३० आश्विन २०८३, शुक्रबार

बागलुङ उपनिर्वाचन सन्देश: एमाओवादीले किन लज्जास्पद हार्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Kc-baglung

– कमलराज भट्ट/समाचार टिप्पणी

काठमाडौँ, २९ चैत । केन्द्रीय नेताहरुको बाहुल्यता रहेको बागलुङ जिल्लामै एकीकृत नेकपा माओवादीले लज्जास्पद हार व्यहोरेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा ६ हजार ३ मत ल्याएको एमाओवादीले यसपटक त्यसको पचास प्रतिशत मत पनि ल्याउन सकेन् । यसपटक एमाओवादीले पाएको २५ सय ५ मतले जमानत समेत बच्न सकेन ।

रोचक के रह्यो भने अघिल्लो संविधानसभामा पनि कृष्ण केसी नै उम्मेद्वार थिए, यसपटक पनि कृष्ण केसी नामकै अर्का उम्मेदवार । अघिल्लोपटकका उम्मेद्वार कृष्ण चर्चित विद्यार्थी नेता थिए, जो भैरबनाथ गणमा बन्दी बनाइएका कारण केन्द्रीय राजनीतिमा चर्चामा छन् ।

यसपटकका उम्मेदवार कृष्ण भने प्रवासी नेपाली हुन् । द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका उनी द्वन्द्वकै बेला धन कमाउन जापान पुगेका हुन् । उनले कार्यकर्तालाई राम्रोसँग नै चिन्दैनन्, न त कार्यकर्ताले नै उनलाई राम्रोसँग चिन्ने अवस्था बन्यो । स्थानीय समुदायमा भिजेको उम्मेदवारको अभावमा पनि एमाओवादीले गतिलै झापड खायो, बागलुङको यस निर्वाचनमा । एमाओवादीले केन्द्रीय प्रवक्ता समेत रहेका दीनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेपनि बिरामी परेका कारण उनले उम्मेदवार नबन्ने निर्णय गरेका थिए । तैपनि दीनानाथको विकल्प कृष्ण बन्न सकेनन् । अहिलेको मतपरिणामको अवस्था हेर्दा दीनानाथ उठेको भए पनि एमाओवादीको हार पक्का थियो, तर अहिले भन्दा केही मत भने बढी पाउने सम्भावना रहन्थ्यो ।

अझ् बागलुङका पूर्वमेयर ऋषिराम शर्माको निधन पनि एमाओवादीको यो गति हुनुको अर्को कारण बन्यो । बागलुङ बजारका बासिन्दा शर्माको दुई महिना अघिमात्रै  निधन भएको थियो । संविधानसभा निर्वाचनको मुखैमा एमाले छाडेर एमाओवादी गएका  शर्माले बागलुङ बजारमा एमालेको भोट काटेका थिए । त्यतिबेला शर्माका कारण एमाओवादीले एमालेको केही भोट चोरेको थियो ।

एमाओवादीका केन्द्रीय नेताहरु दीनानाथ शर्मा, देवेन्द्र पौडेल, बलावती शर्मा, हिमाल शर्मा, लिलाबहादुर थापा, विद्यार्थी नेता कृष्ण केसीको गृहजिल्ला भएर पनि उनीहरुको खास पकड जिल्लामा देखिएन् । कारण– उनीहरु द्वन्द्वको दौरान विभिन्न जिल्ला चहारे, तर आफ्नै जिल्लामा संगठन बनाउन सकेनन् । न त स्थानीय समुदायको आकर्षण नै उनीप्रति थियो ।

यसो त बागलुङमा माओवादीको विभाजनपछि मोहन वैद्य पक्ष हाबी भएको छ । अझ पछिल्लोपटक विप्लव माओवादीको जन्म भएपछि त्यो पार्टीमा जाने पनि प्रचण्ड र वैद्यबाट विभाजित कार्यकर्ता नै हुन् । यसका कारण पनि माओवादीको मत खस्कियो ।

कम्युनिष्टको किल्ला मानिने बागलुङमा एमाओवादी न त एमाले र जनमोर्चासँग शक्तिसँग नै मिल्न सक्यो । त्यसो भएको भए पनि उसको सुरक्षित अवतरण सम्भव थियो ।

राष्ट्रिय राजनीतिको प्रतिकुल अवस्था पनि एमाओवादी हारको अर्को कारण हो । किनकी हरेक विषयमा बखेडामात्रै झिकिरहने प्रवृतिका कारण एमाओवादीप्रतिको विश्वास अहिले जनतामाझ ह्वात्तै घटेको छ । निर्वाचन जित्न तथा मत पाउन जनाताको मत जित्नै पर्छ । एमाओवादीले संविधानसभामा गरेको तोडफोड, त्यसपछिका उसका सडक प्रदर्शन र पछिल्लो असफल आमहड्तालले जनताप्रति क्रोध जगाउनु स्वभाविक नै थियो ।

यसअघि संविधानसभा चुनावमा एमाओवादीले केही गर्छ भनेर जनताले धेरथोरै भएपनि भोट दिएका थिए । देशका केही ठाउँबाट एमाओवादीले जित्यो पनि । केही ठाउँबाट सम्मानजनक भोट पनि पायो । तर, संविधानसभामा पुगेपछि तोडफोड र बन्द अड्ताल गर्नमै लागेपछि जनता माओवादीप्रति झन निराश भए । केही गर्ला भनेर माओवादीलाई भोट दिएकाहरु आफूलाई धिक्कार्न थाल्ने अवस्था सिर्जना भएको छ । जुन एमाओवादीले बुझेका छैनन्, या बुझ पचाइरहेका छन् ।

जापान बसेर नेपालमा चुनाव लड्न आउने उम्मेदवारलाई झन् जनताले चुनावमा कसरी पत्याउने ? स्थानीय समुदायमै भिजेकी भनिएकी एमालेकी मना केसीको त केही लागेन भने एमाओवादी उम्मेदवार कृष्ण केसीलाई चुनाव जित्नु फलामको च्यूरा हुने नै भयो ।

अवस्था यस्तै रहने हो भने आगामी दिनमा एमाओवादीलाई लोकतान्त्रिक अभ्यासमा होमिनु निकै चुनौतीपूर्ण अवस्था रहेको बागलुङको यस निर्वाचनले पुष्टि गरिदिएको छ । माओवादीले समयमै सही बाटोमा नहिडेँ जनताले कुनै पनि रुपमा स्वीकार गर्ने छैनन् । लोकतन्त्रमा जनता नै बलियो भएकाले त्यस्तो परिस्थितिमा अस्तित्व रक्षा गर्न समेत गाह्रो हुनेछ । बागलुङको चुनावको परिणाम त उदाहरण मात्रै हो ।

जनता चाहन्छन्, एमाओवादीले जति मत पाएको छ त्यसको सम्मान गरोस् । र, जनइच्छा अनुसार अगाडि बढोस् ।