३० आश्विन २०८३, शुक्रबार

प्रशुति गृहको एउटा दर्दनाक घटना: यस्तो कुनै पनि आमालाई कहिल्यै नहोस !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baikuntha-dhakal

स्टेचर खाली गर त ।

बिरामीलाई तुरुन्त ओटीमा लग्नु पर्‍यो ।

इन्टरकलमा कुराकानी गर्दै एक नर्स

ओटी (अप्रेसन थेयटर) खाली छ ।

छैन ।

हो र ?

हो, हो । अर्कोको अप्रेशन चलिरहेको छ । टाइम लाग्छ ।

देख्दै नदेखेको भर्खरै धर्तीमा आएको मानिसलाई शव उल्लेख गरेको कागज लिनको लागि साक्षी बस्दै गर्दा सुनेको आवाज हो ।

मनमनै अब आमा र सन्तानको ज्यान नै जाने भयो, कत्तिबेला के अप्रिय खबर सुन्नुपर्ने यो यो काननले कुनै ठेगान छैन ।

सिस्टर तपाईँहरु कहाँ कति वटा ओटी छ ।

दुईवटा ।

ठीक छ भन्दाभन्दै मेरो बहिनीलाई पनि मार्नु हुन्छ कि ? मनमनै प्रश्न गरें । मुखबाट आवाज निकालिन । प्रसुति गृह लैजानु सट्टा अन्य कुनै अस्पताल लगेको भए, बच्चा बाँच्थ्यो कि ?

 

अनि अहिले दुई वटै बिजी हो ?

त्यही भन्ने खबर आयो ।

अब ती चिच्याइरहेको महिलालाई तलमाथि भइहाल्यो भने ?

हामीसँग कुनै उपाय र बिकल्प छैन ।

मेरो पनि च्यूँ…….च्यू………गर्नुको विकल्पै रहेन यत्तिखेर ।

यहाँ कति जनालाई सुत्केरी गराउन सकिन्छ यहाँ एक पटकमा ?

आठ जना ।

अनि ड्यूटीमा कति जना हुनुहुन्छ, तपाँईहरुलाई ?

दुई जना ।

दुई जनाले आठ जनालाई हेर्न भ्याउनु हुन्छ त ?

भन्न मिल्दैन (माथिबाट प्रमिशन लिएर मात्रै हामीले बोल्न पाउँछौं)

के जनताले जान्न पाउने हक राख्दैनन ?

पाउँछन किन नपाउनु, तर हामीले आदेश आएपछि मात्रै भन्न मिल्छ ।

(यो सम्बाद हो, बिहिबार थापाथली प्रसुति गृहको सुत्केरी गराउने अति गोप्य कक्षमा रहेका नर्ससँगको)

भित्र प्रबश पीडाले छटपटाइरहेकी महिला आवाज झन् झन् ठूलो भइरहेको थियो । जत्तिनै आवाज ठूलो भए पनि उनको पालो आउने हैन, किनकी ओटी बिजी छ ।

000

च्याहाँ……च्याँह……

यही आवाजले आमाको सबै पीडा बिर्साउने ।

अनि नारीले पाउने सबैभन्दा ठूलो सन्तुष्टि र आफूलाई पूर्ण भएको ठान्ने ।

तर, न पीडा बिर्साउन पाइयो, न त आफैंले जन्माएको पहिलो सन्तानको, पहिलो र अन्तिमपटक मुख हेर्न पाइयो । आँखै अगाडि हुँदा आवाजको खोजीमा भौतारिनु पर्ने । आँखाबाट टाढा पुगेपछि सक्किगो नि !

अस्पतालमा कुनै कुनै कोठाहरु हुन्छन, जहाँ पुरुषलाई बर्जित गराइन्छ । म पनि त्यही सोचेर ढोकाबाट च्याउँदै फर्कदैं गरेको थिएँ । तर सुत्केरी भइसकेपछि, वार्डमा सार्नुभन्दा अगाडि राखिने ठाउँमा जान पाइने रहेछ । गएँ । भर्खरै आमा भएकी बहिनीको निधार छामें ।

कस्तो छ नानी , तिमीलाई ?

मेरो भन्दा मलिन स्वरमा जवाफ फर्काइन

ठीक छ ।

अहिले गाह्रो त भएको छैन नि छैन ?

छैन ।

यत्ति भनें, आँखामा आँखा जुधाउन सकिन ।

मैले कुनै अपराध गरेको थिइँन, तर आँखा जुधाउन सकिन । चस्माले छोपेका एक जोडी आँखामा औंलाहरु पुर्‍याउन सकिन । आँसुले आँखाका आलीहरु नाघिसकेका थिए, अब केहिबेरमा वार्डमा सार्छ अनि सजिलो होला । यत्ति भनेँ, अनि हतार–हतार बाहिर निस्केर आँखालाई ओभानो र गोजीमा भएको रुमालको एउटा छेऊ चिस्याएँ ।

ल बधाई छ, तपाँईले पुत्र/पुत्री लाभ गर्नुभएको छ ।

यही वाक्यको प्रतिक्षामा बसेका बाबालाई डाक्टरले पहिलो पटक आएर भने ।

बच्चाको अबस्था एकदमै क्रिटिकल छ, हामीले भेन्टिलेटर राखेर कोसिस गरिरहेका छौं ।

त्यसको एक घण्टा पछि फेरी डाक्टर बाहिरिए ।

‘माफ गर्नुहोला, हाम्रो प्रयास सफल भएन ।’

सबैको शीर निहुरिए, आँखा भरिए । कसले कस्को अनुहार हेर्नु के भन्नु । आँखा अगाडिका डाक्टर कता गए थाहा नै पाइएन ।

राति नै पेट दुखेपछि बहिनीलाई अस्पताल पुर्‍याइएको रहेछ । हत्तारहतार आकस्मिक कक्षमा लगियो । हिजोमात्रै अस्पताल गएर चेकजाँच गराउँदा सबै ठीक छ । ‘आमा र बच्चालाई कुनै खतरा छैन । अब दिन नजिकै आउँदैछ, अप्ठ्यारो भयो भने अस्पताल आइहाल्नु होला ।’ – दिउँसो चेकजाँचमा डाक्टरहरुले भनेका थिए ।

२०७२ साल बैशाख ४ गतेका लागि डेट दिइएको थियो । डेट आउन बाँकी नै थियो । कुनै समस्या छैन भनेपछिको आनन्द त बेग्लै भयो । नियमित जाँच भइरहेको थियो, कहिल्यै पनि कुनै खराबी नै देखिएन । खराबी देखिएर पनि डाक्टरहरुले नभनेको भए बेग्लै कुरा ।

बहिनीसंगै अस्पताल गएकाहरुसंग सबैकुरा बुझें । आमाको अबस्था ठीक छ, तर बच्चालाई बचाउन नसकेको डाक्टरहरुले बताए ।

जे सुन्नु नपरोस भनेको त्यही सुन्नु प¥यो ।

किन यस्तो भयो रे ?

बच्चा जन्मनु अघिसम्म कुनै खराबी छैन, तपाँईको बच्चा सबैभन्दा राम्रो छ भन्ने जन्मने बित्तिकै यस्तो कुरा गर्छन ।

मलाई त भाउन्न भो ।

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई फोन गरें । आफू नेपाल एफएममा कार्यरत रहेको र यत्तिखेर अस्पतालमै रहेको जानकारी गराएर भेट्न चाहेको बताएँ ।

गौतमले दुई घण्टा पछि मात्रै फ्री हुने बताए ।

पत्रकारको परिचयले तत्काल भेट नहुने देखिएपछि मैले आफ्नो समस्या बताएँ, अनि घटनाबारे स्पष्ट हुन चाहेको अबगत गराएँ । मैले फोन गर्दा १२ बजेर ५ मिनेट गएको थियो । पौने एक बजे भेट्ने समय मिल्यो ।

गयौं, बिरामीको नाम पुनःस्मरण गराएपछि सचिबालयका कर्मचारीलाई बिरामीको कागज ल्याउन लगाए । त्यत्तिञ्जेल भर्खरै प्रेस काउन्सिलबाट राजिनामा दिएको प्रसंग कोट्याएँ । गौतम खुलेर कुरा गर्ने मुडमा रहेछन् छोटो समयमा धेरै कुरा बताए । सँगसँगै आत्मपुराण पनि सुनाउन भ्याए । आफू गोरखाको भएर काठमाडौं नचिनिएको प्रष्टिकरण दिए अनि । आफू कहिल्यै पनि दोस्रो हुन नपरेको बताए । आफू राम्रो सर्जन रहेको बताउँदै कुराको बिट मारे ।

सचिबालयका कर्मचारीले कागाज ल्याए । डाक्टरले कागज पढूनजेल त्यहाँ पूरै सन्नाटा छायो । कहीँबाट कुनै आवाज आएन ।

निर्देशक डाक्टर बोल्न थाले, यो घटनाले तपाँईहरुलाई जति दुःखी बनाएको छ, म पनि त्यत्ति नै दुःखी भएको छु । हाम्रो मान्यता कुनै पनि बच्चा ‘लस’ नहोस भन्ने हो । तर कहिल्यै काहीँ नचाएका दुर्घटनाहरु हुन्छन । आजराति मात्रै हामीले पालुङबाट आएकी आमालाई बचायौं, तर बच्चालाई बचाउन सकेनौं । धेरै ढिलो भइसकेको थियो, बच्चाले आमाकै पेटमै दिसा खाइसकेको रहेछ । धड्कन अलिअलि बाँकी छ, बच्चा बाँच्ने चान्स निकै कम छ, अप्रेसन गरौं भनेर अभिभाबकहरुसँग कन्सर्न लिएर आफ्नो काम गर्‍यौँ, तर हामी सफल भएनौ ।

तर यहाँ तपाँईहरुले बच्चा गुमाउनुको देखिने र तपाँईहरुलाई भन्ने कारण केही पनि छैन ।

बिनाकारण पनि मृत्यु सम्भब छ र ?

ल सुन्नुहोस, आज बिहान २ बजेर ५० मिनेटमा भर्ना तपाँईहरको बिरामी भर्ना भएको देखिन्छ । ५ बजेर ५० मिनेटमा डाक्टरले दोस्रोपटक जाँच गर्दा ६ सेन्टिमिटर खुलेको देखायो । बिहान ९ बजेर ४१ मिनेटमा डेलिभरी भएको देखाउँछ । यहाँ कुनै समस्या आएको नै देखिदैँन यही भएर हामीले अप्रेसन गर्नु पर्ने कारण देखेनौं । अप्रेशन गर्न ढिला भएर यसो भएको हो भन्ने तपाँईहरुको जिज्ञासा होला ? तर अप्रेशन गर्न पनि त कारण चाहिन्छ नि ? अप्रेशन गर्नु आवश्यक नै देखिएन । यसरी हेर्दा आमा र अस्पतालको कुनै कमजोरी वा खराबी छैन । सायद बच्चामा केहि समस्या हुनुपर्छ ।

केहिबेर अघिसम्म सबै ठीक भएको बच्चा कसरी एकाएक त्यस्तो हुन्छ ?

हुनसक्छ, अहिलेसम्म बच्चाको भित्री अबस्थाको बारेमा बुझ्न सक्ने कुनै पनि यन्त्र उपकरण नै बनेको छैन । भिडियो एक्सरेबाट बच्चाको बाहिरी अंगहरु ठीक छ, छैन भन्ने देखाउने मात्रै हो । जसरी आँखाले रातो, हरियो, पहेलो भन्ने मात्रै देखाउँछ, गन्ध थाहा पाउँदैनन नि ? हो कुरा त्यस्तै हो । आमाको पेटमा रहँदा बच्चाको रक्तसंचार र श्यासप्रश्वास प्रक्रिया बाहिर आइसकेपछि फरक हुन्छ । सायद त्यो प्रक्रियामा बालक असफल भयो ।

ड्यूटीमा रहेको र आमाबच्चा हेर्ने डाक्टरको मुखबाट सुनेर चित्त बुझाउने ठाउँ हुन्छ कि भनेर निर्देशक गौतमलाई पटकपटक आग्रह गरें । तर उनले डाक्टरको नाम समेत बताउन चाहेनन । किन चाहेनन उनै जानुन ।

मैले शंका गरेको यहीं नै हो, किन गौतमले हेर्ने डाक्टरको परिचय दिएनन, किन कुरा गराएनन ?

हुन त म मेडिकल बिद्यार्थी नभएर पनि होला, डाक्टरको कुराबाट म अलिकति सन्तुष्ट हुन सकिन । चित्त बुझाउने ठाउँ नै देखिन । यो नेपाल हो, जहाँ मर्नेहरुलाई नै दोष थोपरिन्छ । यत्रो राजदरबार हत्याकाण्ड भयो, त्यहाँ मर्ने दिपेन्द्रकै दोष भयो । हवाई जहाजहरु दुर्घटनाहरु हुन्छन, दोष पाइलटकै देखाइन्छ । दुर्घटनामा चालक बाँचे भने सडककै दोष देखाइन्छ । त्यही भएर हो यहाँ पनि जन्मने बित्तिकै मर्ने बच्चाको नै दोष भयो । जन्मने बित्तिकै मर्नु पनि त्यही बच्चाको दोष देखियो ।

जन्मने बित्तिकै रुन नसक्नु सबैभन्दा ठूलो गल्ती उसको त्यही थियो ।

कुनै दिन त्यो बच्चाले आफूमाथि थोपरिएको दोषको जवाफ दिन सक्छ कि ?

कसरी हुन्छ, म मन बुझाउने उपायको खोजीमा थिएँ । फेरि बहिनी भएको ठाउँमा पुगें ।

बहिनीसंग प्रश्न गरें– नानी, सिष्टरहरुले जबर्जस्ती बच्चा तानेका थिए कि ?

छैनन, त्यस्तो केही पनि गरेको मैले थाहा पाइन । मैले बच्चा जन्माइसक्ने बित्तिकै, त्यत्तिकै छाडेर अर्को बेडमा गए । अर्को महिलालाई पनि बेथाले च्यापेको थियो ।

सायद मृत्युको कारण जन्मने बित्तिकैको बच्चालाई बेबारिसे अबस्थामा छाड्नुको कारण पो हो कि मृत्युको कारण ।

जे होस म, मुखसम्म हेर्न नपाएको जन्मने बित्तिकै नरुने र सास फेर्न प्रयास नगर्ने बच्चोको शब बुझेको कागजमा हस्ताक्षर गर्ने ठाउँमा उभिएको थिइन । त्यो भन्दा पहिले सही गर्न डाक्टर कुरिरहेको थिएँ ।

त्यही डाक्टरले हेरेका होलान भनेर मृत्युको कारण सोधें । उनले पनि निर्देशक गौतमकै बोली बोले, त्यसमा म पहिल्यै सन्तुष्ट हुन सकेको थिइन । त्यत्ति भने बिरामी हेर्ने बेडतिर दौडिए । डाक्टरले कुनै आइडी भिरेका थिएनन । माथि एप्रोन र तल एप्रोनको कलरसँग नमिल्ने पाइन्ट लगाएका थिए, डाक्टर रहेछन भन्ने एउटा आधार त्यही थियो ।

यत्ति बुझ्न पनि मैले धेरै गाली खानु परेको थियो, कुनै बेला डाक्टरलाई सिस्टर बनेको निहुँमा हो, गाली खाएको । तलदेखि माथिसम्म सेतो कपडा लगाउने सिस्टर रे, माथि सेतो तल अर्कै कलर लगाउने डाक्टर रे ।

अस्पतालमा हुने लापरबाही र त्यहाँ माथि प्रसुति गृह थापाथलीको अबस्थाको बारेमा जगजाहेर छ । २०१६ सालमा बनेको प्रसुति गृह जुन सेवा सुविधाले भरिपूर्ण छ । जहाँबाट सुत्केरी गराउन दक्ष बनाउने भनेर स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिन्छ ।

संयोग पनि कस्तो, केहिघण्टाकै फरकमा मकवानपुरको पालुङकै दुई जना आमाले सन्तान वियोग व्यहोर्नु पर्‍यो ?

पशुपति जाने हो ?

हँ, म झस्किएँ ।

केहि अगाडि कार्टुन बोकेर आफन्त उभिरहनु भएको थियो, बच्चा त्यही कार्टुन भित्र छ भन्ने पक्का भयो ।

सोचें, मृत्युको कारण स्पष्ट बताउन नसकेका डाक्टरहरुलाई बच्चाले रोएर आफूलाई लागेको दोषको जवाफ दिन्छ कि जस्तो लागिरहेको थियो ।

तर, त्यो कहिल्यै साकार नहुने मेरो कल्पना थियो ।

के साकार हुन्थ्यो ।

मनमा तर्कना खेलाउँदै खेलाउँदै, अस्पतालको मुख्य गेटसम्म पुगें ।

आँखाले देख्नेबेलासम्म हात उठाएर बाई गरिरहें ।

जन्मने बित्तिकै रुन नसकेको दोषमा कार्टुनमा प्याक भएर पशुपति यात्रामा गएको बच्चालाई बिदा गरिसकेपछि,

नर्सहरुसँग कुराकानी गरें ।

बच्चाको आमालाई कस्तो छ ?

ठीक छ, हामीले बच्चा जन्मेको ठाउँ थोरै सिलाई दिएका छौं । तर टाँकाबाट रगत बगिरहेको छ । केही समयमा ठीक हुन्छ । हामी वार्डमा सार्छौं । भोलिसम्म डिस्चार्ज होला ।

(ठीक छ भन्दाभन्दै मेरो बहिनीलाई पनि मार्नु हुन्छ कि ? मनमनै प्रश्न गरें । मुखबाट आवाज निकालिन । प्रसुति गृह लैजानु सट्टा अन्य कुनै अस्पताल लगेको भए, बच्चा बाँच्थ्यो कि ?)

यी पंक्तिहरु लेखिरहँदा अहिले पनि प्रशब बेदनाले छट्पटाई रहेकी आमा हुने तयारीमा रहेकी महिलालाई सम्झिरहेकी छु ।
ओटी कुर्दाकुर्दै आमा र बच्चाको हालत के होला ?

तर भगवान त्यस्तो नहोस, आमा खोसेको वा रुन नसकेको दोष जन्मने बित्तिकैको बच्चालाई नलागोस ।