– शिबलाल सुबेदी
गुल्मी २४ चैत, एमाओवादी नेतृत्व सहितको ३० दलीय गठबन्धले गरेको आमहड्तालको पहिलो दिन मंगलबार गुल्मीको बलेटक्सार र वामीटक्सार बजारमा प्रभाव न्यून देखिएको छ । सदरमुकाम सहित जिल्लाका अन्य बजार र ग्रामिण क्षेत्रका बजारहरुमा भने बन्दको पूर्ण प्रभाव परेको छ ।
बलेटक्सार क्षेत्रलाई शान्ति क्षेत्र बनाउन सबै राजनीतिक दल र सर्वपक्षिय बैठकले दुई वर्ष अघि कुनै बन्द हड्ताल नगर्ने घोषणा गरेको थियो । त्यसलाई निरन्तरता दिंदै स्थानीय बजार व्यवस्थापन समितिले बलेटक्सार बजार बन्द नगर्ने घोषणा गरेको हो ।
यस अघिको बन्दमा स्थानीय एमाओवादीसंग सामान्य विवाद भएपनि यस पटक भने बलेटक्सार बजार शान्तिपूर्ण रुपमै खुलेको समिति अध्यक्ष तोयनारायण ज्ञवालीले बताउनु भएको छ । ‘अब बिरोधको स्वरुप बन्द गरेर होइन’, उहांले भन्नुभयो ‘राजनीतिक दलले विरोधका कार्यक्रम डाक्टर गोविन्द केसीबाट सिक्नुपर्ने हुन्छ ।’
विरोधका लागि बन्द नै पहिलो ठान्ने राजनीतिक दल सहित सबैले स्वरुप परिवर्तन गर्नुपर्नेमा उहांको जोड थियो । नेपालका राजनितीक दलहरुले समस्याको समाधान गर्नका लागि बन्द हड्ताल जस्ता कार्यक्रम अगाडि सारेर होईन डाक्टर गोबिन्द केसीले जस्तो अनशन बसेर स्वास्थ्य क्षेत्रमा भएको समस्याको समाधान भएजस्तै परिर्वतन गर्नुपर्छ ।
हामीहरु यहाँ ब्यापार गर्ने ब्यवसायीहरु पनि कुनै न कुनै एक राजनीतिक दलमा आस्था राख्ने पाटीका कार्यकर्ताहरु छौ उहाँले भन्नुभयो “हामी जो सुकैले बन्दको कार्यक्रम राखेपछि बजार खुलाएर छाड्छौ ।”
त्यस्तै वामीटक्सार बजारमा पनि स्थानीय राजनीतिक दल, बुद्धिजिवी सहितको बैठकले कुनै पनि बन्दमा बजार र शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ । त्यही निर्णयका कारण मंगलबार पनि बजार पूर्णरुपमा खुला रहेको छ ।
बलेटक्सार बजारमा यस अघि बजार व्यवस्थापन समिति र एमाओवादी कार्यकर्ता बिच सामान्य तनाव भएको थियो । स्थानीय एमाओवादी कार्यकर्ता कमल श्रेष्ठले सबैको सहमतीमै कुनै पार्टीले बन्द आयोजना गरेपनि बलेटक्सार बजार त्यसमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो । ‘हामी सबैको सामुहिक निर्णय हो’, उहांले भन्नुभयो ‘अन्य राजनीतिक दल सहित जसको बन्द भएपनि बलेटक्सार बजार आगामी दिनमा समेत बन्द हु“दैन ।’
दुवै बजारमा स्थानीय स्तरमा चल्ने सवारी साधन समेत निर्वाध चलेका छन् । बन्दको प्रभाव बलेटक्सार आसपासको क्षेत्रमा सामान्य रहेपनि जिल्लाका अन्य ग्रामिण क्षेत्रमा भने पूर्ण प्रभाव रहेको छ । हड्तालकै कारण जिल्लाबाट लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन च्लन सकेका छैनन् ।
तर परिक्षा चलेका शैक्षिक संस्थाहरुमा भने बन्दको कुनै प्रभाव परेको छैन । यता बन्दमा जिल्लामा कुनै अप्रिय घटनाहरु नहुन भन्नका लागि सुरक्षा ब्यवस्था भने कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।















प्रतिक्रिया