२८ आश्विन २०८३, बुधबार

जाजरकोटको दुई गाउँका बासिन्दा सबै बिरामी परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtबीरबहादुर गिरी
जाजरकोट २४ चैत । जाजरकोटको दुई गाउँका बासिन्दा पुरै बिरामी परेका छन् । अचानक सबै गाउँले बिरामी परेपछि गाउँमा सन्त्रास फैलिएको छ ।

जिल्लाको अति दुर्गम नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागका स्थानीय बिरामी परेका छन् । सिमाना जोडिएका धुम र लुहागका २ सय घरपरिवारका सबै सदस्य टाउको, छाति र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने रोगबाट बिरामी परेको स्थानीय मानबहादुर चलाउनेले बताउनुभयो ।

गाउँले सबै बिरामी परेको खबर आउनसाथ स्वास्थ्यकर्मी र नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभयो । सक्लाको लुहागमा सबै बिरामी देखिएको र धुममा टोली जाँदै गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन सकेको छैन । केही गाउँलेहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयले बताएका छन् । गाउलेहरुले चिकित्सक सहितको टोली पठाएर गाउँमा रोगको पहिचान र उपचारको ब्यबस्था गर्न सरकारसंग माग गरेका छन् ।
भारतबाट आएका व्यक्तिमा स्वाइन फ्लु संक्रमण भएको हुन सक्ने हुँदा त्यही रोग गाउँमा सरेको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।