काठमाडौँ, २५ चैत । एक दशकअघि अन्तरजातीय विवाह गरेकी सप्तरीकी रेखा परियारको श्रीमान्को मृत्यु भएपछि नागरिकता प्राप्त गर्न कठिन भएको छ ।
रेखाले २०६० साल असोज १२ गते सप्तरी जिल्ला धरमपुर गाविस–८ निवासी राजनप्रसाद निरौलासँग प्रेम विवाह गर्नुभएको थियो । श्रीमान् निरौलाको २०७० साल जेठ ८ गते दुर्घटनामा परी मृत्यु भयो ।
“माइतीतर्फको नागरिकता छैन, विवाह दर्ता पनि छैन, छोराछोरीको जन्म दर्ता नहुँदा विद्यालय भर्नामा समेत समस्या आएको छ, नागरिकताका लागि श्रीमान्को आफन्त चाहिँदो रहेछ, तर उहाँहरू नागरिकता दिन चाहनुहुन्न”– रेखाले भन्नुभयो । रेखाका एक छोरा र एक छोरी छन् ।
रेखालाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था उज्यालो जीवनका अध्यक्ष शर्मिलाकुमारी पन्तका अनुसार रेखालाई सप्तरीमा जान आउन पनि श्रीमान्का आफ्न्तले रोक लगाउँदै आएका छन् ।
सम्बन्धित निकाय, सरोकार राख्ने सङ्घसंस्थासँग रेखाले आफूलाई न्याय दिलाउन आग्रहसमेत गर्दै आउनुभएको छ । हाल काठमाडौँमा ज्यामी काम गरेर आफ्नो गुजारा चलाउँदै आउनुभएकी रेखाका अनुसार दुई कक्षा पढ्दै गरेकी छोरी करूणालाई वैशाख २ गतेभित्र विद्यालयले जन्म दर्ता लिएर आउन भनेको छ । करूणाका अनुसार यदि जन्म दर्ता नभएको अवस्थामा विद्यालय भर्नामा समस्या आउने छ ।
विवाह दर्ता, छोराछोरीको जन्मदर्ता गराउनका साँथै पाउनुपर्ने अंश समेत दिलाई दिन राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालयलाई निवेदनसमेत पेस गरिसकेको छ । रेखाले भन्नुभयो,–“मसँग सबै प्रमाण छ, तर सम्पत्ति दिनुपर्छ भनेर उहाँहरूले विवाह दर्ता र नागरिकता दिन आलटाल गर्दै आउनुभएको छ ।” रासस















प्रतिक्रिया