
गोरखाबजार, २६ चैत । हिउँपहिराले सामागाउँमा रहेको वीरेन्द्र ताल आज बिहान सवा ६ बजेतिर फुटेको छ ।
मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिनुभयो । ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्छ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।
ठूलो आवाजसहित हिउँपहिरो वीरेन्द्र तालमा झरेपछि सामागाउँ क्षेत्रमा बाफ फैलिएको थियो । हिउँपहिरो वीरेन्द्र ताल रहेको क्षेत्रमा गए पनि मनास्लु आधार शिविरमा रहेका पर्यटकको टोली सकुशल रहेको प्रहरी चौकी सामागाउँले जनाएको छ ।
हिउँपहिरो झरेपछि तालको पानी एक्कासि बाहिर निस्कँदा मनास्लु पदमार्गअन्तर्गतको सामागाउँ–साम्दो जोड्ने काठको पुल बगाएको प्रहरीले जनाएको छ । प्रहरीनायब उपरीक्षक अर्जुनचन्द ठकुरीका अनुसार हिउँपहिराले गर्दा सामान्य क्षति भएको छ ।
हिउँपहिरो झरेको स्थान अवलोकनका लागि प्रहरी चौकी सामागाउँका प्रहरी टोलीलाई खटाइएकाले थप विवरण आउन बाँकी रहेको प्रनाउ ठकुरीले बताउनुभयो । रासस












प्रतिक्रिया