देशमा विभिन्न किसिमका आन्दोलन भए, सरकार परिवर्तन भए, संविधानसभाको निर्वाचन भयो तर बाग्मती सफाई अभियान रोकिएन । हेर्दाहेर्दै बाग्मती सफा हुन थाल्यो । हिजो बाग्मती भनेर नाक खुम्च्याउनेहरु सफाई अभियानमा गएको फोटो राखेर फेसबुकमा अपलोड गरिरहेका छन् ।
मलाई मुख्य सचिव लिलामणि पौडेलले चिन्दैनन्, म चिन्छु । यसका केही कारण छन् ।
१) मुख्यसचिव लिलामणि पौडेलले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भनेका थिए, ‘म साह्रै गरिव परिवारबाट यहाँसम्म आइपुगेको हुँ । त्यसैले राष्ट्रिय स्तरका केही कामको नेतृत्व लिन चाहन्छु, तपाईंले सहयोग गर्नुपर्यो ।’ प्रधानमन्त्री आफैले केही गर्न चाहिरहेको अवस्थामा कर्मचारीले यसो भन्नु सुखद कुरा थियो । उनले सोधे, तपाईं के गर्न चाहनुहुन्छ ?’ पौडेलले भने, ‘म सरकारकै नेतृत्वमा बाग्मती सफाइको अभियान चलाउन चाहन्छु ।’

झट्ट सुन्दा डा. भट्टराईलाई बाग्मती सफाइको काम कुनै गैरसरकारी संस्थाले वा कुनै हिन्दुवादी संगठनले गर्ने जस्तो होला भनेर चिन्ता लागेको थियो । यस्तो काम सरकार आफैले नगरेर कुनै अन्य माध्यमबाट भए राम्रो होला कि भन्ने उनलाई नलागेको होइन । तैपनि कर्मचारीले काम गर्छु भन्दा प्रधानमन्त्रीले अड्को थापेको जस्तो नदेखियोस् भन्ने उनी चाहन्थे । यहीकारण पौडेलले यो जिम्मेवारी पाए । डा. भट्टराईले अन्य कर्मचारी जस्तै यो काम सानो लेभलमा होला भन्ने लागेको थियो ।
त्यसो भएन । बाग्मती सफाइ अभियानले राष्ट्रिय रुप लियो । कुनै यस्तो संस्था भएन, जसले बाग्मती अभियानमा सहयोग नगरेको होस् । कुनै यस्तो व्यक्ति भएन, जसले एकपल्ट बाग्मतीको फोहोरमा हात नहालेको होस् । देशमा विभिन्न किसिमका आन्दोलन भए, सरकार परिवर्तन भए, संविधानसभाको निर्वाचन भयो तर बाग्मती सफाई अभियान रोकिएन । हेर्दाहेर्दै बाग्मती सफा हुन थाल्यो । हिजो बाग्मती भनेर नाक खुम्च्याउनेहरु सफाई अभियानमा गएको फोटो राखेर फेसबुकमा अपलोड गरिरहेका छन् । आज यो गौरवको विषय भएको छ । राष्ट्रिय गौरवको विषय बनेको छ ।
२) नेपालमा असल सरकारी कर्मचारी त्यो हो, जो १० बजे कार्यलय गएर ५ बजे घर फर्कन्छ । त्यो मान्छे असल हो, जसले जनतालाई दुःख नदिइकन मिलाएर भष्ट्राचार गर्छ । अर्थात समयमा काम गरिदिने मान्छे हुनु नै देशको असल कर्मचारी हो भन्ने मानिसमा छाप परेको छ । तर लिलामणि पौडेल विहान ४ बजेदेखि राती ९ बजेसम्म सरकारकै काम गर्दा रहेछन् । मातहतका कर्मचारी उनको अघि पर्न पनि अप्ठ्यारो मान्छन् । भष्ट्राचार नगरेको र जनताको काम लगातार गरेकाले उनीसँग यति ठूलो नैतिक बल रहेछ, अरुलाई उनको अघि परेर ठूला कुुरा गर्न निकै गाह्रो हुँदोरहेछ ।
३) उनी कर्मचारी भएर जनताको दैलोसम्म पुग्ने थोरै कर्मचारी हुन् । उनी कुनै युवा वैज्ञानिकले केही गर्यो भन्ने सुन्ने वित्तिकै उसलाई भेट्न अनुसन्धानशालामा पुग्छन् । कुनै विषेश प्रतिभा छ भन्ने थाहा पाएपछि त्यसको परीक्षण गर्न जान्छन् । डा. गोविन्द केसीको अनसनमा सरकारको मध्यस्तता गरेका मुख्य सचिव लिलामणि पौडेलको सक्रियता र चिन्ता देखेर सरकारका मन्त्रीहरुको खल्खली पसिना आएको थियो । डा. केसीलाई भित्रबाट समर्थन गर्ने चिकित्सकहरु भन्छन्, मुख्यसचिव पौडेल नभएको भए सरकारले त्यति चाँडै उहाँको मागको सम्बोधन गर्ने थिएन ।’
हामीले धेरै मुख्य सचिव देख्यौँ, सचिवहरु देख्यौँ तर लिलामणि पौडेल जस्तो सक्रिय, निष्कलंक र आशावादी देखेका छैनौं । सुन्दैछु, उनको यो सक्रियता र लोकप्रियता अहिलेका सरकारका धेरै मान्छेलाई मनपरेको छैन रे । उनी कुनै पनि बेला ‘आउट’ हुन सक्छन् रे । त्यसो भयो भने झन् राम्रो, कारण अहिलेसम्म उनको प्रतिभाको आम जनतालाई थाहा छैन । वाहिर आयो भने कुनै बेला अर्थसविच रामेश्वर खनाल जस्तै वाहिर आउनेछन् र लोकप्रिय हुनेछन् ।
















प्रतिक्रिया