भीमदत्तनगर, २४ चैत । एकीकृत नेकपा (माओवादी) सहित ३० दलीय मोर्चाका कार्यकर्ताले आमहडतालका क्रममा केहीबेरअघि महेन्द्रनगरस्थित ट्राफिक चोकमा सरकारी नम्बर प्लेटको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
कृष्णपुर गाविस कार्यालयका प्राविधिक सहायक सवार म१प १८४ नम्बरको मोटरसाइकलमा बन्द आह्वानकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तत्काल प्रहरीको टोली घटनास्थलमा पुगेको हुनाले आगजनीबाट मोटरसाइकलमा सामान्य क्षति मात्र हुन पाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो । उहाँले आगजनी गर्ने व्यक्तिहरुको पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताउनुभयो ।
बन्दका कारण पश्चिमी सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन् । भारतका विभिन्न सहरहरुबाट मजदुरी गरेर फर्केका नेपालीहरु महेन्द्रनगर बसपार्क क्षेत्रमा अलपत्र परेका छन् । कञ्चनपुरमा मोर्चाका कार्यकर्ताले बन्द राजमार्गमा केन्द्रित गरेकाले यहाँबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनहरु चल्न सकेका छैनन् । बन्दलाई मध्यनजर गर्दै आज बिहानैदेखि जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । बजार, राजमार्ग तथा विभिन्न चोक–चोकमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
तीस दलीय मोर्चाका कञ्चनपुर संयोजक टेकेन्द्रप्रसाद भट्टले पूर्णागिरी माताको दर्शनपछि यहाँ सिद्धनाथ मन्दिरको दर्शनका लागि आउने तीर्थालुहरुलाई ध्यानमा राखी बजार व्यवसाय खुला राखेको जानकारी दिनुभएको छ । उहाँले बन्द अवज्ञा गरी सार्वजनिक सवारी साधन सञ्चालन नगर्न आग्रहसमेत गर्नुभएको छ । रासस















प्रतिक्रिया