– यमबहादुर बम
धनगढी, २४ चैत । मृगौला समस्याबाट पीडित बाजुराका एक किशोरले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
एक वर्षदेखि मृगौला समस्याबाट पीडित ब्रम्हतोला गाविस –५ बजेडीका १४ वर्षीय किशोर रामप्रसाद जैसीले आर्थिक अवस्था दयनिय भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पीडित जैसीले मृगौला परीक्षणका साथै उपचार गर्दा हालसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको बताए ।
भारतको बरेलीस्थित साई अस्पतालमा उपचार गराउदा डाक्टर सरद अग्रवालले मृगौला फेल भएको र प्रत्यारोपण भनेपनि आफूहसंग पैसा नभएको उनले दुखेसो पोखे ।
पीडितका आफ्न्त पद्मराज रेग्मीले रामप्रसादको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले ५० हजार रकम सम्मको औषधोपचारको प्रतिवद्धता जनाएको छ ।
उनले मृगौला प्रत्यारोपणको लागि कम्तिमा पाँच लाख आवश्यक पर्ने अनुमान रहेको बताए । यसअघि पीडित जैसीको बरेलीस्थित साइ अस्पतालमा एक वर्षसम्म उपचार भएको थियो ।
सानैमा बुबा गुमाएका जैसीले हालै ब्रहमतोलास्थित पशुपति उमाविबाट एसएलसी दिएका छन् । आमा जौमतीदेवी जैसी पनि अशक्त रहेको उनले बताए ।
मृगौला प्रत्यारोपण गराउन निकै महंगो र दुर्लभ भएकाले रेग्मीले आफ्नो धनगढीस्थित सिटिजन बैकमा रहेको खाता नम्बर ०१४०१४००००१७३ मा आर्थिक सहयोग गरिदिन अनुरोध गरे ।
उनले भने-‘परिवारको सबै जिम्मेवारी म माथि भएकाले सहयोग गरेर मेरो जीवन बचाईदिनुहोस ।’















प्रतिक्रिया