममै जान बुटवल आउनुभएका बेला फोन गर्नुभयो । भरतजी पार्टीको कामले पाल्पा जाँदै छु, फर्केर आउँछु र भेटौँला, भन्नुभयो । तर भेटने मौका मिलेन । मेरा लागि उहाँ संगको सायद यही नै अन्तिम कुराकानी भयो । त्यो अन्तिम कुराकानी र मिठो स्वर सदैव मेरो कानमा गुञ्जिरहेको छ । उहाँको त्यो अन्तिम कुराकानीले मलाई झस्काइरहन्छ । र, कहिलेकाँही त लाग्छ, रामनाथ दाइ हामीलाई भेट्न आउनुहुन्छ । कहिलेकाँही त अझै पनि मृत्युको खबर झुट्टाझैँ लाग्छ । सायद आफूले उहाँको पार्थिब शरीरलाई प्रत्यक्ष नदेखेर पनि हो कि ! तर पनि रामनाथ दाइको निधनले लुम्बिनीको एउटा असल छोरा र कर्मठ नेता त गुम्यो नै देशले समेत अपुरणीय क्षति व्यहोरेको छ । अझ रामनाथको निधनले त एमालेमा निकै ठूलो क्षति भएको छ, रामनाथ जस्तै नेता जम्माउन एमालेले लुम्बिनीमा दशक मेहनत गर्दा पनि असम्भव छ ।
















प्रतिक्रिया