
– रबिना बोहरा
बागलुङ, चैत्र २५ । बागलुङ क्षेत्र नम्बर– १ को संविधानसभा उपनिर्वाचन हुन मात्र ३ दिन रहदा बागलुङ गर्दा चुनावी माहोल तिब्र रुपमा अगाडी बढिरहेको छ ।
उपनिर्वाचनको मैदानमा उत्रिएका ठूला राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले पहिलो चरणको चुनावी अभियान सकेर नयाँ चुनावी रणनीति बनाउन व्यस्त छन् ।
पहिलो चरणको अभियान सकेका राजनीतिक दलहरु मतदातालाई अब कसरी आफ्ना पक्षमा आकर्षित गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका छन् । अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गत निर्वाचनमा कांग्रेसका हरिबहादुर खड्काले एमालेका नेता हिराबहादुर केसीलाई १ हजार ५ सय मतान्तरले पराजित गर्नुभएको थियो । सो निर्वाचनमा खड्काले १३ हजार ५ सय मतले पराजित केसीले ११ हजार ९ सय र एकीकृत नेकपा माओवादीका कृष्ण केसीले ६ हजार ३ मत प्राप्त गरेका थिए ।
यसपटक पनि एमाले नेतृ मनकुमारी केसी र कांग्रेसकी चम्पा खड्काबीच नै कडा प्रतिस्पर्धा हुने निश्चित भएकोे छ । गत ०७० सालको निर्वाचनमा उम्मेदवार टिकट प्रकरणबाट आन्तरिक समस्याकै कारण पराजित हुनु परेको बताउँदै आएको एमाले उपनिर्वाचनमा एकजुट भएर चुनावी अभियानमा होमीएका छन् ।
नेकपा एमालले संविधान निर्माणको सवालमा राखेको स्पष्ट दृष्टिकोण, राष्ट्रिय राजनीतिमा खेलेको नेतृत्वदायि भूमिका, पार्टी भित्रको आन्तरिक मजबुद एकता, सम्पूर्ण संगठन परिचालित, अन्य दलको समर्थ र प्रभावशाली महिला नेतृ उम्मेदवार भएको कारण एमाले प्रति जनलहर सिर्जना भएको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको भनाई रहेको छ ।
एमाले स्रोतका अनुसार विगतको निर्वाचनमा सोचे अनुरुप मत आउन नसकको नगरपालिका, तित्याङ्ग, रायडाडा, लेखानी, हरिचौर, दुदिलाभाटी, सिगाना गाविसमा यस पटक एमाले प्रति आकर्षण बढेको छ । एमाले नेताका अनुसार कडा प्रतिस्पर्धाबीच एमाले विजयी उन्मुख बनेको छ । नेकपा एमालेलाई उपनिर्वाचनमा नेपाल परिवार दलले समर्थन गरीसकेको छ ।
उता, नेपाली काँग्रेसले पनि उपनिर्वाचन काग्रेसको पक्षमा हुने दावी गरेको छ । काँग्रेस सचिव ओमकार थापाका अनुसार लोकप्रिय नेता स्वर्गीय सभासद हरिबहादुर खडकाप्रति जनताको माया अझै कायम रहेकाले काँग्रेस विजयी हने बताउनुहुन्छ । सचिव थापाको भनाई अनुसार काँग्रेस विगतमा भन्दा बढी मतअन्तरले विजयी हुने छ । नेपाली काँग्रेस क्षेत्र नम्बर एकमा करिव १३ सय क्रियाशिल सदस्य छनभने नेकपा एमालेमा १२ सय बढी संगठित सदस्य रहेका छन ।
नगर क्षेत्रका ११ वडा र १९ गाविस रहेको बागलुङ–१ मा अधिकांश गाविसमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । सिगाना, पाला, मालिका, भीमापोखरा, तंग्राम, अर्गल, अमरभूमि, हरिचौर, दुदिलाभाटी, हिल लगायतका गाविसमा कडा प्रतिस्पर्धा हुने स्थानीयवासीको भनाई छ ।
एमाले उम्मेदवार मनकुमारी केसीले आफू क्षेत्रका हरेक कुनाकन्दरामा पुगेर जनताको सेवा गरिरहेको र एमालेको संगठन पनि राम्रो भएकाले जीत निश्चत रहेको दाबी गर्नुहुन्छ ।
कस्तो उम्मेदवारलाई विजयी गराउदा काम गर्न सजिलो हुन्छ भन्ने विषयमा जनता चनाखो भइसकेकाले पनि राजनीतिक रूपमा सक्रिय हुने व्यक्तिलाई नै मत दिई आफूलाई विजयी बनाउने केसीले भनाई छ ।
यस्तै कांग्रेस उम्मेदवार चम्पादेवी खड्का आफू राजनीतिमा सक्रिय नभएपनि श्रीमानको सपना पूरा गर्नका लागि आफूलाई मत दिनेमा विश्वस्त देखिनुभएको छ । राजनीतिक रूपमा सक्रिय नभएपनि राजनीतिबाट टाढा नभएकाले राजनीति गर्नेले मात्र होइन, अवसर पाए अरूले पनि जनताको सेवा गर्न सक्छन् भन्ने उदाहरण दिनकै लागि जनताले मत दिने खड्काको तर्क रहेको छ ।
मतदाताहरूले भेगका हिसाबले पनि मतदान गर्ने भएपनि कांग्रेस र एमालेका दुवै उम्मेदवार बागलुङ नगरपालिका क्षेत्रकै भएकाले खासै असर नपर्ने बताइन्छ । एमाले उम्मेदवार केसी बानपा–३ र कांग्रेस उम्मेदवार खड्का बानपा–२ निवासी हुन् ।
एमाले उम्मेदवार केसी सदरमुकामदेखि डाडापारीका गाउँ भनेर चिनिने अर्गल गाविसमा जन्मेका कारणले पनि त्यस क्षेत्रबाट राम्रो मतको अपेक्षा गरिएको एमालेले जनाएको छ । केसीको जन्मगाउँ अर्गल र तारा गाविसमा एमाले कमजोर अवस्थामा रहे पनि छोरीचेलीलाई मत दिने भएकाले डाडापारीबाट राम्रो मत आउन सक्ने एमालेले अपेक्षा गरेको छ ।
गत निर्वाचनमा तेस्रो भएको एकीकृत नेकपा माओवादीले पनि यस पटक आफूले निर्वाचनमा विजयी हुने दाबी गरेको छ । सो पार्टीका उम्मेदवार कृष्ण केसीले दलहरू मिलेर अगाडि बढ भन्ने सन्देश दिनकै लागि आफूहरूले उठाउँदै आएको सहमतिबाट संविधान जारी गर्ने अभियानमा जनताले साथ दिने बताउनुभयो ।
एमाओवादीले विगतमा भन्दा यस वर्ष ताराखोला, अर्गल, पाला, भीमापोखरा, सिगाना, रायडाडा गाविसमा सुधार भएको बताएको छ । यस्तै संघीयताको विरोध गर्दै आइरहेको राष्ट्रिय जनमोर्चा पनि बागलुङका केही गाविसमा सशक्त उपस्थिति जनाउने निश्चित छ । राष्ट्रिय जनमोर्चाले गत निर्वाचनमा २ हजार १ सय मत प्राप्त गरेको थियो ।
राष्ट्रिय जनमोर्चाले बागलुङका दुदिलाभाटी, तंग्राम र हिल गाविसबाट राम्रो मत ल्याउने अपेक्षा गरिएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट स्वर्गीय सभासद् खड्काकी पत्नी चम्पादेवी खड्का, एमालेले वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, एनेकपा माओवादीले जिल्ला प्रचार विभाग प्रमुख कृष्ण केसी, राष्ट्रिय जनमोर्चाले स्थानीय नेता नेत्र बुढाथोकी, राप्रपा नेपाल र राप्रपाले नवीनचन्द्र शरबुजा, संघीय समाजवादीले रेसम थापा मगर, नेकपा मालेले कुलबहादुर किसान, परिवार दलले बाबुराम शर्मालाई उम्मेदवार बनाएको छ ।
यस्तै, राप्रपा नेपालको विद्रोही समूह (पद्मसुन्दर लावती) का तर्फबाट स्वतन्त्र रूपमा नैना केसी, स्वतन्त्र तुलसी थापा र सरस्वती पन्त उम्मेदवार रहेका छन् । उम्मेदवार बनेका सबैलाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।
गत वर्ष ४७ हजार मतदाता रहेको बागलुङ–१ मा यस पटक ५२ हजार २ सय २ मतदाता छन् । सवै भन्दा बढी मतदाता रहेको नगरपालिका क्षेत्रलाई आफ्नो पकटमा राख्न सक्ने दलले निर्वाचन विजयको नजिक पुग्ने अनुमान राजनीतिक वृत्तामा चल्दै आएको छ ।















प्रतिक्रिया