चितवन, २७ चैत । भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिने क्रम बढेपछि नेपाली बजार प्रभावित बनेको छ । सरकारले कुखुराजन्य उत्पादन नेपाल भित्रन रोक लगाएको भए पनि विभिन्न ढङ्गबाट मासु भित्रने क्रम बढेको कुखुरा व्यवसायीको भनाइ छ ।
नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष भुवनलाल जोशी भारतीय क्षेत्रबाट सामुन्द्रिक मासु ल्याउने नाममा मिसाएर कुखुराको मासु भित्रने गरेको बताउनुहुन्छ ।
चिकित्सकका अनुसार भारतमा तिव्र रुपमा फैलिरहेको स्वाइन फ्लु मासुको माध्यमबाट नेपाल भित्रिने बताउँछन् । स्वाइल फ्लु महामारी भएकाले अवैध मासु नखान सुझाव दिएका छन् ।
“दिनभर मोटरसाइकलमा ओसारी जम्मा गरेर रातिको समयमा नेपाल भित्रयाइन्छ” उहाँले भन्नुभयो । मोटरसाइकलमा डेढ क्विन्टलसम्म कुखुरा बोक्ने गरेको जोशीको भनाइ छ । रातिको समयमा कुखुरा बोकेका गाडी नेपाल भित्रिने गरेको व्यवसायीहरु बताउँछन् ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार नेपालमा दैनिक पाँच लाख किलो मासु उत्पादन हुँदै आएको छ । “भारतबाट २५ प्रतिशत मासु अवैध रुपमा भित्रिरहेको छ” उहाँले भन्नुभयो । चिन्न गाह्रो हुनेहुँदा मासु अवैध रुपमा भित्रने क्रम बढिरहेको कँडेलको भनाइ छ ।
कुखुरा व्यवसायी, भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा अवैध रुपमा मासु भित्रिने गरेको छ । भारतमा बर्डफ्लु भएकाले नेपाली बजारमा गुणस्तरहीन मासु भित्र्याउने काम भइरहेको छ । नाकामा कडाइ गरिनुपर्ने सङ्घका अध्यक्ष जोशीको भनाइ छ ।
हाल नेपाली बजारमा रु २७० देखि रु २८० सम्ममा कुखुराको मासु बिक्री हँुदै आएको छ । किसानले रु १६५ देखि रु १७० सम्म मूल्य पाउने गरेका छन् । नेपालमा कुखुराको लागत उत्पादन मूल्य रु १८० पर्दछ । मूल्य ओरालो लाग्ने क्रममा रहेको व्यवसायीहरु बताउँछन् ।
भारतमा सस्तोमा मासु पाउनेहुँदा नेपाली केही व्यापारीले अवैधानिक बाटो प्रयोग गरी मासु भित्र्याइरहेको ‘नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज’ गैँडाकोटका प्रबन्ध निर्देशक दीर्घमान श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले क्वारेनटाइन र प्रहरी चनाखो गरी अवैध मासु रोक्न नसकेमा नेपाली बजार अस्तव्यस्त बन्ने श्रेष्ठको भनाइ छ ।
अवैध रुपमा मासु छिरेसँगै यसको प्रभाव अण्डामा समेत पर्ने अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताउनुभयो । मासु भित्रने क्रम बढेपछि अण्डाको खपत घट्ने र बजार बिग्रने उहाँको भनाइ छ ।
चल्लासमेत अवैध रुपमा भित्रने क्रम बढेको व्यवसायीले बताएका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा रु ६० अर्बभन्दा बढीको लगानी भएको व्यवसायीहरु बताउँछन् । यसमध्ये आधा लगानी चितवनमा मात्र भएको उनीहरुको भनाइ छ ।
केन्द्रीय पशु क्वारेन्टाइनका पशु चिकित्सक डा मोदनाथ गौतमले अवैध कुखुराजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गर्ने काम भइरहेको बताउनुभयो । आठवटा पशु क्वारेन्टाइन कार्यालय र २७ वटा चेकपोष्ट सोही कार्यमा लागेको बताउनुभयो । “व्यवसायीको सहयोग भएमा थप प्रभावकारी हुन्छ” उहाँले भन्नुभयो । रासस













प्रतिक्रिया