टोकियो, २६ चैत । जापानी अनुसन्धानदाताहरुको एक समूहले इबोला सङ्क्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्नसकिने गरी पत्ता लगाएका छन् ।
चिकित्सा विज्ञान क्षेत्रका ती अनुसन्धानदाताहरुले विगत लामो समयको लगातारको अनुसन्धानबाट यो सफलता प्राप्त भएको जानकारी बिहीबार राजधानी टोकियोमा दिएका हुन् ।
उनीहरुले यसका विरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन् । यसअघि यही परीक्षणका लागि कम्तीमा पनि ९० मिनेट लाग्ने गरेकोमा हाल आएर त्यसमा ठूलो सफलता मिलेको उनीहरुको भनाई छ ।
नागासाकी विश्वविद्यालयको मेडिकल विभागले सो अनुसन्धान गरेको हो । अनुसन्धानबाट निस्किएको तथ्यका बारेमा उनीहरुले बिहीबार राजधानी टोकियोमा प्राध्यापक जिरो यासुदाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– यो परीक्षणको समय अनपेक्षित नै छोटो हुनपुग्यो । यसको परीक्षण यसअघि पनि हामीले निकै लामो समय लगाएर गरेका थियौँ, अब यो छोटै अवधिमा यसका किटाणु पत्ता लाग्ने भएकोले सजिलो हुनेछ ।
गुएनामा रहेर सो अनुसन्धान समूहले यस नयाँ तथ्य पत्ता लगाएको प्राध्यापक जिरोले बताउनुभयो । प्राध्यापक जिरोले गत महिना गुएनामा १०० जना विरामीमा गरिएको परीक्षणबाट यो अनुसन्धान गरिएको बताउनुभएको छ ।
यो सफलतापछि गुएना सरकारले अनुसन्धानपछि प्राप्त भएको प्रविधि उपलब्ध गराइ सहयोग गर्न अनुरोध गरेको छ ।
सन् २०१३ को डिसेम्बर महिनामा पश्चिमी अफ्रिकी राष्ट्रहरुबाट सुरु भएको सो सङ्क्रमणका कारण हालसम्म कम्तीमा पनि दश हजार नागरिकको ज्यान गएको छ । रासस/एएफपी













प्रतिक्रिया