काठमाडौं, २४ चैत । भारतका लागि नवनियुक्त नेपाली राजदुत दिपकुमार उपाध्यायले आफूले पाएको जिम्मेवारीबाट नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
राजदुत नियुक्त भएपछि पहिलोपटक रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागि भएका उपाध्यायले आफूले आफ्नो कार्यकाललाई अवसर र चुनौति दुवैको रुपमा लिएको स्पष्ट पारे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा राजदुत उपाध्यायले भारतसँग नेपालको सम्बन्ध ऐतिहासिक एवम् घनिष्ठ भएको उल्लेख गर्दै आर्थिक समृद्धिको माध्यमबाट नेपाललाई विकासको बाटोमा डोर्याउन आफूले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने,‘आर्थिक–कुटनीतिकको माध्यमबाट नेपाललाई समृद्ध बनाउनुपर्ने अवस्था छ, त्यसको लागि हामीले छिटो भन्दा छिटो संविधान जारी गर्नुपर्छ ।’
राजदुत उपाध्यायले मित्रराष्ट्र भारतमा समेत प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको बलियो सरकार बनेकोले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सजिलो हुने दाबी गरे. ।
उनले भने,‘मोदीजीको नेपालप्रति अत्यन्तै ठूलो सद्भाव रहेको छ, उहाँ नेपालको विकास भएको हेर्न चाहनुहुन्छ, समय आएको छ, हामीले यसलाई आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्छ ।’ दुई देशबीचका जनता–जनतावीच सु–सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसलाई अझै परिस्कृत र विकसित बनाउन सोसल कनेक्टिभिटीमा समेत जोड दिनुपर्ने राजदुत उपाध्यायको भनाई रहेको छ ।
आफ्नो गृहजिल्ला कपिलबस्तुको सिमापारित यु.पी. र विहारमा समेत लोडसेडिङ्ग, सडक लगायतको समस्या विकराल रहेको उल्लेख गर्दै उनले भने,‘भारतको राष्ट्रिय हाईवेसँग पुर्व–पश्चिम सडकखण्डमा कम्तिमा पनि पाँच नभए तीन वटा स्तरीय मोटर बाटो बनाउन सकियो भने सामानहरु ओसारपोसार र आवतजावत गर्न सजिलो हुन्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सदासयतामा पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको, ढल्केवर–मुजफपुर प्रशासरण लाईन लगायतका परियोजनाले काम गर्ने उल्लेख गर्दै नेपालमा चाँडै लोडसेडिङ्गको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । भारत नेपाल शान्ति, समृद्ध र विकास भएको हेर्न चाहने भन्दै त्यसका लागि नेपालले चाँडो भन्दा चाँडो आन्तरिक संक्रमणको अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
उपाध्यायले दुई देशबीच झण्डै १८ सय किलोमिटर खुल्ला सिमाना भएकोले सीमा सहित विभिन्न आपराधिक क्रियाकलापहरुको समस्या रहेको उल्लेख गर्दै त्यसलाई समेत आपसी समझदारीका आधारमा हल गर्ने स्पष्ट पारे ।
नेपाल भू–स्वर्ग भएको देश भन्दै त्यसलाई उपयोग गर्न सबै राजनीतिक दलहरु आपसी सहकार्य, एकता र राष्ट्रिय हितमा केन्द्रीत भएर अघि बढ्नुपर्ने उनको सुझाव रहेको छ । उनले भने,‘विदेशीहरुको कुरा सुन्ने हो भने नेपालमा पानी बगेको होईन डलर बगिरहेको छ भन्छन्, हामीले त्यसलाई उपयोग गर्न सक्नुपर्छ ।’
आफ्नो कार्यकालमा आफूले नेपालको हितका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे । चार वर्षे कार्यकाल आफ्नो लागि पाठशाला हुने भन्दै त्यसको लागि मेहनती विद्यार्थीको रुपमा आफूलाई प्रस्तुत गर्ने उपाध्यायको भनाई छ ।
राजदुत उपाध्यायलाई रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले खादा ओढाए अभिनन्दन गरेका थिए । अभिनन्दित भएपछि उपाध्यायले भने,‘ऋषिजीसँग मेरो अत्यन्तै प्रगाढ सम्बन्ध रहेको छ, उहाँको कुरा हार्न नसकेर म यहाँ आएको छु,।’















प्रतिक्रिया