पाँचथर, २४ चैत । नेकपा एमाले निकट युवा सङ्घले ताप्लेजुङका अग्निपीडितको सहयोगार्थ रकम सङ्कलन गरेको छ ।
सङ्घले फिदिम बजारका उद्योगी, व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयबाट रु २३ हजार ६ सय ५६ र सङ्घका पदाधिकारीबाट रु छ हजार ४५० गरी जम्मा रु ३० हजार सङ्कलन गरेको जनाएको छ ।
सङ्घले आज बिहान यहाँ पत्रकार सम्मेलन गरेर उक्त रकम सङ्कलन गरेको जनाउँदै उक्त रकम दैवी प्रकोप उद्धार तथा राहत समितिको खातामा जम्मा गरिने बताएको छ ।
“छिमेकी जिल्लामा यति ठूलो क्षति भएपछि केही रकम भए पनि सहयोग जुटाएका छौँ, अझै राहत जुटाउने प्रयासमा छौँ” सङ्घका उपाध्यक्ष वीरमान तुम्वापोले भन्नुभयो ।
यही चैत ९ गते ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडा आगलागी हुँदा ४० घर जलेका थिए । आगलागीबाट रु ३० करोड बढीको क्षति हुनुका साथै १३२ परिवार विस्थापित भएका थिए । रासस















प्रतिक्रिया