काठमाडौ, २४ चैत । एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले प्रधानमन्त्री सुशील कोइरालाले आफूहरु विगतका सम्झौताका आधारमा सहमतिमा संविधान जारी गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे बाँकी बन्द रोकिने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र प्रधानन्यायधिस योजनाबद्ध ढंगले शान्ति प्रक्रिया भंग गर्ने योजनामा लागेको भन्दै यसको विरुद्ध सडकमा जानुको आफूहरुसँग विकल्प नभएको स्पष्ट पारे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सापकोटाले प्रधानमन्त्री सुशील कोइरालाले ठोस निर्णय गर्न सके अहिले पनि सहमतिको सम्भावना रहेको भन्दै यो बन्दलाई निरन्तर कायम राख्ने कि नराख्ने भन्ने विषय सरकारको हातमा भएको ठोकुवा गरे ।
उनले आफूहरु कुनै पनि हालतमा यथास्थितिमा आत्मसमर्पण गर्न तयार नरहेको स्पष्ट पार्दै विगतका सम्झौता कार्यान्वयन गरेर सहमतिमा संविधान बनाउने दिशामा अघि बढे समस्या समाधान हुने जिकिर गरे ।
सापकोटाले नेपाली जनताको अधिकार खोस्न आफूहरुलाई पेलेर जान खोजिएको दावी गर्दै आर्थिक क्षतीको नाउमा चुप लागेर नबस्ने, मुलुकलाई बर्बाद हुन नदिने स्पष्ट पारे । सापकोटाले सरकार आन्दोलनकारी विरुद्ध पूर्ण दमनमा उत्रिएको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।












प्रतिक्रिया