३ कार्तिक २०८३, मंगलबार

क्याम्पसको होस्टलभित्रै खुकुरी प्रहार, दुई विद्यार्थी सख्त घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackपानीट्याङ्की (मोरङ), २४ चैत । विराटनगरस्थित मोरङ क्याम्पसको होस्टलमा बस्ने विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा दुई जना सख्त घाइते भएका छन् ।

आफूलाई युथफोर्सका कार्यकर्ता बताउने समूहले आज बिहान अचानक होस्टलभित्र पसी विद्यार्थीमाथि रड र खुकुरी प्रहार गर्दा होस्टलमा बस्ने विद्यार्थी सप्तरी घर भएका दुर्गाप्रसाद यादव र रामअवतार मण्डल सख्त घाइते भएका हुन् ।

अर्कै कलेजमा पढ्ने विद्यार्थीको समूह प्रायः मोरङ कलेजको होस्टलमा आएर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विद्यार्थीलाई हप्कीदप्की गर्ने गरेका थिए । उक्त कुराको विरोध गर्दा सोमबार साँझ होस्टलका विद्यार्थी र युथफोर्स कार्यकर्ता बताउनेहरुबीच झगडा पनि भएको थियो ।

सोही झगडाको बदला लिन आज बिहानै ५ बजे नवराज कार्कीसहितको समूह हातहतियार लिई होस्टलमा पसेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर फरार भएको विद्यार्थी नेता देवा यादवले बताउनुभयो । उहाँका अनुसार गुण्डागर्दीमा संलग्न युवाको समूहले आक्रमण गर्दा होस्टलमा बस्ने बरदान, जयप्रकाशलगायत पाँच जना विद्यार्थीलाई पनि चोटपटक लागेको छ ।

सख्त घाइते भएका विद्यार्थीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरु को–को थिए भन्नेबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराउनुभयो । घाइते विद्यार्थीहरु एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी समर्थकहरु हुन् ।

तीस दलीय मोर्चाले सोमबार साँझ निकालेको मसाल जुलुसमा सहभागी भएर फर्किएका अखिल क्रान्तिकारी समर्थित ती विद्यार्थीलाई सोमबार नै युथफोर्सका कार्यकर्ता बताउने युवाको समूहले कुटपिट गरेको थियो ।

होस्टलमा झगडा भएपछि राति अबेरसम्म छलफल गरी प्रहरी कार्यालयमा मिलापत्र गर्ने सहमति बनाएका उनीहरुलाई आज बिहानै खुकुरी प्रहार भएको छ । रासस