काठमाडौं । सुदूरपश्चिमका चर्चित गायक विरेन्द्र जोहारीले नयाँ गीती एल्बम ‘हरियाली खेतको बालो’ बजारमा ल्याएका छन् ।
गायक जोहारीले आफ्नै स्वर संगीतमा डोटेली भाषा समावेश गरिएको गीत ‘हरियाली खेतको बालो’ बजार ल्याएका हुन् ।
पेसाले सरकारी सुरक्षा दल नेपाल प्रहरीमा कार्यरत गायक जोहारीले सुदूरपश्चिमको सँस्कृति जगेर्ना गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिमको भाषा सँस्कृति, पर्यटनलाई चिनाउन गीत बजारमा ल्याएको बताए । डोटेली भाषाको गीत ‘हरियाली खेतको बालो’लाई कमल बमले लेखेका हुन् ।
यसको म्युजिक भिडियो सुदूरपश्चिमका सुन्दर मनमोहक स्थलहरुमा छायांकन गरिएको छ । गायक जोहारीले म्युजिक भिडियोमा आफै मोडलिङ पनि गरेका छन् । चर्चित मोडल सिम्रन न्यौपानेको साथमा गायक जोहारीले आफ्नै गीतबाट मोडलिङमा पनि डेब्यु गरेका हुन् ।
नरेन्द्र धामीको निर्देशनमा वल्र्डकभर मिडिया फिल्म प्रोडक्सन हाउस प्रालिले निर्माण गरेको म्युजिक भिडियोको छायांकन सुदूरपश्चिमको शुक्लाफाँटा, एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुल लगायतका सुन्दर पर्यटकीय स्थलमा गरिएकोको थियो । छायांकनमा डेढ हप्ता लगाएको शुटिङ युनिटले एक हप्तामै गीत भिडियो सम्पादन फाइनल गरेको थियो ।
गतवर्ष ‘मुई डोली चढ्ने बेला’ बोलको गीतबाट चर्चामा आएका गायक जोहारीले विशुद्ध कला सँस्कृति संरक्षणका लागि गीत बजारमा ल्याएको बताए । उनका गीत नेपालको सुदूरपश्चिम सँगै भारतको उत्तरप्रदेश, कुमाउ गढ्वालमा समेत चर्चित छन् ।
‘प्रत्येक गाडीमा, भोज भतेर, विवाह पार्टीमा प्राय मेरा गीत बज्ने गर्छन् । छिमेकी भारती सहरका साँस्कृतिक कार्यक्रममा पनि बोलाउँछन् ।’ उनले भने । उनको नयाँ गीत ‘हरियाली खेतको बालो’ भर्खरै युथट्युवबाट सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिमको कला सँस्कृतिको प्रचार प्रसार, बचाउने अभियान भएकाले एकपटक गीत हेरिदिन गायक जोहारीले आग्रह गरेका छन् । ‘हाम्रो भाषा, गाउँ–ठाउँ, सँस्कृति झल्काउन मैले गीत ल्याएको हुँ, एकपटक हेरिदिनुहोला ।’ उनले आग्रह गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
‘हरियो खेतको बालो’ गीतमा छायांकनका क्रममा खचिएका तस्विरहरु हेर्नुहोस् ।























प्रतिक्रिया