बीरबहादुर गिरी
जाजरकोट, २४ चैत । जाजरकोटको दुई गाउँका बासिन्दा पुरै बिरामी परेका छन । अचानक सबै गाउँले बिरामी परेपछि गाउँमा सन्त्रास फैलिएको छ ।
जिल्लाको अति दुर्गम नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागका स्थानीय बिरामी परेका हुन । सिमाना जोडिएका धुम र लुहागका २ सय घरपरिवारका सबै सदस्य टाउको, छाती र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने रोगबाट बिरामी परेको स्थानीय मानबहादुर चलाउनेले जानकारी दिए ।
गाउँले सबै बिरामी परेको खबर आउनसाथ स्वास्थ्यकर्मी र नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिएका छन् ।सक्लाको लुहागमा सबै बिरामी देखिएको र धुममा टोली जाँदै गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन सकेको छैन । केही गाउँलेहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयले बताएका छन् । गाउँलेहरुले चिकित्सक सहितको टोली पठाएर गाउँमा रोगको पहिचान र उपचारको ब्यबस्था गर्न सरकारसँग माग गरेका छन् ।















प्रतिक्रिया